सन्तोष पौड्याललंके उसै पनि साह्रै ब्यस्त मान्छे। त्यही माथि चुनावको धपरीले उसलाई शौच बस्ने फुर्सद पनि छैन। पार्टीले उसलाई सुरक्षाको जिम्मा दिएको छ। हेर्नुस्! पुलिस त देख्नलाई शो मात्र हो यो देशमा। नागरिकले आफ्नो सुरक्षा मात्र होइन, पार्टीको सुरक्षा पनि गर्नु पर्ने छ।
ऊ सबेरै उठ्यो। ज्यानमा एकसरो कपडा हाल्यो। चुल्ठो मिलायो। र बिजुभाइको घर तिर दगुर्यो। बिजुभाइ जिल्लाको प्रतिष्ठित पार्टीका उमेदवार हुन्। केटाहरु पहिले नै तम्तयार भएर बसेका रहेछन्। लंकेले अघिल्लो साँझ नै जम्मा पारेको भाटा सबैको हातमा थमाइदियो। र सबैलाई सानो झन्डा उन्न लगायो।
उसले फुर्तीका साथ निर्देशन दियो- हेर, केटा हो! मुख्य काम भाटाको हो। झन्डा त भाटालाई शो मात्र। अली कती लफडा पर्यो कि चार्ज भईहाल्ने। लंके दिनभर र्याली र भाषणमा ब्यस्त रह्यो। साँझपख लखतरान परेर पार्टी कार्यलय पुग्यो। कार्यालयको वाइफाइ अटो-कनेक्ट हुनासाथ मोबाइलमा नोटिफिकेसन बज्न थाल्यो। उसले फेसबुक खोलेर हेर्यो। ओहो! आज त आमाको मुख हेर्ने दिन पो रहेछ। आफुसँग दिनभर सँगै हिंडेका मने, रिखे र यामेले फेसबुकमा आमाको फोटो राखेको देखेर ऊ चित खायो।
उसले सोच्यो- ‘कुन बेला फुर्सद पाएछन यिनेरुले? अनी कहाँको वाइफाइ पाएछन?’ उसले हतार हतार एक किलो लड्डु, बजारमा राम्रै दाम पर्ने पुष्पगुच्छा र शुभकामना कार्ड गुगलबाट डाउनलोड गर्यो। अनी आमाको फोटो सँगै फेसबुकमा अपलोड गर्यो। र क्याप्सन लेख्यो- ‘ह्याप्पी मदर्स डे डियर मम’।
अपलोड गरेको केही छिन मै अरुको भन्दा बेसी लाइक र कमेन्ट आउन थालेपछी ढिलो अपलोड गरेकोमा उसलाई पछुतो भएन। ऊ मोबाइल हेरेर मख्ख पर्यो। अबेर साँझ ऊ बिजुभाइको घरमा पुग्यो। बिजुभाइले अलिकती सितन र शितल-रसको ब्यवस्था गरे। ऊ भोज- ग्रहण गर्दै भोलिको योजनामा तल्लिन भयो। लंकेकी आमा चिनिमाया अगेनामा खाना कुरेर बसेकी छन्। उनलाई थकथकी लाग्यो- ‘मोबाइल चलाऊन जानेकी हुँदी हुम् त फोन गरेर बोलाउदी हुम्। औँसीको दिनमा नि भोकै हुने भो लंके।’
Previous Articleमसँग जो उभ्याए पनि चुनाव जित्छु – कोमल वली
Next Article ज्येष्ठ नागरिकका प्रिय प्रधानमन्त्री मनमोहन अधिकारी