स्थानीय तहको निर्वाचन नजिक आइरहेको समयमा आचारसंहिता उलंघनका घटनाहरु उजागर भैरहेका छन् । निर्वाचनलाई स्वच्छ, म¥र्यादित र पारदर्शी बनाउने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । ती आचारसंहिता पालना गर्छौ भनेर सबै राजनीतिक दलले हस्ताक्षर गरेका छन् । आम नेपालीको चाहना र दलको आफ्नै प्रतिवद्धता विपरितका घटना भएको अवस्थामा हाम्रो राजनीतिमा धमिलोपना आउन सक्ने देखिन्छ ।
आचारसंहिता भनेको स्वविवेकमा भर पर्ने कुरा हो । आफ्नो प्रतिवद्धता पालना गर्न नसके अर्काले लादेको नियम कसरी पालना होला ? त्यतिमात्र हैन निर्वाचन सम्बन्धी धेरै कानून, नीति र नियमहरु पनि छन् ती पालना गर्ने सबैको दायित्व हो । निर्वाचन भनेको तोकिएको दिन गएर भोट खसाल्नु मात्र होइन, उनीहरुका प्रचार शैली, खर्च, बोली समेतमा निगरानी हुन जरुरी छ । केही दिन देखि बागलुङका केही उमेदवारले आचारसंहिताले रोक लगाएका बिषय बोल्ने, पैसा बाँड्ने, प्रलोभनमा पार्ने गरी विभिन्न सामाग्री वितरण गर्ने सम्मका काम गरेको उजुरी आउने क्रम बढेको छ । त्यसरी आउने उजुरीले दलका नेताहरुले पैसाको भरमा राजनीतिक गरेको अनुमान आम मतदाताले गर्न थालेका छन् । पैसा नभएको कारण राजनीति नहुने हो भन्ने भावना विकास भयो भने सच्चा र इमान्दार कार्यकर्ताले राजनीति गर्ने अवस्था हराएर जानेछ । किनकी भड्कीलो प्रचार शैलीले राजनीतिक दल, राजनीतिक एजेण्डा र अहिले सम्म भएका ऐतिहासिक आन्दोलनको मर्म अनुसार जनतालाई सूचित गर्न कठिन भैसकेको छ ।
हुन पनि महिला, दलित, जनजाती, अल्पसंख्यक र पिछडिएको समुदायको अधिकारका लागि ल्याएको लोकतन्त्रलाई उपहासगर्ने गरी पैसाको धाक धम्की लगाउने प्रवृत्ति अव अन्त्य हुनुपर्छ । निर्वाचन आयोगले त्यसको अनुगमन गर्ने, कारवाही गर्ने कुरा एकातर्फ छ,तर देखेको खण्डमा कारवाही गर्ने नत्र उलंघन भैरहने प्रवृत्तिकै अन्त्य हुनुपर्ने जरुरी छ । आचारसंहिताले विशेषगरी आर्थिक मितव्ययीता ल्याउने लक्ष राखेकोमा त्यो पालना नभएको हो । सामान्य प्रचारमा पनि धेरै सवारीसाधन प्रयोग गर्ने, झण्डा र प्रचारशैलीमा तडकभडक गर्ने, मोटरसाइकल ¥यालीहरु गर्ने जस्ता काम समेत चुनावलाई प्रभावित पार्ने खेल हुन् । बौद्धिक रुपमा आफ्ना एजेण्डा प्रस्तुत गरेर जनताको मन जित्ने काम गर्नुपर्नेमा त्यस्तो गर्न कुनैपनि दल अग्रसर छैनन् । यस अघिका केही निर्वाचनमा त काटमार र झगडाहरु समेत बढी भएका थिए । यो पटक त्यस्ता घटना हुन नदिनका लागि सुरक्षा निकाय पनि अझै सर्तक हुन जरुरी छ । किनकी अवको लोकतन्त्र भनेको स्वच्छ रुपमा निर्वाचन हुने र आम जनताले भय रहित अवस्थामा दललाई रोज्न पाउने हो । जवरजस्ती गरेर जितेको निर्वाचनबाट आउने जनप्रतिनिधिले जनताकै पक्षमा काम गर्न सक्दैन । बरु उसले फेरी अनियमितता गरेर अगाडि बढ्ने, व्यवस्थाको खिल्ली उडाउने जस्ता काम मात्र गर्ने संभावना रहन्छ । अहिलेका जनताहरु कसैको तडक भडकमा भन्दा बौद्धिक बसह र छलफलबाट योग्यता रोजेर मतदान गर्ने अवस्थाका सचेत भैसकेका छन् । त्यसैले अहिले देखिनै राजनीतिक नेतृत्वले पनि आफ्ना गतिविधिलाई सचेत वर्गमा लैजाने प्रयास गर्दा दिर्घकालिन फाइदा हुने देखिन्छ । आचारसंहिता उलंघन गरेर एकपटक निर्वाचन जितेपनि कार्यकाल भरी समेत जनताको मन जित्न सकिंदैन । उलंघनका विषयलाई पनि निर्वाचन आयोगले समयमै विचार गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ ।
Previous Articleपर्यटनको केन्द्र बनाउने उम्मेदवारको चुनावी मुद्दा
Next Article चुनाव मार्फत शान्तिपूर्ण महिला क्रान्ति !