काठमाडौं, २३ बैशाख – पहिलो चरणमा हुन गइरहेको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिका/नगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको थियो । वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या थपिएको हो ।
आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध चुनिए । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर बुढाले उक्त गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ९ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित ४७ वटै पद निर्विरोध भएको कान्तिपुरलाई जानकारी दिए ।
त्यस्तै, डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार मल्लटसी गुरुङ निर्विरोध भए । उक्त गाउँपालिकमा अन्य सदस्य पदहरू पनि निर्विरोध भएका छन् ।
मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध भएका छन् । निर्वाचन कार्यालय मनाङका प्रमुख रामप्रसाद पौडेलले उक्त गाउँपालिकामा रहेको ५ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित २२ पद निर्विरोध निर्वाचित भएको बताए । पाँचवटै वडामा दलित महिला सदस्यमा उम्मेदवारी नै परेको छैन ।
निर्विरोध निर्वाचित भएका ३ सय १६ मा वडाध्यक्ष ५६, महिला वडा सदस्य ६३, दलित महिला सदस्य ७७ र खुलातर्फका वडा सदस्यको संख्या ११६ रहेको सचिव मैनालीले बताए । उनका अनुसार १६९ पुरुष र १४७ महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
विभिन्न पदमा निर्विरोध भएकामध्ये नेकपा एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ३२ जना छन् । सचिव मैनालीका अनुसार राप्रपाका ५, नेमकिपाको २, नयाँ शक्तिको १, परिवार दलको १ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगमा प्राप्त विवरणमा अन्य ३ जना निर्विरोध निर्वाचित उम्मेदवारको दल खुल्न सकेको छैन ।
पहिलो चरणमा ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकाको १३ हजार ५ सय ५६ पदका लागि निर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुलातर्फको वडा सदस्य २ गरी प्रत्येक स्थानीय तहमा एकजना मतदाताले ७ वटा पदमा मतदान गर्नेछन् । ती पदहरूका लागि ४९ हजार ७ सय ५४ जनाको उम्मेदवारी परेकोमा १ हजार ४ सय ९९ जनाले फिर्ता लिएको आयोगले जनाएको छ ।
फोरम र नयाँ शक्तिका उम्मेदवारसँग स्पष्टीकरण
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीका ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर पदका उम्मेदवार जनक थापाले निर्वाचन आचारसंहिता विपरीत मोटरसाइकल र्याली निकालेकोमा आयोगले स्पष्टीकरण सोधेको छ । ती दुई दल गठबन्धन गरी एउटै चिह्नमा निर्वाचनमा भाग लिएका छन् ।
आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले उम्मेदवार थापाले प्रचारप्रसारका लागि शनिबार अपराहन मोटरसाइकल र्याली निकालेको भेटिएकाले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश गरिएको बताए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नै अनुगमनको क्रममा मोटरसाइकल र्याली फेला पारेका थिए ।
आयोगले स्पष्टीकरणमा सोधेको छ, ‘निर्वाचन आचारसंहिता विपरीत कामकारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ?’ निर्वाचन आचारसंहिताले प्रचारप्रसारमा सवारीसाधन प्रयोग गरी र्याली निकाल्न रोक लगाएको छ ।
त्यस्तै, आयोगले सञ्चार माध्यमलाई मत सर्वेक्षण गर्न वा मतदातालाई कसलाई मतदान गर्ने विषयको धारणा संकलन गरी समाचार नबनाउन ध्यानाकर्षण गराएको छ । आयोगले विज्ञप्ति जारी गर्दै आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई बेवास्ता नगर्न भनेको छ ।
उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणाम घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने आयोगले जनाएको छ ।
निर्वाचनमा ३१६ जना निर्विरोध, एमाले सबैभन्दा अगाडि
Previous Articleनिर्वाचन सफल पार्न प्रशासनको पहल
Next Article ८६ वर्षीय शेरचनको सगरमाथा आरोहणका क्रममा निधन