बागलुङ, २३ बैशाख – आसन्न निर्वाचन लक्षित गरेर कुनैपनि अप्रिय घटना नहोस् भनेर जिल्ला प्रशासन र सुरक्षा निकायले विशेष सर्तकता अपनाएको बताएको छ । निर्वाचन विरोधी गतिविधि हुन नदिने र अहिले सम्म विरोधी अभियान कसैलेपनि नगरेकोले सबै संचारमाध्यम र राजनीतिक दलले सकारात्मक सन्देशका साथ निर्वाचन सफल बनाउने अभियानमा लाग्न प्रजिअ भागिरथ पाण्डेयले बताए । निर्वाचनलाई स्वच्छ, भय रहित र निष्पक्ष बनाउने काममा राजनीतिक दलका साथै संचारमाध्यमले पनि सकारात्मक भूमिका खेल्न सक्ने समेत उनले बताए । यो अभियानलाई सहयोग गर्न पाण्डेयले पत्रकारलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलन गरेर उनले घटना न्युनिकरण, सबै दलको प्रचार अभियानलाई समान स्थान दिने र आम जनता तथा मतदातालाई उत्साह थप्ने सामाग्री दिन पनि उनले आग्रह गरेका थिए । सुरक्षाका लागि सुरक्षा निकायले १३ वटा सशष्त्र प्रहरीको टिमलाई मोवाइल टोलीको रुपमा पठाएको छ । त्यस्तै ८ वटा सेनाको टोली पनि गाउँ पसेको तथा १० वटा नेपाल प्रहरीको टोली मोवाइलमा छ भने प्रत्येक गाउँ र नगरपालिकामा छुट्टै सुरक्षा प्रवन्ध गरिएको उनले बताए । निर्वाचन आचार संहिता पालना गर्नका लागि सबै दललाई आग्रह गरिएको, सवारी साधनमा चर्को स्वर लगाएर प्रचार सामाग्री र गीत बजाउन पनि निशेष गरिएको उनले बताए । शुक्रवार सम्म बजाएका गीतहरु पनि कार्यक्रम स्थलमा मात्र बजाउन आग्रह गरेको र राजनीतिक दलका पदाधिकारीलाई बोलाएर आचारसंहिता पूर्ण पालना गर्नका लागि सुझाव दिएको पाण्डेले जानकारी दिए । लामो समय देखि अवरुद्ध भएको स्थानीय तहको निर्वाचन हुन लागेकोले आम मतदातामा उत्साह थप्ने काम गर्नुपर्ने उनको भनाइ थियो । स्थानीय तहको पूर्णता भएमा विकास निर्माणले गति लिने, अनियमितताहरु अन्त्य भएर जाने समेत उनले विश्वास व्यक्त गरेका थिए । उक्त अवसरमा संचारकर्मीहरुले निर्वाचन सम्पन्न गर्न खेलिने भूमिका, संचारकर्मीको लागि सवारी पास लगायतमा सहजीकरण गर्न पनि आग्रह गरेका थिए । यसै बीच निर्वाचनकै लागि जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि तालिम सम्पन्न गरिसकेको छ । दुइ चरणमा भएको तालिममा सहभागि कर्मचारी र शिक्षकहरुलाई समेत तालिम दिइएको हो । जिल्लामा ९ सय बढी निर्वाचन कर्मचारी आवस्यक पर्छ । जिल्ला तहमा कर्मचारी बढीमा ४ सय मात्र भएकोले अपुग व्यवस्था शिक्षकहरुबाटै गरिएको हो । त्यस्तै मतदता शिक्षा अभियानलाई पनि तीव्रता दिइएको छ । धेरै स्थानमा मतदातालाई शिक्षा दिइसकिएको छभने केही स्थानमा भैरहेको छ । मतपत्र पट्याउने तरिका, स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष र ४ जना वडा सदस्यलाई मत दिने तरिका बारेमा पनि मतदाता शिक्षा अभियानका स्वयंसेवकले सिकाएका छन् ।
Previous Article२३ बैशाख २०७४, ढोरपाटन दैनिक
Next Article निर्वाचनमा ३१६ जना निर्विरोध, एमाले सबैभन्दा अगाडि