बागलुङ, १७ बैशाख – धौलागिरि अञ्चल अस्पताल बागलुङले आफ्नै औषधि वितरण केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रको अस्पताल विकास समितिका अध्यक्ष मञ्जेशबम मल्लले केन्द्रको उद्घाटन गर्नुभयो । स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफैँ ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो । केन्द्रबाट पाँच सय ६२ प्रकारका औषधि उपलब्ध हुने अस्पतालका प्रमुख चिकित्सक सागरकुमार राजभण्डारीले बताए । ‘चौबिसै घन्टा सेवा दिने गरी फार्मेसी खुलेको छ’ चिकित्सक राजभण्डारीले भने ‘बिरामीले अब १० देखि ५० प्रतिशतसम्मको छुटमा औषधि पाउनुहुन्छ ।’ केन्द्रमा उपलब्ध हुने औषधिको संख्या थप्दै जाने योजनामा अस्पताल छ । अस्पतालभित्रै ‘फार्मेसी’ खुलेपछि महँगो मूल्यमा बाहिरबाट औषधि किन्नुपर्ने बाध्यताबाट बिरामीले छुट्कारा पाएका छन् । स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिकको उपचारका लागि समेत सोही ‘फार्मेसी’ बाट निःशुल्क रुपमा औषधि वितरण हुनेछ । ‘फार्मेसी’ को प्रभावकारिता बढाउन औषधि र जनशक्ति व्यवस्थापनमा अस्पताल लागिपरेको समितिका अध्यक्ष मल्लले बताए ।
Previous Articleसंशोधन फिर्ता लिएर वैशाख ३१ मै चुनाव गर्नुपर्छ – एमाले
Next Article युवा संघ भीमापोखरा–बागलुङ सम्पर्क कमिटी गठन