राजेन्द्र थापा
कालापार भास्सेका बूढाले सम्पर्क नगरेका बाह्र वर्ष बित्यो । पहिले पहाड चढेर मन्दिर जान नसक्नेलाई बोकेर माथि लाने–ल्याउने गर्थे बूढा, वैष्णवीदेवीको मन्दिरमा । त्यस बेला दुई तीन वर्षबीच एक दुई महिनाका लागि आउँथे बूढा । त्यस्तै एक दुई महिनाको सहवासमा गंगादेवी भट्टले जन्माएकी दुवै छोराहरू अमृत भट्ट र त्रिलोक भट्टहरू अब ठूला भइवरी बिहेगरी आफैं बाउ बनिसकेका छन् ।
बिहेबारी भएदेखि नै अमृते र त्रिलोकेले बाउ ईश्वरप्रशाद भट्ट सम्पर्कमा नआएका मिति टिपेर दिनगन्ती सुरु गर्न थालिसकेका कुरा भर्खर थाहा भयो, गंगादेवीलाई ।
– छोराबुहारी चारै जनाले आएर यौटा फारम तेर्साउँदै भने, ‘आमा, बाउ सम्पर्क नआका हिजो ठ्याक्कै बाहै्र वर्ष पुगिगया । कानुनी रूपमा अब उनी स्वर्गे भइसक्या । वडाबाट लिखार अब प्रमाणित पनि गन्र्या, बाउको काजकिरिया नि गन्र्या र उन्का आत्माको छटपट पनि शान्त गन्र्या ।’
जेठोले कागत तेर्सायो, कान्छोले तेल हालेको कालो ध्वाँसोमा गंगाको दुवैतिरका बुढीऔंला दल्यो र ढ्याप्पै तीन–चार ठाउँमा सहीछाप गरायो । जेठी बुहारीले टालो ल्याई, कान्छीले कपको पानीमा भिजाएर औंलोको कालो दलीदली मेटी ।
बार मिलाएर कुशको बाउ बनाई दागबत्ती दिए दुवै छोराले । किरिया बसे । दानसान गरेर बैतडी आफ्ना गाउँबाट कञ्चनपुर झरेका आफ्ना गाउँलेहरूलाई पनि बोलाएर शुद्धिशान्ति भोज पनि खुवाए ।
बैतडीका आफन्तहरू सबले तारिफ गरे, अमृत र त्रिलोकको । छोरा भनेको छोरै हुन्छन् । सानो हुँदा मात्र बाउ देखेका छोराहरूले आज आफ्ना पिताका लागि यत्रो कार्य गरे । आजकलको जमानामा कसका छोराहरूले यस्तो गर्छन् ! हामी हुँदाखाँदाका जिम्दालाई त हेर्दैनन् हाम्रा छोराले । मान्नैपर्छ, भाग्यमानी रैछन्, ईश्वर भट्टे त । बुहारीहरू पनि कस्ता गुनिला, नदेख्या ससुराका लागि पनि यत्रो गर्ने ! ओहो ! आखिर बाहुन कन्या हुन् नि । गर्भैदेखि संस्कार सिकेका !
कसैले चाहिँ भने, हतार नगरेको भए हुन्थ्यो । जिम्दै छन् कि ईश्वर के था ? कतै उतै कुनै कुमाउनीसित लसपस गरी उतै लुकेर बसेका पनि हुन सक्छ ।
दुई छाक हातमुख जोर्न र एकधरो लाउन पनि असमर्थ सेती महाकालीका निम्न वर्गका पुरुषहरू यसरी नै कालापार जान्छन् । हुन त सुदूरपश्चिमै निम्नतम वर्गको विस्थापित भूमि हो । यस अर्थमा बहुसंख्यकको दानापानी नै महाकाली तरेर कालापार जानु नै हो ।
कोही बेलाबखत फर्किन्छन् । स्वास्नीलाई पेट बोकाउँछन् । अनि बाघले जस्तै बच्चा जन्माउन पोथीहरूलाई एक्लै छाडेर जान्छन् । कोही कालापारको पार बेपत्ता हुन्छन् । कोही केही वर्षपछि अचानक कुमाउनीको लात खाएपछि बूढी खोज्दै आइपुग्छन् । कोही भने लालाबालाहरूको जुलुस बोकेर आउँछन् ।
०००
आफ्ना सपूतहरूले पिताका लागि गरेका कार्यका निम्ति गर्व गर्दै, धक्कु दिंदै, मेरा छोराहरू त रामलक्ष्मण भन्दै दुई तीन महिना बिते गंगादेवी भट्टका ।
उनलाई के पीर अब ? कञ्चनपुर बजारको तीन किलोनजिकै अढाई बिघा जग्गामा पक्की घर छ । नगरपालिकाको जग्गा धुरको हिसाबमा मूल्य बोल्न सुरु भइसकेको छ । जग्गाका दुवैतिर मोटरका बाटा बनेका छन् । सुनै बराबर भइसकेको छ ।
छोराहरू दुवै कामधाम गर्छन् । कान्छो मास्टर छ स्कुलमा । जेठो महाकाली वारपार सामानको बेपार गर्छ । बुहारीहरू पनि राम्रै छन् । घर गरेकै छन् । ट्याममा तातो मीठो खुुवाइ पनि रहेकै छन् ।
यौटा बोझ थियो, पोइको, मरे कि जिम्दै । आफूले निर्णय गर्नु के आँट र ? वरिपरि उतै बैतडीकै टन्न बसेका छन् । कञ्चनपुरमा बस्ती पनि त्यस्तै छ । यौटा बैतडीवाले बसेको ठाउँमा माहुरी झुम्याजस्तो सबै बैतडीवाले । डँडेलधुरे माहुरीहरूको आफ्नै बेग्लै घार । दार्चुलेहरूको पनि त्यस्तै । अनि सेतीकाहरूका पनि कैलालीमा त्यस्तै अलगअलग घार । कञ्चनपुरमा पनि केही छैन ससुराली खोजेर आएका सेतीवालेहरू पनि ।
०००
अचानक फेरि उबेलाजस्तै चारै जना गंगासामु आइपुगे । चारै जना संयुक्त रूपमा आइपुगे कि झसङ्गै हुन्छ मन गंगाको । कुनै ठूलै समस्या नभई यसरी आउँदैनन् ।
– अमृतले भन्यो, ‘आमा, हामी दुई दाजुभाइबाट एक निर्नया गरिगरेउँ । बाउको पनि आत्माको थान्को लगाइहालियो । अब हाम्रो पनि आमाले आफू जिम्दै हुँदै घरबेस्था गरी थान्को लाइदिन्या निको । अनि तमी पनि ढुक्कसँग बसिजान्या । हमी पनि ढुक्कसँग बसिजान्ये । चिन्ताको टन्टै सकिजान्या ।’
– केही छिन अलमल भयो गंगादेवीलाई । आमाले केही बोल्नुअघि नै त्रिलोके बोलिहाल्यो, मायाले आमाको हात मुसार्दै, ‘आमा, तेती ठूलो बात हैन, आफ्नै घरसम्पति । दुवै भाइ मिलिआयाकै छम् । तैपनि आमा हुँदै छिनाफाना गऱ्यार अम्सबन्डा गरिद्यार राख्यो भने, पछि वैरभाव नहुन्या हो । आमा नहुँदाको बात के जान्नु ? समस्या बढिजाला, मन फाटिजाला । साथमा सुतिजाँदा कोल्ट्या त फेरिइन्छ नै, पयर लागिगइन्छ । दिमाक गरम बेला क्या हुन्या, क्या हुन्या ? बडी मलिकाले नि भन्न सक्दैन । त्यसैले आमा आफैंले अम्सबन्डा गराइदिनु निको, भन्यार भाइसल्ला गर्या नि । तेसै कारणले हाम्लाई अम्स दिनुपर्याको बात भन्याको हो, आमा ।’
– अमृतेले थप्यो, ‘त्यै त आमा । अइले नै जेजस्तो छुट्याइदिया, तमीलाई नि निको । आरामसाथ बस्न कटाउन पाइयो नि बुढेसकालको जिन्दकी । कति निको बात ! त्यसैले त हाम्लाई अम्स दिइहाल्न्या नि, आमा ।’
– ‘म अइले नई कहाँ मरिगई पो हालम्ला र ? भर्खर त साठी कट्या हुम् । दुख्ख भोग्न्याले पो बूढी देख्या हुम् । तमी छोराहरू पीर नगर,’ भनिन् गंगादेवीले ।
अन्तत: गंगादेवीले अंशबन्डा गर्दिनैपर्यो । उनीहरूले नै कसलाई के र कति भनेर कागतपत्र बनाए । गंगाले त उही ल्याप्चे ठोक्या हो, भन्या भन्या ठाउँमा । अढाई बिघाको दुई भाग जग्गा जेठाले लियो, उत्तर दक्षिण चिरेर पश्चिमी पाटा । पूर्वी पाटो एक भाग जग्गा र दुईतले पुरानो काठ र इँटावाले घर कान्छोले । घर पाएकोमा जग्गा कम भए नि राहत भेटे कान्छाकान्छीले ।
अंशबन्डापछि केही दिन सब खुसीखुसी । परन्तु जेठी धेरै बस्न चाहिन अब कान्छीका घरमा । पाँच–सात महिनाभित्रै अमृतेले अढाईतले ढुंगा र पिलरवाले घर उठाइहाल्यो र सरी पनि हाले । कुरा अब अलि छ्यांगै हुँदै जान थाल्यो ।
– अंशबन्डा भए नि सँगै बस्दासम्म ठीकै लागेको थियो । तर सरेपछि भने गंगालाई मन परेन यसरी उसले एकएक पराल र सिन्का जम्मा गरेर बनाएको गुँड दुई चिरा पारेको । आफ्नो स्तनको एक मुन्टा एकातिर अर्को मुन्टा अर्कोतिर भएजस्तो चसक्क काट्यो मुटु । तर व्यवहार भनेको यस्तै हो । ठीकै हो नि, आफैं हुँदा नै मिलाएर राख्नुपर्छ । संसार यसरी नै चल्छ । कमसेकम आँगन जोरिएकै छ ।
गंगा आफैंले बनाएको मूलघरमै बसी कान्छोसँग । दुवै बुहारीले दुवै घर आमाकै त हो नि, जुन दिन जहाँ मन लाग्छ खानुस्, जहाँ मन लाग्छ बस्नुस् भनेकै थिए, अंश बाँड्ने बेलामा । जेठाको नयाँ घरको उत्तरतिरको पीपलको रूखको छहारी पर्ने शीतल कोठामा पनि उनका लागि बुहारीले ओछ्यान लगाइदिएकी छन् ।
०००
जेठाले घर बनाएपछि उसको जग्गा ठूलो देखियो, कान्छीको आँखामा । जेठाले आफैंले घर बनाएको तथ्यले महत्त्व पाएन । न त सासूको बरकतले बनेको घर सित्तैमा पाएको ज्ञानको चेत रह्यो ।
जेठीले अग्लो कौसीमा बसेर चाँदी रंगको टल्किने गेलेक्सी मोबाइलबाट घन्काएर म्युजिक सुन्न थाली । कौसीबाटै चिच्याएर यताउति कुरा गर्न थाली । बिस्तारै कान्छी बुहारीमा परिवर्तन देखियो । यसको प्रस्ट चेत हुन थाल्यो गंगा भट्टलाई । झर्को फर्को, पहिले अस्पष्ट हुँदै थियो । पछि त प्रस्टै, ठाड्ठाडै ।
जेठालाई बढी जग्गा दिएर कान्छालाई मारेकाजस्ता आक्षेप छिमेकमा लगाउन थाली कान्छी बुहारीले । आफैं–आफैं मिलेर अंशबन्डा छुट्याएका कुरामा उल्टा आमालाई अर्घेलो बनाउन थाली डँडेलधुराकी पण्डित जोशीकी छोरी, कान्छी बुहारीले । हीनताबोध पनि हुने नै भयो, मास्टरकी श्रीमती । उता एक्सपोर्ट इम्पोर्टवाले साहुकी श्रीमती । आँखा झिमिक्कै नहुँदै त्यत्रा घर ठडिएका ।
सँगसँगै कान्छोले पनि आमाको बोझ उल्ले मात्रै किन बोक्नेजस्तो व्यंग्य गर्न थाल्यो । छेडबाट आहत गंगा भट्टले एक दिन आफ्नो झिटीझाम्टा जेठा धनी छोराका घरमा सारिन् ।
तर उता त झन् आएकै दिनबाटै उस्तै सुरु हुन थालिहाल्यो । कञ्चनपुर माध्यमिक विद्यालयको हेडमास्टरकी छोरी जेठी बुहारी । उसको त त्यसै पनि त्यत्रो जग्गा र घर भइसकेको सबै बैतडीवालेले नै आरिस गर्नैपर्ने अवस्था छ । यस सम्पन्न हैसियतमा सम्पत्तिहीन बूढी गंगा मगन्ते लाग्न आएकीजस्तो दृश्य छिमेकले देख्न थाले । जेठा त त्यसै पनि पहिलेदेखि आमाले कान्छोलाई माया गरेर घर दिई पक्षपात गरेको आरोप लाउँदै आइरहेकै थियो ।
०००
डेढ वर्ष सहेरै बसेकी गंगा अब नसहने भइन् । छोराबुहारी चारै जनालाई मूलघरमा जम्मा गराइन् ।
– छिमेकीले पनि सुन्ने गरी कराइन्, ‘तमीरुलाई त मइले अम्स दियाँ । अब मलाई चैं कल्ले अम्स दिन्या ?’
– जेठोले भन्यो, ‘आमा तमीलाई त बाउले अम्स दिन्या ।’
– ‘तेरा बाउ मरिसक्या । मलाई चैं कल्ले अम्स दिन्या ?’
– कान्छोले भन्यो, ‘कल्ले दिन्या भन्या ? उई मर्या बाउले त होला नि, आमालाई अम्स दिन्या ।’
– गंगा झन् चिच्याई, ‘मर्या बाउले दिन्या कसरी ?’
– जेठा, ‘त्यो त हामी क्ये जानुम् ? उई भगवान्लाई सोध्नु नि, आमा ।’ सबै हाँस्न थाले …. हा हा हा ।
गंगादेवीको दिमागमा भुइँचालो गएजस्तो भयो । चिच्याएर कराउन थालिन्, ‘मलाई चैं कल्ले अम्स दिन्या ?’ घरबाट हुत्तिएर बाहिर निक्लिन् कराउँदै, ‘मलाई चैं कल्ले अम्स दिन्या ?’
०००
अहिले पनि तपाईंले यदि कञ्चनपुर चोक बजारमा कोही अधबैंसे महिला आकाशतिर हेरेर, ‘मलाई चैं कल्ले अम्स दिन्या ?’ ‘मलाई चैं कल्ले अम्स दिन्या ?’ भनी छाती पिटीपिटी रोइकराइरहेकी देख्नुभयो भने चिनिहाल्नुस्, ती गंगा भट्ट हुन् ।
– हुन त गंगा भट्टहरूलाई आजभोलि धनगढी या नेपालगन्जमा पनि देख्न सक्नुहुन्छ । या पोखरा, काठमान्डु, वीरगन्ज, भैरहवा, झापा, जनकपुर, सर्लाही, विराटनगर या धनकुटामा पनि… आकाशतिर हात फैलाउँदै भगवान्सँग एकोहोरो सोधिरहेका, ‘मलाई चैं कल्ले अम्स दिन्या ?’ ‘मलाई चैं कल्ले अम्स दिन्या ?’
– तर आमाहरूका विषयमा भने भगवान् पनि मौन नै रहन्छन् । त्यसैले आमाहरूले कहिले पनि जवाफ भेट्दैनन्, अंश विषयमा भने ।