काठमाडौं, ४ जेठ– नयाँ शक्ति नेपाल, पार्टीका संयोजक डा बाबुराम भट्राईलाई स्थानीय निर्वाचनमा ठूलो धक्का लागेको छ । तत्कालीन एकीकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति गठन गरेका भट्टराईले त्यस लगत्तै वैकल्पिक शक्तिको रुपमा नयाँ पार्टी खोलेका थिए । तर स्थानीय चुनावमा उनको नयाँ शक्तिलाई धक्का पुगेको छ ।
काठमाडौं महानगरपालिकामा नयाँ शक्तिका उम्मेदवार वनेका पवित्र बज्राचार्यले करिब १५ हजार मतगणना गर्दा ९० मत ल्याएका छन् । त्यस्तै ललितपुरमा नयाँ शक्तिका उम्मेदवार मदन महर्जनले करिब २६ हजार मत गणना सकिदा १०८ मत पाएका छन् । त्यस्तै अर्को महानगरपालिका भरतपुर र पोखरामा नयाँ शक्तिका तर्फबाट उठेका उम्मेदवारले अत्यन्त कम मत ल्याएका छन् ।
काठमाडौं महानगर पालिकामा नयाँ शक्तिका उम्मेदवार भन्दा भर्खरै खुलेको साझा पार्टीका उम्मेदवार किशोर थापाले १६ गुणा बढी मत ल्याएका छन् ।
भट्टराइको आफ्नै गृहजिल्ला गोरखामा उनीको पार्टी बलियो भएको अनुमान गरिएको भएपनि परिणाम भने त्यसको उल्टो निस्किएको छ । उनले प्रतिष्ठाको रुपमा लिएको पालुङटार नगरपालिकामासमेत भट्टराईको नयाँ शक्ति पार्टी यो समाचार तयार पार्दासम्म हारको नजिक पुगेको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कणेलले ४ हजार ५ सय ५३ मत ल्याउँदा दोस्रो नम्बरमा रहेका माओवादी केन्द्रका विवश चिन्तनले ४ हजार ४ सय मत ल्याएका छन् भने अव ४०५ मत मात्र गणना गर्न बाकी रहेको जनाइएको छ ।
जित्ने दावी गरिरहे पनि नयाँ शक्तिका उम्मेदवार अशोक देवकोटा तेस्रो नम्बरमा पुगेका छन् । उनले ३ हजार ८ सय ३० मत ल्याएका छन् । यसअघि माओवादीको गढका रुपमा रहेको गोर्खाका कुल ११ स्थानीय तह मध्ये नेपाली कांग्रेसले ६ स्थानीय तहमा जित हात पारिसकेको छ भने एकमा माओवादी केन्द्रले जितेको छ । दुई नगरपालिकासहित ९ गाउँपालिका रहेको गोरखामा २ लाख ६८ हजार १ सय ४५ जनसंख्या रहेको छ । नयाँ शक्तिले रसुवामा एक गाउँपालिका अध्यक्षमा चुनाव जितेको छ ।