बागलुङ, ४ वैशाख-नेकपा एमालेका केन्द्रिय बैकल्पिक सदस्य गोबिन्द्र नेपालीले निकट भबिष्यमै सबै बामपन्थी शक्तिहरु एमाले हुने दाबी गरेका छन् । नेकपा एमाले गलकोट नगर कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेपालीले यस्तो बताएका हुन् । उनले आर्थिक चलखेलले नभई नीति, बिचार र सिद्धान्तका आधारमा चुनावमा सहभागी हुनुपर्नेमा जोड दिए । नेपालीले नेकपा एमालेलाई पहिलो शक्ति बनाउने गरी एमालेका नीति र कार्यक्रमसहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य गुन्ज थापा, रत्ना भण्डारी र बुलबहादुर केसीले मन्तब्य व्यक्त गरेका थिए । त्यस्तै गलकोट नगरपालिकाका ११ ओटै वडाका संयोजकहरुले आफनो वडामा पार्टीको अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी नेकपा एमालेले आगामी स्थानिय तहको निर्वाचनका लागी मेयर, उपमेयरसहित, वडा अध्यक्ष सहित सदस्यहरुको नाम सिफारिस गरेको छ । मेयर पदका लागी यमबहादुर श्रीस, बैकल्पिक मेयरका लागी शन्त थापा र उपमेयरका लागी रत्ना भण्डारीलाई सिफारिस गरेको छ । त्यस्तै गलकोट नगरपालिका भित्रका वडा अन्तर्गत वडा नम्बर १ मा पदम कार्की, २ मा बुल बहादुर केसी, ३ मा मिनबहादुर खत्री, ४ मा धनबहादुर खड्का, ५ मा पुर्णबहादुर काउचा, ६ मा ओम बहादुर सुनार, ७ मा होमबहादुर बस्नेत, ८ मा महाश्रम शर्मा, १० मा खड्कसिह श्रीस र ११ मा डम्बर श्रीसलाई सिफारिस गरेको छ । बामतालमेलका लागी बुलबहादुर केसीको नेतृत्वमा वार्ता समिति समेत गठन गरिएको नेकपा एमाले गलकोट नगर कमिटिले जनाएको छ । कार्यक्रम नेकपा एमाले गलकोट नगर संयोजक डम्बर श्रीसको अध्यक्षता र पदम कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।