नयाँ दिल्ली, ५ बैशाख -इन्डियन प्रिमियर लिग(आइपिएल) मा सर्वाधिक रन बनाउने होडबाजीमा रहेका भारतका दुई ब्याट्सम्यान विराट कोहली र सुरेश रैनाबीच आज पहिलो पल्ट भिडन्त हुँदैछ। राजकोटमा हुने यो खेल विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेञ्जर्स बेङ्लोर र सुरेश रैनाको कप्तानीमा रहेको गुजरात लायन्सबीच राती सवा ८ बजे हुँदैछ।
यी दुई बीच आजसम्म भएको खेलमा बेङ्लोर २–१ ले अगाडि छ। आजको खेल बेङ्लोरका कप्तान कोहलीका लागि दशौं आइपिएलमा आफूलाई रनमा उछिनेका गुजरातका कप्तान रैनालाई पछाडि छोड्नु पनि हुनेछ। हाल रैना आइपिएलको १ सय ४७ इनिङमा ४ हजार २ सय ३४ रन बनाएर सर्वाधिक रन बनाउने सूचीमा सबैभन्दा अगाडि छन्। कोहली उनीभन्दा ३४ रनले मात्र पछाडि छन्। कोहलीले १ सय ३३ इनिङमा ४ हजार २ सय रन बनाएका छन् । दशौं आइपिएल सुरु हुनुअघि रन बनाउने सूचीमा कोहली अगाडि थिए। तर, चोटका कारण ३ खेलमा अनुपस्थित भएपछि उनलाई रैनाले उछिनेका थिए। रैनाले ४ खेलमा ६८ को औसतले १ सय ३६ रन बनाइसकेका छन् भने कोहलीले २ खेल खेलेर ४५ को औसतले ९० रन बनाएका छन्। कोहलीले २०१६ मा १६ खेलमा ९ सय ७३ रन बनाएका थिए। जुन उनले आइपिएलमा अहिलेसम्म बनाएको सर्वाधिक रन हो। -एजेन्सी