बागलुङ, २४ बैशाख – बागलुङ जिल्लामा ४ सय ४५ जनप्रतिनिधि चयनका लागि १३ सय ७६ जनाको उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । जिल्लाभर १४ सय ७० जनाले उम्मेदवारी दिएकोमा ९४ जनाले नाम फिर्ता लिए पछि कुल १३ सय ७६ जना उम्मेदवार बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
अहिले उमेदवारी परेका मध्ये सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा २ सय १ जना र सबै भन्दा कम गलकोट नगरपालिकामा १ सय ६१ जना उम्मेदवार रहेका छन् । बागलुङका ४ नगरपालिका र ६ गाउँ पालिकामा प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष र सदस्यका उमेदवार मध्ये बागलुङ नगरपालिकाका ३४, जैमिनि नगरपालिकाका १२, गलकोट नगरपालिकाका ७, ढोरपाटन नगरपालिकाका २, काँठेखोला गाउँपालिकाका २३, बरेङ गाउँपालिकाका ५, बडिगाड गाउँपालिकाका ४ जना गरी ९४ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन आयोगले शुक्रवार व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गरेको बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिए । बागलुङमा नेपाली काँग्रेसलाई रुख, नेकपा एमालेलाई सूर्य, नेकपा माओवादी केन्द्रलाई गोलाकार भित्र हँसिया हतौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय जनमोर्चालाई गिलास, नेकपा मालेलाई हसिया तारा, नयाँ शक्ति पार्टीलाई मसाल चिन्ह प्रदान गरिएको छ ।
Previous Articleघोषणा पत्र र आर्थिक सम्वृद्धि
Next Article नेपालमा सर्पदंश विरुद्धको औषधि उत्पादन गरिने