कृष्ण प्रसाद शर्मा
महिला पुरुष बराबर हुन । लैङिग बिभेद गर्नु हुन्न भने पछि अझै पितृसत्ताको दबदबा छँदैछ । अझै विश्वका कतिपय देशमा सवारी साधान चलाउन, भोट दिन र उठ्न समेत पाईंदैन । त्यसको तुलनामा हामी कहाँ भएका व्यवस्था सन्तोषजनक नै मानौ । सामाजिक परिवर्तन रातारात हुँदैन किन कि यो सामाजिक विज्ञान हो । सामाजिक विज्ञानको गती भौतिक विज्ञान जस्तो हुँदैन पनि । यो क्रमश हुन्छ । पहिलो चरणको स्थानिय चुनाव नजिकिदैछ । देश भर चुनावी महोल बनेको छ । तालमेल गरेर वा नगरेर सबै ठाउँमा उमेदवार उठाए । यो चुनावको नतिजा कस्तो आउँछ त्यो हेर्न बाँकी छ तर केही सुखद पक्ष मध्ये एउटा हो महिलाको सहभागिता ।
यो चुनावले पाएको संविधानत एउटा राम्रो पक्ष हो महिलाको सहभागिताको सुनिश्चितता । प्रत्येक गाउँपालिका देखी महानगरपालिका सम्म प्रमुख उपप्रमुख मध्ये एउटा महिला हुनुपर्ने व्यवस्था छ बडामा एक महिला अनिबार्य समेत छ । तर संविधान जे भने पनि काठमाडौं जस्तो महानगरपालिका समेत महिलाको सहभागिता पुर्ण रुपमा हुन सकेको छैन । केवल साझा पार्टिले बाहेक अरूले देखाउन सकेनन् । यो तालमेलका कारण होला । तालमेल हुनु भन्दा पहिले महिला सहभागिताको अपेक्षा धेरै थियो तर अहिले तालमेलले केही निराशा समेत सृजना गरेको छ तर पनि अहिलेको सहभागिताले पुर्ण रुपमा बेखुशी चाहिं भई नहालौ । चुनावमा उठाउँदा प्रायः महिलालाई उपमेयरमै उठाएको देखिन्छ । देशै भरमा केही सिमित ठाउँमा वडा अध्यक्ष पाएका छन । तर मेयरमा भने अपबाद बाहेक छैनन । महिलाले धुरी चड्नु हुँदैन, हलो छुनु हुँदैन भन्ने त्यो जमाना अब रहेन । गाउँमा युवा नभएर महिलाले वाध्यताले हलो जोते पनि, मलामी गए पछि नारीमाथी लागेको छायाँ भने हटेको छ यसलाई सुखद मान्नै पर्छ ।
एउटी आमा शिक्षित हुनु भनेको सारा परिवार शिक्षित हुनु हो भने झै अब यो चुनावले महिला जागरण मात्रै नभनौ सिङ्गो समाज जागरणमा पुर्याएकोछ । महिला बिवाह गरेर अरूको घरमा जाने हो भनेर समाजले हेर्ने त्यो दृष्ट्रिकोण अब लगभग सकिंदैछ । यो चुनावमा महिला भोटले हार्लिन तर समाजले उनलाई भोट जति दिन्छ वा स्विकार गर्छ त्यो नै ठूलो जित हो । विश्वमा महिलाई हेर्ने दृष्टिकोणको शुरुवात “सेकेण्ड सेक्स” जुन जैविक नभई सामाजिक धारातलबाट उठेको थियो चाहे त्यो युरोप होस् कि अन्य मुलुक तर आज हामी सम्म आई पुग्दा थेम्स नदी देखी बाग्मती नदी सम्म धेरै पानी बगेको छ । त्यो हाम्रो लागि सुखद हो । पुरुष पनि महिलाबादी हुन्छन र भन्ने त्यो जमान गए । आज छाउपडीको पिडा छोरा मान्छेले लेखेका छाउघर पढनुस् त महिलालाई हेर्ने दृष्ट्रिकोण फेरिएको छ ।
देशमा पटक–पटक क्रान्ति भए त्यसले जनतालाई मालिक बनाउन कोशिश गरे पनि मानिस भित्रको स्वास्नि मानिसलाई भने प्राथमिकता दिईएन । दिए पनि कम दिईयो ।अहिलेको चुनाव भने शस्त्र बिहिन क्रान्ति हो । त्यो शान्तिपुर्ण क्रान्ति भित्र महिलाको शान्तिपुर्ण क्रान्ति पक्ष यहाँ झन सशक्त ठान्नु पर्छ । दलितको सुनिश्चितामा पनि धेरै जसो महिलाई उठाएको देखिन्छ । त्यसैले यो महिलाको शान्तिपुर्ण क्रान्ति नै हो । अब लहर प्रदेश र केन्द्रको चुनावमा समेत पुग्दा एक प्रकारले तरङग नै आउँछ । महिला भ्रष्ट्रचारी हुँदै हुँदनन् त न भनौ तर पुरुषको तुलनामा ज्यादै न्युन हुन्छन । त्यसैले पनि अब समाज कम भ्रष्ट्रचार युक्त बनाउन समेत यो प्रतिनिधित्वले ठूलो भुमिका खेल्दछ । महिला बाहिर आउने क्रममा पहिला ग्रामिण स्वास्थ कार्यकर्ताका रुपमा, अझ भनौ महिला स्वमंसेवीकाका रुपमा आउँदा जसरी स्वास्थमा ठूलो परिवर्तन आएको छ अब त्यस्तै एकैचोटी यतिका महिलाहरू समाजमा आउँदा परिवर्तनको तरङग अरू ठाउँमा समेत पक्कै आउनेछ ।
यस भन्दा पहिला अझै भनौ स्थानिय तहको चुनावमा त्यहा लगभग सतप्रतिशत पुरुष थिए । अनि जब जब गाउँमा बजेटको बाँडफाँड हुन्थ्यो त्यहाँ न महिलाका प्रतिनिधि हुन्थे भए पनि कवल थापना हुन्थे । न केही सोधिन्थ्यो न उनका लागी बजेट छुट्टाईन्थ्यो । अब भने यो हटेर जान्छ । भन्नत यस अगि करीब दश प्रतिशत बजेट महिलाका लागी छुट्टाउने भने पनि गाउँका एलिट आमा समुह जो तीज मनाउन सदरमुकाम झर्दछन तिनिहरूलाई दिएर अरूका आँखामा छारो हालिन्थ्यो । अब यो गर्ने हिम्मत हुने छैन । अहिलेको चुनाव स्थानीय सरकारको चुनाव भएको हुँदा अब प्रतिनिधित्व गर्नेले न्यायपालिकाको समेत काम गर्ने छन् । यसको अर्थ गाउँमा भएका महिला हिसां जिल्ला सदरमुकाम र ईलाका प्रहरी कहाँ पुर्याउनै गाह्रो अनि पुर्याए पनि दर्ता गर्न समेत नमान्ने यो गलत संस्कारलाई चिर्न यो चुनावले ठूलो मद्दत समेत गर्दछ । जसको पहलकदमी पनि महिलाले नै लिने छन । यो सुखद कुरा हो । देशका कतिपय ठाउँमा एउटा सिङगो वडामा पाँच जना नै महिला उठेका छन जसको उदाहरण पाँचखाल नगरपालिका वडा नं ३ मा एमालले पाँच जना महिला उठाएको छ त्यस्तै काग्रेसले पनि र अन्यले पनि महिलालाई प्राथमिकता दिएकै हुनु पर्छ । यो मैन बत्तिको उज्यालोबाट अब बिजुलीको उज्यालोमा पुग्दाको क्षण हो ।
बंगलादेशकी लेखिका तसलिमा नस्रिनले एक महिना पहिला नेपाल आउँदा एउटा कार्यक्रममा भनेकी थिईनकी कुनै एउटा महिला राष्ट्रपति हुँदैमा देशमा महिलाको हक अधिकार सुनिश्चीत हुन्न भनेर । यसो सोच्दा त ठीकै पनि लाग्ला तर उनी पनि एक मात्र महिला हुन जो नारी चेतनाका बारेमा लेखे बाफत निर्वासित हुन परेको छ र हाल भारतमा बस्छिन । के उनले लेखेको लज्जा आज लाखौले पढेका छैनन र ? त्यस्तै विद्या भण्डारीलाई देखेर आफ्नो जीवन सुन्दर देखेर राजनीतिमा होमिएका २१ ब्र्षिय रन्जु दर्शना जस्ता धेरै छैनन त ? त्यसैले यहाँ हार जितको कुरा छँदैछ तर विद्या भण्डारी, शुसिला कार्की, ओमसरी घर्ती र भवानी राणाहरू त्यसै आएका छैनन् । अब फेरी हरेक गाउँबाट त्यस्ता ओमसरी र विद्या भण्डारी आउने समय हो यो । जसले नेपालमा नारीले बम बोकेरै मात्र मुक्ति गर्छन भन्ने सोच समेत फेरिने छ ।
अरूले यो चुनावमा के के देखे तर मैले यो चुनावमा सिङ्गो परिवर्तनको सानो झिल्को देखे पक्कै पनि यो झिल्कोलाई खरमा झोसेर होईन ट्रान्सफरमरमा वाटका रुपमा सगाँल्नु पर्छ अनि विस्तारै विस्तारै अरू पछाडी परेका महिला मार्फत गाउँ गाउँमा बाल्दै गाउँलाई नै उज्यालो पार्नु पर्छ । जय नारी ।