बागलुङ, ३ जेठ- जिल्लाको काठेखोला गाउँपालिकामा एमाले नेतृत्वको बाम गठबन्धन विजयी भएको छ । एमाले नेतृत्वमा निर्वाचनमा गएको गाउँपालिका अध्यक्षमा एमालेका अमर थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री उपाध्यक्ष विजयी भएका छन् ।
एमालेबाट उम्मेदवार बनेका थापाले ६६९८ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होमबहादुर हमालले ५५२१ मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अर्जुन खत्रीले ६०५३ र नेपाली काँग्रेसकी ज्ञानु शर्मा श्रीसले ४८३५ मत ल्याएकी छिन् ।
काठेखोला १ मा नेपाली काँग्रेसका खडक थापा, २ मा एमालेका विद्यापति शर्मा, ३ मा एमालेका यामबहादुर श्रीस, ४ मा नेपाली काँग्रेसका केसरबहादुर थापा केसव, ५ मा नेपाली काँग्रेसका शिव कँडेल, ६ मा एमालेका युक्त कँडेल, ७ मा एमालेका प्रेम लामिछाने र ८ मा एमालेकै चित्रकला श्रीस वडाध्यक्षमा विजयी भएका छन् । नेपाली काँग्रेसको गढ मानिएको ६ र ८ मा यस पटक एमालेले चुनाव जितेको छ ।