पर्वत, १५ वैशाख-द्वन्द व्यवस्थापन पछि गाउँ गाउँमा रहेका अबैध हतियारलाई बैधानिकता दिन स्थानीयहरु मानेका छैनन् । जिल्ला प्रशासन कार्यालय पर्वतले इजाजत प्रदान गरेका २ सय ८५ थान हातहतियार मध्ये बिहीबारसम्म २० थान मात्रै जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । स्थानिय तहको चुनावको मिति नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा रहेका ईजाजत प्राप्त हातहतियारलाई कार्यालयमा बुझाउन ताकेता गरेपनि अन्तिम मितिको अघिल्लो दिन सम्म जम्मा २० थान हतियार मात्र प्रहरी प्रशासनको सम्पर्कमा आएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले अन्तिम मितिसम्म हतियार बुझाउनेको संख्या बढ्ने आशा व्यक्त गरे । उनका अनुसार अझै २ सय ६५ थान हतियार बुझाउन बाँकी रहेको छ । नेपाल राज्यभर जहाँ जुनसुकै स्थानबाट पनि नविकरण गर्ने प्रावधान रहेका कारण हतियार बुझाउने संख्या कमी भएको अनुमान गरिएको छ । कतिपय हतियार सम्बन्धित व्यक्तिहरु गाउँबाट बसाई सरेर अन्यत्र गएको पाइएकाले हतियार बुझाउने कार्य प्रभावित बनेको ढकालले बताए । हतियार संकलनका लागि प्रहरीको सहयोगमा गाउँ गाउँमा अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरुसंँग रहेका इजाजतपत्र प्राप्त हातहतियार शुक्रवारभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य बुझाउन आग्रह गरेको थियो । कार्यालयको आग्रहलाई अटेर गरी संवेदनशिल हातहतियार नबुझाएमा
कानून बमोजिम कारवाहिको दायरामा ल्याईने चेतावनी सहित सूचित गरेपनि हतियार न्यून मात्रामा बुझाएको प्रशासनले जनाएको छ ।
Previous Articleछन्त्याल जातिले नै बिर्से र्आनो भाषा
Next Article काठेखोला–२ मा माओवादी केन्द्रबाट गौतम