बागलुङ, १२ बैशाख – स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा दलहरु चुनावी अभियानमा सक्रिय भएका छन् । उमेदवार चयन देखि प्रचार अभियान लिएर दलहरु गाउँ गाउँमा जुट्न थालेका छन् । दलहरु गाउँ पसेपछि स्थानीय जनता समेत निर्वाचन अभियानमा केन्द्रीत भएका छन् ।
यसै क्रममा नेकपा एमालेले काँठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका विभिन्न टोलमा भेला, अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । साविक भीमापोखरा गाविसका वडा नं. ३ र ४ मा सम्पन्न भेलाले सुरेश थापा मगरको संयोजकत्वमा २१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
भेलाले सविना गौतमको संयोजकत्वमा १५ सदस्यीय महिला परिचालन समिति, यामबहादुर थापाको संयोजकत्वमा १० सदस्यीय किसान परिचालन समिति गठन गरेको छ ।
यस्तै साविक भीमापोखरा गाविस १ दपासामा सम्पन्न भेलाले लक्ष्मी हमालको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । स्थानीय निकाय निर्वाचन आफ्नो पक्षमा पार्न जनताका बीचमा उमेदवार सहितको टोलीले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको नेकपा एमालेका वडा अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिए ।
भेलामा एमाले जिल्ला सदस्य अमरबहादुर थापा, एमालेका तर्फबाट काँठेखोला गाउँपालिका वडा नं. २ मा अध्यक्षका उमेदवार विद्यापती शर्मा, पार्टीका वडा अध्यक्ष रामप्रसाद शर्मा लगायतले एमालेको नेतृत्वमा मात्रै जनताका समस्या समाधान गर्न सकिने भएकाले एमालेलाई जिताउन आव्हान गरे ।
Previous Articleयस्तो छ कांग्रेसको स्थानीय तह निर्वाचनको घोषणापत्र
Next Article २०७४ बैशाख १३ गते बुधबारको राशिफल