बागलुङ, ११ बैशाख – बिपदको समयमा तत्काल खोजी, उद्दार र व्यवस्थापनका लागि बागलुङका गाउँगाउँमा दक्ष व्यवस्थापक तथा स्वयंसेवक तयार गरिने भएको छ । बाढी, पहिरो, भूकम्प लगायतका सबै बिपदको समयमा घटनास्थलमा प्रहरी, सेना वा राज्यको सुरक्षा निकाय पुग्नुअघि सामाजिक भावनाका साथ काम गर्ने र मृत्युदर कम गर्नका लागि यस्तो टिम बनाउन लागिएको हो । नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले युएसएड र अमेरिकी रेडक्रसको सहयोगमा यो अभियान संचालन गर्न लागेको हो । आगामी तीन बर्ष भित्र जिल्लाभित्र बागलुङ नगरपालिका र साविकका ९ गाविसमा गरी ती स्वयंसेवकहरु तयार गर्ने लक्ष राखेको विपद व्यवस्थापन परियोजनाका संयोजक श्याम कोइरालाले बताए । आइतवार आयोजित विपद व्यवस्थापन कार्यक्रम तथा समुदायको विपद प्रतिकार्य क्षमता विकास कार्यक्रम तथा सरोकारवालाको अभिमूखिकरणमा उक्त जानकारी गराइएको हो ।समुदाय स्तरमा हुने सबै प्रकारका विपदमा तत्कालै खोजी र उद्दार कार्य गर्ने प्रथम उद्दारकर्ता तयार गर्न यो अभियान चालिएको हो । यस अघि काभ्रे, धादिङ लगायत जिल्लामा तयार गरिएका यस्ता टोलीबाट अघिल्लो बर्षको भूकम्पको जोखिममा खोजी र उद्दारको काममा सहयोग मिलेको उनको अनुभव छ । बिपदको समयमा हुने दुर्घटनाबाट मृत्युदर घटाउने, राष्ट्रिय प्रतिकार्य प्रणालीसँग एकीकृत रुपमा विकास गर्ने, पाठ्यपुस्तकमा खोज तथा उद्धारको बिषय समावेश गर्न पहल गर्ने तथा दक्ष स्वयंसेवी उत्पादन गर्ने लगायतको उद्धेश्यले यो परियोजना संचालन हुनेछ । बागलुङ नगरपालिका सहित साविकका छिस्ती, रेश, बिनामारे, ग्वालीचौर, भीमपोखरा, सिगाना, रायडाँडा, लेखानी र मल्म गाविसमा यो परियोजना लागू हुनेछ । अभिमूखीकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले विपदको समयमा आम जनताले रेडक्रसलाईनै पहिलो उद्दारकर्ता र मानवीय संवेदनशिलता बुझ्ने संस्थाको रुपमा लिने गरेकोले संयमपूर्ण रुपमा काम गर्ने स्वयंसेवक उत्पादन गर्न आग्रह गरेका थिए । यस्ता दक्ष उद्दारकर्ताहरु बढी संवेदनशिल हुनुपर्ने उनको धारणा थियो । ष्स्सिामान्य सहयोगको कारण मृत्युवरण गर्न लागेको बिरामी बाँच्ने भएकोले गम्भिर भएर काम गर्नुपर्ने सबैको धारणा थियो । नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछानेको अध्यक्षता, उपसभापति राजेन्द्र आचार्यको स्वागत, मन्त्री नारायण शर्मा पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा कोइरालाले जिल्लाको अवस्था, कार्यक्रमको औचित्य बारेमा प्रष्ट पारेका थिए । यो अभियानका लागि रेडक्रसले नेपाली सेना, प्रहरी र प्रशासनको सहयोग लिने योजना बनाएको लामिछानेले जानकारी दिए । गाउँगाउँमा संचालन हुने कार्यक्रम मार्फत केही नमूना अभ्यास गरेर नागरिक सचेतना बढाउने योजना समेत राखिएको छ ।
Previous Articleवर्षा पम्प निर्माणसंगै संचालनमा
Next Article यस्ता छन् केन्द्र म्याग्दीका उम्मेदवार