बागलुङ, १२ बैशाख – ढोरपाटन नगरपालिका वडा नं. ४ खुँगा रिखुवाका बालबालिका दैनिक दुई घण्टाको बाटो हिडेर विद्यालय पुग्ने गरेका छन् । स्थानीय स्तरमा विद्यालय नभएका कारण सबैभन्दा नजिकको विद्यालय रहेको खुँगा लुकुरवनको हिमालय आधारभुत विद्यालयमा उनीहरु पठनपाठनका लागि जाने गरेका छन् । बिहान ८ बजे विद्यालय जान तयार हुनुपर्ने र साँझ ४ बजेपछि फर्कदा ३ घण्टा समय लाग्ने भएपछि रिखुवाबाट पढ्न जाने बालबालिकालाई विद्यालयका शिक्षकहरुले दिएको गृहकार्य गर्न र वार्षिक परीक्षको राम्रो नतिजाका लागि समेत ठूलै चुनौति हुने गरेको कक्षा ८ उत्तिर्ण गरेका विद्यार्थी हिराबहादुर हर्मेल बताउँछन् । हिउँदको समयमा साँझ घर फर्कन रात नै पर्ने र वर्षात्को समयमा विद्यालयसम्म पुग्न समस्या पर्ने गरेको विद्यार्थी हर्मेलले गुनासो गरे । कक्षा १ देखि ८ सम्मको अध्ययनका लागि रिखुवाका विद्यार्थी सो विद्यालयमा जाने गरेका छन् । विषेश गरि ७÷८ वर्षका बालबालिका नै लुकुरवनको विद्यालय पुग्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल अर्गेजाले बताए । उमेर पुगेका बालबालिका विद्यालय पुग्ने र उनीहरु टाढाको दुरीबाट विद्यालय जाने भएकाले वर्षातको समयमा विद्यालय नै नजाने र गएपनि विभिन्न कारण बीचैमा विद्यालय छाड्ने गरेको अध्यक्ष अर्गेजाले बताए । वर्षातमा खोला पहिरोका कारण विद्यार्थी विद्यालय नजाने र हिउँदको समयमा छिट्टै रात पर्ने भएपछि बालबालिका आफन्त कहाँ बस्ने, घरमा पुगेपनि विद्यालयको गृहकार्य गर्न नसक्ने, पठनपाठनमै समस्या भएपछि राम्रो नतिजा नआउने समस्या देखिएको विद्यालयका शिक्षक टेकसरा अर्गेजाले बताइन् । रिखुवाबाट लुकुरवन आउने बालबालिका टाढाको दुरीकै कारण समस्यामा भएको शिक्षक अर्गेजाले बताइन् । अहिले नयाँ शैक्षिक शत्रको बिद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ । तर खुँगा रिखुवाको जस्तो समस्याग्रस्त भुगोल र गरिव समुदायको बस्तीका बालबालिकाका भने विद्यालय जानबाट छुटेका छन् । थोरै जनसांख्या भएका कारण पनि त्यहाँ विद्यालय खोल्न नसकिने अवस्था र नजिक भनिएको विद्यालय पुग्न समेत घण्टौंको समय लाग्ने भएपछि त्यहाँका बालबालिकाको शिक्षामा देखिएको समस्याको हल गर्न जिल्ला शिक्षा कार्यालयले प्रभावकारी भूमिका खेल्नु पर्ने स्थानियको भनाई छ ।
Previous Article१२ बैशाख २०७४, ढोरपाटन दैनिक
Next Article राजनीतिक संवाद जारी राखेर अगाडि बढ्ने निर्णय