राजेशचन्द्र रा.भ. -हामी अहिले नयाँ बर्ष २०७४ लाई स्वागत गर्दै रमाइलो गरिरहेका छौ । एकआपसमा शुभकामना आदान–प्रदान गरि खुशी याली मनाउने क्रममा २०७४ ले सबै नेपालीको घर–घरमा खुशीयाली ल्याओस भनी कामना गरिरहेछौं । २०७३ सालका खाली नकारात्मक पक्षको मात्र बिश्लेषण गर्दछौं । यसको सकारात्मक पक्षमा भने छलफल नै गर्दैनौं ।
हामी नेपालीहरूको नराम्रो बानी भनेको कुनैपनि कुरा सकारात्मक देख्यो भने त्यहाँ नकारात्मक पक्ष नै नदेख्ने र नकारात्मक पक्ष देख्यो भने कुनै सकारात्मक नदेख्ने दुई अतिबादी सोच कै कारण हामी नेपालीहरूले बिकास गर्न नसकेका हौ । हाम्रो सोच बिचार भनेको अलि फराकिलो हुन जरुरी छ । अहिले हामी २०७३ साल लाई बिदाई गरेर २०७४ साललाई स्वागत गरिरहेका छौ । नयाँ बर्ष २०७४ सबै नेपालीलाई सुखमय बनोस्, सबै नेपालीको उन्नति प्रगति होस् भनी कामना पनि गरिरहेका छौ तर २०७३ सालसंगै हामीले त्यो सालमा भएका सकारात्मक कुरालाई समेत भुल्न थालिसकेका छौ ।
२०७३ साल राजनीति हिसाबले हेर्दा राष्ट्रबादी केपी सरकार ढालेर कांङ्ग्रेस माओबादी गठबन्धनमा प्रचण्ड सरकार बन्यो । यसले आफुलाई फरक देखाउन ‘गरिबका लागि सरकार’ भन्ने नयाँ नारा अगाडि सारे पनि ब्यबहारमा भने नारा अनुसार काम गर्न सकेको देखिएन । अहिले पनि उहीँ दलाल पुँजीवादीहरूकै चंगुलमा परेर काम गरेपनि मालिक कै हितमा गरेको दुनियाँलाई थाहा छ । प्रचण्ड सरकारले गरेको प्रमुख काम भनेको अहिलेको संघियता अनुसार गाउँपालिका र नगरपालिका गठन गरि स्थानीय तहको निर्वाचन मिति घोषणा गरि बैशाख ३१ गते निर्वाचन गर्ने तयारी गरिरहेको कुरालाई भने सकारात्मक रूपमा लिन सकिन्छ ।
नेपालमा लोडसेडिङको खेती गरेर भएको बिजुली लुकाएर सोलार व्याट्री, इन्भटर र जेनेरेटर लगायतका बिदेशी सामान बेचेर कमिशन खान पल्केका चोर डाँका फटाहको भने पहिचान गर्न सक्षम कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख बनाएर जुन जिम्मेवारी दियो अहिलेका उर्जामन्त्री जनार्दन शर्मा धन्यवादका पात्रहरू हुन् भन्न कसैले पनि लाज मान्नु हुदैन ।
राजधानी काठमाडौमा दैनिक १६ घण्टा लोडसेडिङको मार खेप्न बाध्य बनेका जनता भने अहिले कुलमान कै कमालको कारण लोडसेडिङमुक्त भए पछि दंग परेका छन् । देशमा दैनिक रूपमा लोडसेडिङ गर्नुपर्ने भन्दै कुलमान घिसिङबिरूद्व जुलुस नारा र धर्ना दिन समेत पछि नपरेका बिद्युत प्राधिकरणका कर्मचारी समेत यतिबेला मेहेनतका साथ काम गरेर उज्यालो नेपाल अभियानमा हिड्न बाध्य बनेका छन् ।
साँच्चै मनदेखि लागेर गर्ने होभने यो देशमा राम्रो काम गर्न सजिलोसँग सकिने रहेछ । खासमा हाम्रो देश बिग्रिएको दलाल, भ्रष्ट चोर, फटाह र राष्ट्रघातीहरू कै कारणले रहेछ भन्ने कुरा घामझै छर्लङ्ग भएको छ । अहिले एक जना कुलमान ले २० बर्षसम्म जतिसुकै बिद्युत देशमा उत्पादन भएपनि लोडसेडिङ हुन्न भनी तर्क राख्ने दलालसंग भने अहिले कुनै तर्क बाँकी छैन । साँच्चै देशमा एक जना कुलमानले यत्रो परिवर्तन गर्न सक्ने रहेछ भने हामीले क्षमता र योग्यता भएका, देश र जनताको लागि केही गरौ भन्ने भिजन भएका धेरै कुलमानहरू छन् जो साँच्चिकै ओझेलमा परेका छन् । तिनको क्षमतालाई कदर गर्न सक्यो भने हामीले हाम्रो देश बनाउन धेरै समय लाग्दैन ।
प्रहरी प्रमुख बनाउने सवालमा कांङ्ग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच कुरा मिल्न नसक्दा आइजिपि प्रकरणले ठुलो राजनीतिक रूप लियो । जसलाई सरकारले प्रहरी प्रमुख नियुक्ति गरेर पठाएको थियोे उसकाबिरूद्व सर्बोच्च अदालतमा मुद्दा परेपछि सरकारले गरेको नियुक्ति बदर भयो । फेरि नयाँ प्रहरी प्रमुख बनाए पनि अझै बिबादमुक्त भने हुन सकेको छैन । नेपाल सरकारका महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले बागलुङ जिल्ला सरकारी वकिल कार्यालयको भबन उद्घाटन समारोहमा ३३ केजी सुन तस्करी काण्डमा एसपी श्याम खत्री मात्र हैन दोषी अहिले प्रहरी प्रमुख समेत रहन सक्ने प्रमाण भेटिएको कुरा सार्बजनिक गर्नु पनि चानचुने कुरा हैन । सुन तस्करीमा समातिएका मान्छेले बयान दिँदा देशमा ९ रेक्टरको भुकम्प नै गयो । साँच्चै इमान्दार मान्छेलाई स्थान नदिँदा अहिले झन् बदमासी गर्ने चाकरी चाप्लुसी गरेर देश र जनता लुट्ने कै जमात बढी हुदै गएको छ ।
खास मानेमा जनताको सरकार गरिबका लागि सरकार हो भन्ने अनुभुती दिलाउने होभने यस्तो खालको चंगुलबाट बच्न जरुरी छ । नेपालमा रहेको एउटा शक्तिशाली संस्था अख्तियार दुरुपयोग अनुसुन्धान आयोगमाथि हमला गर्न नसकिने निश्चित भएपछि आफुले गरेको भ्रष्टाचार लुकाउन अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि महा अभियोग संसदमा दर्ता गरि सर्बोच्च अदालतलाई अघि सारेर अख्तियार प्रमुख कार्कीलाई नभै अख्तियारलाई प्रमुख राजनीतिक दल र नेताले कठपुतली बनाउन सफल भएको देखिन्छ । अहिले अख्तियारको न त चर्चा छ नत कुनै काम गर्न अख्तियार अघि सरेको नै देखिन्छ । अहिले सबैभन्दा पंगु निकाय भनेको देशमा अख्तियार नै हुन पुगेको छ ।
स्वास्थमन्त्री गगन थापाले स्वास्थ क्षेत्रमा केही सुधार गर्न खोजेको देखिन्छ । जनताले स्वास्थ सेवा सुबिधा निशुल्क पाउनु पर्छ भनी जुन निति नियम बनाउने काम गरेका छन् यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । स्वास्थ उपचारको नाममा भिआइपिलाई दिने करोडौं रकम रोक्ने प्रयास गर्दा पनि सुजाता कोइरालालाई प्रचण्ड सरकारले दिएको रकम रोक्न नसक्नुलाई कमजोरी मान्नुपर्छ ।
अहिले सबैभन्दा सकारात्मक अर्को कुरा भनेको भुकम्प पिडित लाई सरकारले राहत दिने, नयाँ आवास बनाउन रकम दिने काममा ढिलासुस्ती भएको समयमा हास्य कलाकार धुर्मुस सुन्तली फाउन्डेसनबाट मुसुहर बस्ती नै बनाइ दिएर भब्य कार्यक्रम गरियो । हो गर्न खोज्ने होभने ईच्छा शक्ति भएमा परिवर्तन गर्न समय नलाग्ने रहेछ । साँच्चै भन्नु पर्दा समाजमा राम्रो मान्छेहरू छन् तिनको पहिचान गरि उनीहरूलाई थोरै मात्रै हौसला र काम गर्ने बाताबरण बनाइदिए पुग्ने रहेछ ।
२०७३ मै नेपाली जनताको छोराछोरीले निशुल्क शिक्षा पढ्न पाउनु पर्छ भन्ने मान्यता अनुसार हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, बिजयकुमार पाण्डे, रबिन्द्र मिश्रले ल्याउनु भएको समता स्कुल पनि सकारात्मक नमुना काम हो भनेर भन्न सकिन्छ । अहिले सबैभन्दा महंगो शिक्षा भएको समयमा मात्रै १०० रूपैयाँमा स्कुल पढ्न पाउने जुन अभियान छ यसबाट हामी सबैले शिक्षा लिन सक्नुपर्छ । साँच्चै हामीले खाली निरासा मात्रै होइन आसाबादी हुने धेरै ठाउँ छन् भन्ने कुरापनि बुझ्न जरुरी छ । अहिले राजनीति पनि थ्रेस होल्डले गर्दा साना पार्टीहरू एकीकरण हुने अर्को राम्रो अभ्यास समेत शुरूवात भएको छ यसलाई पनि उपलब्धि मान्न सकिन्छ ।
हामीले सधैं नकारात्मक मात्रै कुरा हैन सकारात्मक कुरालाई पनि लिन सक्नुपर्छ तब मात्र हामीले राम्रो गर्न सक्छौ । देशले संविधान पाएको छ तर निकास भने पाएको छैन । अहिले पनि खेल संविधान संशोधन मै अल्झिएको छ । मधेसी मोर्चा आफ्नै अडानमा कायम छ । सरकार उसैलाई मनाउन तल्लीन छ । प्रमुख प्रतिपक्षी दलले पनि प्रभावकारी भुमिका खेल्न सकेको देखिदैन । जे होस् अब २०७४ सालमा ७३ मा भएको कमीकमजोरीलाई सच्चाएर अगाडि जान सक्यौं भने अबश्य पनि फलदायी हुनेछ ।