म्याग्दी, २६ बैशाख – नजिकिदै गरेको स्थानीय तह निर्वाचनको झल्को दिनेगरी म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा सोमवार स्कूल क्याप्टेन र जुनियर रेडक्रस सर्कलका पदाधिकारी छनोटका लागि मतदान कार्य सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने,आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्धेश्यले मतदान प्रक्रियावाट नै स्कूल क्याप्टेन र जुरेसका प्रतिनिधिहरु चयन गर्न लागिएको प्रिन्सिपल राजेन्द्रप्रसाद सेढाईँले बताए । कक्षा १ देखि १० सम्मका ४ सय ३६ जना विद्यार्थीहरुले स्कुल क्याप्टेन छनोटका लागि भएको निर्वाचन भाग लिएका थिए ।
त्यसैगरी जुनियर रेडक्रस सर्कलको पदाधिकारी छनोटका लागि भएको निर्वाचनमा कक्षा १० का छात्र रुपेश गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनबाट २५ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन भएको छ । समितिको उपाध्यक्षमा जेनिषा शर्मा, सचिवमा विप्लव कार्की, कोषाध्यक्षमा दिपना पुन,सह–सचिवमा रिया तुलाचन, सह–कोषाध्यक्षमा आभास कार्की चयन भएका छन् ।
निर्वाचनमा कक्षा ५ देखि १० सम्मका छात्रछात्राहरुको सहभागिता रहेको थियो । स्कूल क्याप्टेनका लागि भएको निर्वाचनको मतगणना मंगलवार हुने र नतिजा सार्वजनिक गरिने विद्यालयले जानएको छ ।
Previous Article२०७४ बैशाख २६ गते मंगलबारको राशिफल
Next Article पर्यटनको केन्द्र बनाउने उम्मेदवारको चुनावी मुद्दा