स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनैतिक दलहरु पनि आ–आफ्ना घोषणा पत्र तयार गरेर चुनावी मैदानमा उत्रिदैछन । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि बनाएको घोषणा पत्र मंगलवार सार्वजानिक गरेको छ । स्थानीय तहको निर्वाचनमा घोषणा पत्र सार्वजानिक गर्नेमा ठूला राजनैतिक दलमा नेपाली काँग्रेस पहिलो बनेको छ । उसले पूर्वाधार विकासका महत्वाकांक्षी योजनाहरु आफ्नो अघि सारेको छ । कांग्रेसले विशेष पहिचानसहित स्मार्ट शहर बनाउने बताएको छ । ठूला सहरमा ‘मास र्यापिड ट्रान्जिट’को अवधारणा अनुसार सुविधा सम्पन्न बसलाई छुट्टै लेन, हरित साइकल लेन र पैदल मार्गको व्यवस्था गर्ने बताएको छ । तराई मधेसमा हुलाकी सडक र पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग आफ्नो सरकारको पहिलो प्राथमिकतामा रहने बताएको छ भने हिमाली क्षेत्रमा सडक यातायातसँगै ग्रेट हिमालयन ट्रेल विकास गर्ने नेपाली काँग्रेसको घोषणा छ ।
वहुदलिय ब्यवस्थाको आगमन पश्चात सवैभन्दा लामो समय सत्ता सञ्चालन गरेको नेपाली काँग्रेसले स्थानीय तहरुको निर्वाचनमा जारी गरेको घोषणा पत्रमा हरेक स्थानीय तहको केन्द्रलाई पक्की सडकमार्फत राष्ट्रिय सञ्जालमा जोड्ने उल्लेख गरेको छ । नयाँ बस्ती र बजार केन्द्रलाई एकीकृत बस्ती तथा सहरी विकासमा जोड दिने, मध्य पहाडी र तराई मधेसका लोकमार्ग आसपासका स्थानीय तहमा आधुनिक सहर निर्माण गर्न बताएको छ । कांग्रेसले हरेक स्थानीय तहको केन्द्रको अवधिक र भौतिक योजना बनाउने भन्दै आफ्ना प्राथमिकता सार्वजनिक गरेको छ । जसमा गाउँ नगरलाई प्रदुषणमुक्त बनाउने, प्रत्येक वडा केन्द्रमा खेलकुद मैदान र पायक पर्ने स्थानमा स्पोर्टस् कम्प्लेक्स, नगरस्तरमा महिला खेलकुद क्लब पर्छ । एक घर–एक रुख, एक गाउँ–एक वन तथा एक नगर–अनेक उद्यानको नारा दिएको छ ।
स्वेदश तथा विदेशी उत्पादनमुलक उद्योगको प्रवर्धन हुने गरी स्थानीय सरकारले ५० प्रतिशतसम्म विद्युत महसुल छुटमा उर्जा उपलब्ध गराउने नीति लिने उसले बताएको छ । स्थानीय सरकारले घरायसी उपयोगका लागि इन्धन र खााना पकाउने ग्यास सहुलियत दरमै उपलब्ध गराउने उसको दाबी छ । कांग्रेसले आफ्नो घोषणा पत्रमा भूकम्पपछिको पुनर्निर्माण स्थानीय सरकारको पनि प्राथमिकतामा हुने बताएको छ । भूकम्प प्रतिरोधी घर बनाउन ५० हजार प्रोत्साहन अनुदान दिने प्रतिवद्धता कांग्रेसले जनाएको छ । कांग्रेसले राष्ट्रिय परिचयपत्र कार्यक्रमलाई देशव्यापी बनाउने बताएको छ । साथै मौसम, बाली र प्रविधि प्रयोग जस्ता कृषि सम्वन्धी सूचना प्रदान गर्न प्रत्येक गाउँमा अत्याधुनिक इचौतारी स्थापना गर्ने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ । जसले जे भने पनि राजनैतिक दलले विगतमा आफुले गरेको कवोल यो विचमा गरेका छन कि छैनन् भन्ने कुरा मुख्य रुपमा मतदाताले हेर्नु पर्दछ । भन्ने एउटा र गर्ने अर्काे थरी स्वभाव भएका राजनैतिक दलले चुनावको मुखमा जारी गरेका घोषणा पत्रलाई मात्रै विश्वास गर्ने ठाऊ पक्कै पनि छैन् । मतदाताले यसको सुक्ष्म रुपमा विश्लेषण गरेर अगाडि बढनुपर्दछ ।
Previous Article२०७४ बैशाख १३ गते बुधबारको राशिफल
Next Article राजनीतिमा हिउँको ढिक्का फुट्यो