बागलुङ, ६ बैशाख – केही समय अघिदेखि सदरमुकाममा संचालनमा आएको मानवसेवा आश्रमका लागि यहाँको एक परिवारले जन्मदिनको अवसरमा सहयोग गरेका छन् । बा.न.पा.–२ बस्ने सुदर्शन श्रेष्ठले छोरा सुअन श्रेष्ठको जन्मदिनको अवसरमा पारेर आश्रममा २२ थान ओड्ने तथा विच्छ्याउने सामान सहयोग गरेका हुन् । साथै उनले पानीको फिल्टर तथा पंखा पनि सहयोग गरे । उनले गरेको सहयोग कुल ८२ हजार रुपैयाँ बराबरको रहेको आश्रम संचालन गरिरहेको सेभ द युथका अध्यक्ष मनिष रायमाझीले बताए । केही महिना अघिदेखि उनीहरुले युनिटी लाईफ अस्पताल रहेको स्थानमा सरसफाई गरेर आश्रम संचालन गरिरहेका छन् । सडकमा भेटिने बालबालिका, मठ मन्दिरमा माग्न बस्ने र असक्त तथा अलपत्र रहेका मानिसलाई आश्रममा लगेर खानेबस्ने व्यवस्था गरिएको छ । हाल यो आश्रममा ६ जनालाई राखिएको छ । बढीमा २५ जना सम्म राख्न सकिने गरी थालिएको आश्रम संचालनका लागि भने विभिन्न स्थानबाट दान र मुठी सहयोग आएको उनले जानकारी दिए । यो अभियान मार्फत मानवीय सेवाका लागि सबैलाई प्रेरित गर्ने लक्षा राखिएको छ । मंगलवार बिहान आयोजित एक कार्यक्रममा श्रेष्ठले ती सामाग्री हस्तान्तरण गरेका थिए । त्यस्तै सोही समयमा कालिका भगवती मन्दिरमा माग्न बसेकी एक वृद्ध महिलालाई पनि सरसफाई गराएर आश्रममा ल्याइएको थियो । बानपा २ कै सुनिता श्रेष्ठको अगुवाईमा उनलाई आश्रममा ल्याइएको हो । उनको साथमा भेटिएको २३ हजार रुपैयाँ रकम समेत स्थानीय सहकारी संस्थामा जम्मा गरिदिने व्यवस्थापन मिलाइएको छ । सेभ द युथको पहलमा यस अघि सडकमा हिडेका ९ जना बालबालिकालाई पनि विभिन्न स्थानमा पढाउने व्यवस्था गरिएको छ । सडकमै बस्ने ती मध्ये केहीलाई अभिभावकको जिम्मा लगाइएको हो । सेभ द युथले जिल्लाका सामाजिक काममा अग्रसरता देखाउँदै आएको छ ।
Previous Articleदुई अतिवादको चपेटामा देश
Next Article विद्यार्थी भर्ना र स्वागत अभियान फेरी शुरु