काठमाडौं, २ जेठ- काठमाडौं महानगरपालिकाको अहिलेसम्मको मतगणनाअनुसार विवेकशील नेपाली दलले साझा पार्टीलाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौं महानगरको वडा नम्बर १ र ३२ को पछिल्लो मत परिणामअनुसार विवेकशीलकी मेयर प्रत्यासी रञ्जु दर्शनाले २०५ मत ल्याएर तेस्रो स्थानमा पुगेकी हुन्। यी दुई वडामा अहिलेसम्म १२२० मत गणना गरिएको छ। वडा नम्बर १ बाट रञ्जुले १६६ मत ल्याएकी छन् भने वडा नम्बर ३२ बाट ३९ मत ल्याएकी छन्।
एमालेका विद्यासुन्दर शाक्यले भने आफ्नो सुरुआती अग्रता कायम राखेका छन्। उनले यी दुवै वडाबाट अहिलेसम्म ३२४ मत प्राप्त गरेका छन्। वडा नम्बर ३२ को गणना सुरु भएपछि दोस्रो स्थानमा उक्लिएको नेपाली कांग्रेसको बढोत्तरी कायम छ। दुवै वडाको अहिलेसम्मको मतगणनामा २६१ मत ल्याउँदा पहिलो स्थानमा रहेको एमालेलाई पछ्याएको छ। आइतबार रातिदेखि नै दोस्रो स्थानमा रहँदै आएको साझा पार्टी ३२ वडाको गणनापछि चौथोमा ओर्लिएको छ। दुवै वडाका गरी साझाले पाएको मत १८९ छ। माओवादी केन्द्र भने सुरुदेखि नै लगातार चौथो स्थानमा रहँदै आएको छ। दुवै वडाको पछिल्लो गणनाअनुसार माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २९ मत प्राप्त गरेका छन्।