सिर्जना कार्की
स्वतन्त्र अनि निष्पक्ष चुनाव लोकतन्त्रको आधार हो । यसमा मतदाताहरूबीच अफ्नो नीति तथा कार्यक्रम राख्नेमा सबै उम्मेदवार तथा सबै राजनीतिक दललाई समान अवसर प्रदान गरिन्छ । यस सन्दर्भमा आदर्श आचार संहिताको उद्देश्य सबै राजनीतिक दललाई बराबरी, समान स्तर उपलब्ध गराई प्रचार अभियानलाई निष्पक्ष तथा स्वस्थ्य राख्न, दलहरुबीच झगडा तथा विवादलाई कम गर्न आचारसंहिता लागु गर्ने गरिन्छ ।
अहिले नेपालमा स्थानीय चुनावको लहर चलिरहेको छ । चुनावमा सबैको ध्यानाकर्षण भएको छ । आजभोली यस्तैमा प्रायः दिन बितिरहेका छन् । चिया पसल होस् वा चौतारीमा, गाउँबस्तीमा होस् वा संसदमा, तराई मधेसमा होस् वा पहाड, हिमालमा, फेसबुकका भित्ताहरू होऊन् वा साथीसँगी अनी आफन्त इष्टमित्रहरूमा होस् वा सवारी यात्रामा, हरेक ठाउँ, घर, परिवारमा स्थानीय चुनावको लहर चलेको छ । फरक–फरक विचारका कारण घर–घर, टोल–टोल, साथीभाइमा झगडा बिउ पनि रोपिएको छ । यो पनि समस्या बन्ने गरेको हुन्छ चुनावका वरिपरिका दिनहरूमा । चुनाव गर्नु गराउनु लोकतान्त्रिक राज्यको आफ्नै एउटा पद्धती र धर्म हो तर विडम्बना नै भन्नुपर्छ अब यो पनि व्यापार र अर्को खतरा तुजुक देखाउने बाटातिर उन्मुख भएको छ ।
चुनावमा धेरै–धेरै फर्जि र फजुल खर्च गरेको देखिन्छ । चुनावका झण्डा ब्यानर भोजमा गरिने खर्चमात्रैले भूकम्प पीडित अनि खान लाउन र उपचारको अभावमा जीवन जिउने धेरै असहाय तथा गरिबहरूको लागि खाना नाना पुग्छ । सेवामा त्यो चुनावी रकम लगाउँदा देशको कायापलट हुन्छ तर जसले धेरै खर्च गर्छस चन्दा, सापट, सम्पत्ति बेचेर लाखौंलाख रुपैयाँ खर्च गरी चुनाव जित्छ के उसले विकास गर्छ त ? मलाई कदापि लाग्दैन कि उसले विकास गर्छ ।
पहिला उसले आफूले खर्च गरेको पैसा असुल गर्छ यसरी विकास गर्नुको साटो असुलीतिर लागेपछि जनता त हेरेका हे¥यै हुने भैहाले । अनि हुन्छ त गाउँको अनि देशको विकास ? यहाँ त चुनावको नाममा व्यापारीहरूले टिकट पाउन थालिसकेका छन् । केन्द्रले जनताको भावना र जनताको ईछ्या बिपरित उमेद्वारलाई टिका लगाएर पठाईदिनाले जनताले सहि र सक्षम व्यक्तिलाई भोट हाल्न नपाउने अवस्था छ । आज जनताको धारणा बिपरित पार्टी चल्दा भोलीका दिनमा आउने समस्या भने जनताले बाध्यतावस भोग्नुपर्ने भएको छ । त्यसैले पार्टीले टिकट दिदा जनताको धारणाको कदर गरियोस् ।
देशमा बिकराल समस्या छन् त्यो समस्याबाट मुक्ति पाउन जनताले ठुलो आश लिएका छन्भने यस्तो संक्रमणकालिन अवस्थामा जन्तालाई ठुलो सपना देखाएर भोट मात्र खाएर जित्ने र पछिफर्केर नहेर्नाले दल र नेताप्रतिको विश्व घटेको छ । त्यसैले आफुले गर्नसक्ने काम मात्र जनता सामु राख्न आग्रह छ । त्यो खण्डमा एउटा सक्षम उमेद्ववार चिन्ह सक्ने अवस्था आउछ । वर्षौदेखि पार्टीमा लाग्ने विकासप्रेमी, योग्य, युवा तथा देशविकास गर्न सक्नेलाई टिकट दिन्न त्यही पार्टीले किनभने पार्टीलाई व्यापारीले सहयोग गरेका होलान् आफनो स्वार्थमा । यस्तै छ यहाँको चलन । हामी चुनाव विरोधी होइनौँ, चुनाव लोकतान्त्रिक राज्यव्यवस्थाको मुटु हो तर मत माग्ने पात्र कुनै पनि ठीक छैन भने के होला ?
राजनीति खासमा स्वच्छ समाजसेवा हो तर हाम्रो देशमा यसलाई गलत बाटामा हिँडाइएको देखिन्छ । म, मेरा आफन्त र यस्तै यस्तैहरूलाई सहयोग गर्ने चलनले राजनीति फोहोरी खेल बनेको छ । राजनीति फस्टाउँदो व्यापार बनेको छ । यसमा बढी व्यापारी र युवाहरू नै लागेका देखिन्छन् जो फुर्सदमा छन्, बेरोजगार छन् । आजभोली केहीका दिनचर्या यसरी नै बितिरहेको देखिन्छ ।
युवाहरू दिनभरि झण्डामुनी साँझभरि दारुको बोतलमुनी । आज कसैको आमसभा हुँदैछ त्यस सभाका पार्टी नेताहरूले कति खुवाउन र पैसा दिन सक्छन् त्यसै हिसाबले पार्टीपरिवर्तन गरी पार्टीप्रवेशको लहर चल्छ । यस लहरलहरैमा कुनै ठूला नेता पनि हामफालेको पाइन्छ ।
यस्तै हल्लाहल्लामा चुनाव जितेका त्यस्ता नेताहरुले के साँच्चिकै देश अनि गाउँको विकास गर्लान् त ? चिन्ता लाग्छ ! सकारात्मक सोच भएका मानिसहरुको खडेरी परेकाले देशले यो गती भोगिरहेको छ । चुनावमा खर्च गर्ने रकममात्रै पनि समाजसेवा, देश विकास र पुर्नस्थापनामा लगाउने हो भने पनि कोही भोकै नाङ्गै बस्न पर्ने छैन । आखिर भोट दिने कसलाई त ? जसले नगरि नहुने वा कम खर्च गर्छ, जसले गाउँ अनि देशको विकास गर्ने क्षमता राख्छ, युवा तथा शैक्षिक योग्यता भएको उही उमेदवारलाई भोट दिनुपर्छ । जित नभए पनि ईमानदारिताका लागि मत दान त भयोनी । दान थोरै होस् वा धेरै दान त दानै हो भने मेरो सोच हो ।
यसर्थ पार्टीभन्दा सक्षम व्यक्ति हेरौँ जसले काम गर्ने अनि देशविकास गर्ने लक्ष्य लिएको छ । अर्को कुरा युवावर्ग देश निर्माण, समाज निर्माणका खम्बा हुन् । देश बनाउने जिम्मा युवाहरुकै काँधमा रहन्छ । युवाहरूलाई गलत उपयोग गर्नु राष्ट्रघात हो । यदाकदा त्यो घातक कुरो उपयोगमा आएको देखिएको छ । बेरोजगार बनाई नेपाली युवाहरूलाई अराजक बनाउने कि नवनिर्माणमा ल्याउने त्यसको निर्णय गर्ने जिम्मा राज्यले लिनुपर्छ । पार्टीका निजी स्वार्थपूर्तिका लागि युवालाई उपयोग गर्ने परिपाटी बन्द हुनुपर्छ । युवाहरूलाई नेतृत्व दिनुपर्छ । युवाहरु निष्पक्ष भएर देशनिर्माणमा लाग्नु पर्ने अवस्था आएको छ । युवाहरुले देश निर्माणमा लाग्ने व्यक्तिलाई भोट दिनु आवश्यक देखिन्छ ।