तीते करेली
कृष्णराज शर्मा
नयाँ बर्षको पूर्व सन्ध्यामा मेरो हातमा यौटा पत्र थामियो । तुरून्तै खोलेर हेरें । ‘…तपाईंको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछु ।’ भनेर पत्र टुङ्गिएको थियो । म को हुँ र त्यत्रो गरिमा राख्ने ? मनमनै प्रश्न उठ्यो । कसले अनुरोध गर्यो ? तल भवदीयमा लेखिएको नाम पढें । उनी रहेछन् शैलेन्द्र कुमार श्रेष्ठ । उनै शैलेन्द्र हुन् जसले दुई दिन अघि राप्रपा बागलुङको उपाध्यक्षको पदबाट राजिनामा दिएर स्वतन्त्र रहेको समाचार सुनेको थिएँ । उनैले डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको ‘एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रवादी’को तर्फबाट बागलुङ जिल्लाको नेतृत्व लिन लागेको पत्रबाट थाहा भयो । त्यत्रो ‘गरिमामय’ पत्र पाएपछि पत्रको अपमान गर्न सक्दिनथें । म गएँ । त्यसो त,नयाँ बर्षको शुभकामना आदान प्रदानका लागि अरूको पनि निम्तालु बनेको थिएँ । बिहानका निम्तामा म छुटें । दिउँसोका निम्तामा सहभागी भएँ । शैलेन्द्रको निम्तोमा लेखिएको ठेगानामा भनेकै समयमा म पुगें । त्यहाँ भव्य ब्यानर टाँगिएको थियो । केहीको उपस्थिति पनि थियो । पत्रकार पनि आए । फोटोका क्यामेरा मुखमुखमा घुमे । केन्द्रिय प्रतिनिधिले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे । संक्षिप्तमा कार्यक्रमले बीट मार्यो । म पनि फर्कें । घरमा पुगेपछि यो राप्रपाको जात किन टुट्नी, फुट्नी र जुट्नी भैरहन्छ ? के खान यसो गर्छन् ? किन जनतालाई गुमराहमा पारेर तहर मार्छन् ? दूधको त तहर लाग्छ भेटाए खाने नै भए तर, पानीको पनि तहर निकालेर खान कति जानेका ? यिनै प्रश्नहरू मेरो मनमा उब्जिई रहँदा राप्रपालाई बागलुङ देखि काठमाण्डौ पुगेर हेर्न थालें, यसरी !
नयाँ बर्षको पहिलो दिन मै बागलुङमा अर्को नयाँ पार्टी थपिएको छ । स्थानीय तहको चुनाव नजिकिदै गर्दा खुलेको यो पार्टीले बागलुङमा छुट्टै तरङ्ग पैदा गरेको छ । बीस बर्ष अगाडी घ्यू खाएको दाहीने हात सुँगेर खान्दानी पार्टी बनेको देखाउने प्रयत्न राप्रपाले गर्दैछ भन्दा फरक नपर्ला । नयाँ बर्षको पहिलो विहानीमा राप्रपाको अर्को विरूवा उम्रनु उहीले उहीले घ्यू खाएको हातमा भकारो सोहोरेको सुवासना सुङाउनु सरह भएको बजार चर्चा छ । यो नयाँ पार्टीको उदय हुनु भनेको भएको दुई चारशयको जनमत पनि विभाजित हुनु हो । ०७१ को उप–चुनावमा सदरमुकाम क्षेत्रबाट दुई पार्टी एक भएर चुनावी मैदानमा जाँदा करिब तीन सय मत यो पार्टीले प्राप्त गरेको थियो । बागलुङ जिल्लामा नयाँ एकीकृत राप्रपा राष्ट्रवादीको स्थापनाले भएको यही मत पनि ‘ध्वस्तै’ हुने कुरामा दुईमत नहोला । अहिले राप्रपाको कमाण्ड समाह्लनेहरू त्यतिबेला जित्ने पार्टी र उमेदवारको पछि लागेर जिन्दावादै जिन्दावादमा लागे । जितेको उमेदवार भन्दा बढी रँगीन बन्दै अरूको पार्टीको झण्डा त्यतिबेलाको विजय जुलुसमा फहराए । स्थानीय धौलागिरी टेलिभिजनको फोटो लाईब्रेरीमा अहिले पनि त्यो दृश्य सुरक्षित होला । गएर हेरे देख्न सकिन्छ । अर्कोतिर थोरै भोट आउने र उम्मेदवार मन परेन भन्दै अरू पार्टीका उम्मेदवारलाई भोट खसाल्न दौडेको दृश्य झनै चर्चाको विषय बनेको थियो । जहिले चुनाव आएपनि राप्रपाका नेताको आस्थाको उदाहरण दिएर रोचक ठट्टा गरिन्छ । राप्रपाका पशुपति शमशेर र राप्रपा नेपालका कमल थापाले बागलुङमा यौटै मञ्चमा पार्टीको उम्मेदवारलाई जिताई छोड्ने कसम खानेहरू ठूला पार्टीबाट भरेलाई चटनी लिएर रौसिएर उफ्रंदै रमीता देखाएको रोचक कहानी सबैले सुनेकै छन् । तैपनि सुध्रिएर राप्रपा एक भयो कि भनेको त्यो पनि वाईहात रहेछ । गधालाई सेम्पुले नुहाए पनि गाई कहिले बन्थ्यो र, भयो यही ! यही मेसोमा नयाँ बर्षको पहिलो बिहानीमा खुलेको अर्को पार्टीले त्यही उखान सावित भयो । यसरी हेर्दा यो प्रष्ट हुन्छ कि राप्रपा भित्र तरंग र भरँग भएको घाम लाए जत्तिकै छर्लङग भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालका बीच गत मंसीरमा पार्टी एकीकरण गर्ने सहमति भए बमोजिम फागून ६–९ मा सम्पन्न केन्द्रीय महाधिवेशनमा कमल थापा पक्षको बल मिच्याईं प्रवृत्तिका बिरूद्ध अर्को राप्रपाको उदय भएको कुरा त्यस पार्टीका शीर्षनेता प्रकाशचन्द्र लोहनीले काठमाण्डौमा त्यतिबेलै बताई सकेका थिए । उनै लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी केन्द्रीय कार्य समिति गठन भएको हो । देशका सबै जिल्लामा यसका शाखा स्थापना गर्ने सन्दर्भमा बागलुङमा पनि नयाँ बर्षको पहिलो बिहानीमा एराप्रपा राष्ट्रवादी, बागलुङको गठन हुनु अनौठो मान्नु पर्ने कुरै रहेन ।
बरू अनौठो त उतीबेलै देखि हुँदै आएको रहेछ । राप्रपा ०४७ साल जेठ १५ गते जन्मेको जुम्ल्याहा सन्तान हो । पंचायती आमाको कोखमा रहेका मुसलहरूको जन्म नेपाल आमाको आँगनमा पैदा भएको रहेछ भन्ने तीसबर्ष पछि आएर बुझ्न सजिलो भएको छ । पंचायति आमा आँफैमा खराब रहिन्छिन् । यिनै मुसल बीजहरूका पीताको घुरले थिचिएर पंचायती आमा निशास्सीएर नेपाली धर्तीबाट विदा भएकी रहिछन् भन्ने अहिले आएर गणतन्त्र नेपालका नेपालीहरूले बुझ्दैछन् । यदी यो पार्टी एकल रूपमा जन्मेर बहुदलीय व्यवस्थामा खेल्थ्यो भने शायद आजका दिन नेपालीले देख्न पर्ने थिएन । तर पंचायत व्यवस्था भित्रै उदार र अनुदार खेमाका पञ्चहरूको जुङ्गे लडाईंले दुईटा पार्टी बनेर जन्मेको सारा जगतलाई थाहा छ । कुनैबेला राप्रपाको सहयोग बिना काँग्रेस र कम्युनिष्टले पानी पनि खान पाएनन् । जनताले यो पार्टीलाई त्यसरी साथ दिए । त्यस्तो जगजगी थियो राप्रपा नामको पार्टीको । पंचायतको जरो गाउँगाउँमा गडेको थियो । अपवादलाई छोडेर,पंचायतका उच्चासिन पदाधिकारी बाहेक धेरै जिल्ला र गाउँस्तरका पञ्चहरू जनतासंग आत्मीय रहेका थिए । ती पञ्चहरू विरामी पर्दा चन्दा उठाएर उपचार गरे । कतिले उपचारै नपाएर अकालमा मरे । यस्ता पञ्चहरूले दिनभरी जनताको काम गरेर बेलुका घरमा आएर आफ्नै मानु खाए । यस्तो सेवा अहिले जनसेवीहरूबाट कल्पना सम्म पनि गर्न सकिन्न । सोझा पञ्चहरूको फाईदा उठाउँदै दुनो सोझाउने फटाहाहरू पंचायत ईतरहरूनै थिए । पंचायतको दोहन गरेर अघाउन नपाउँदै बहुदलको आगमन भएपछि तीनै फटाहाहरू गाउँगाउँमा नवनायक बनेर देखापरे । लामो जेलजीवन र संघर्षबाट आएकाहरू तिनै फटाहाहरूको चक्रब्यूहमा परेर राजनीति देखि टाढिंदै छन् । यही कुराको बोध जनतालाई हुँदै गर्दा राप्रपा प्रति जनताको भरोसा बढ्दो थियो । फलस्वरूप ०५१ सालको मध्याबधि चुनाव पूर्व एउटै पार्टी बनेर चुनावमा जाँदा जनताले पूर्ण रूपमा साथ दिएका थिए । शाशकीय क्षमता र अनुभवले खारिएको नेतृत्व देखेर देशको लागि पंचायत पृष्ठभूमीका नेतातर्फ जनता आकर्षित हुँदै थिए । अब अर्को चुनावमा त राप्रपाले राष्ट्रिय रूपमा दोश्रो पार्टीको हैसियत प्राप्त गर्नेछ भन्ने तर्सो विपक्षिलाई बनिसकेको थियो । दुर्भाग्य जनताको चोखो अभिमतको खेलाँची गर्यो राप्रपाले । आम नेपाली जनतामा अरूपार्टी भन्दा राप्रपा राष्ट्रवादी पार्टी भएको मूल्यांकन हुँदै थियो । यो पार्टीले काँग्रेस र कम्युनिष्ट पार्टीहरूलाई ठूलो चुनौती बनेर खडा भएको थियो । राप्रपाका मुल नेतृत्व अत्यन्तै हौसिएको थियो । यहीबेला अरू पार्टीको बुई चढेर उकाली चढ्दा बोक्नेले भीरमा लगेर गुल्टाई दियो । कहिले सूर्यबहादुर बुई चढे। कहिले लोकेन्द्र बहादुर बुई चढे । दुईटै भीरबाट लडे । नेपाली राजनीतिमा ‘चीं मुसी चीं’ को राजनीतिले प्रवेश पायो । यतिबेला सम्म आईपुग्दा राष्ट्रवादी पार्टीको निष्कलंक छवि र विश्वासमा दाग लाग्यो । राजतन्त्र हुँदैका बखत लैनचौरको दक्षिण भारतीय खाना ‘डोसा’ चाख्ने चलन बसाईयो । नेपाली धर्तीमै जन्मेको पार्टीमा छिमेकी ‘तत्व’ ले प्रवेश पायो ।
मध्याबधि निर्वाचनमा २० सीट जित्न पुगेका राप्रपाका साँसद ‘हण्ड्रेडका हण्ड्रेड’ मन्त्री पद पडकाए । बिरालोले मुसो खेलाउने प्राकृतिक नियममा मुसाले बिरालो खेलायो । जनताको मेण्डेटले सरकार चलाउन दिएको थिएन । लैनचौरको ’डोसा’खाएर जनताको भावनालाई बुटले कुल्चियो । परिणाम स्वरूप आजका राप्रपा हाम्रा घरदैलामा लौरो टेकेर छाक टार्न थालेको प्रतित हुन्छ । यसो भन्न कत्तिपनि हिच्किचाउन पर्दैन । दिल्लीको ग्र्याण्ड डिजाईनमा लेण्डुप दोर्जे बन्न पुगेकाहरूको भरमा तथाकथित गणतन्त्र आएपछि त राप्रपाहरू मुश्किलले बाँचे । राप्रपा पुनः फुटेर दुई फ्याक पर्यो । राप्रपा गणतन्त्रवादी र राजतन्त्रवादी बनेर दुई खेमामा जमीन बाहिर देखिए । गणतन्त्रवादी राप्रपा पत्तायो भने राजतन्त्रवादी राप्रपाले पार्टी कार्यकर्तामा झिनो आशा जगायो । राजा सहितको प्रजातन्त्र र हिन्दु अधिराज्य कायम गराई छाड्ने राप्रपा र गणतन्त्रवादी राप्रपाहरूले संविधानसभामा उपस्थिति सम्म देखाए । दोश्रो संविधानसभामा त्यही आस्थालाई जनताले साथ दिंदै ह्वात्तै बलियो शक्ति बनेर संविधानसभा भित्र राजावादी राप्रपा पस्यो तब देखिनै लैनचौरको डोसाले जीऊ भरेकाहरूको आङमा घाम लागेको महशुस भयो, राजतन्त्र र हिन्दु अधिराज्यका नारा अपानवायु बनाएर मिल्काईयो । लागभग सात लाख नेपाली जनताको भावनालाई आसनबाट निस्कने दुर्ग्न्धित ग्यास मिश्रित आवाजमा उडाईयो । चीं मुसी चीं खेल्दै खेल्दै गणतन्त्र सार्वभौम सत्य हो । संविधानसभाले निर्माण गरेको नेपालको गणतन्त्रात्मक संविधान विश्वमै सर्वोत्कृष्ट भएको बताउंदै जनताका भावनामाथी घोर अपमान गरियो । व्यक्तिगत लाभका खातिर जनताको अभिमत माथी बज्र प्रहार गरियो । देशको राजधानी काठमाण्डौका जस्ता सचेत जनताको पनि बुद्धि भुट्ने काम भयो । कम्युनिष्टको बुई चढेर राजतन्त्रको खोजी गर्न थालियो । यसभन्दा पहिले गाई पुज्न खोज्ने तर गोरूगाडाको ठाउँमा ‘गाई गाडा’मा शयर गर्नु महापापी कर्म पापी थियो भन्ने ज्ञान कहिल्यै पसेन । संघीयतामा देश लैजानु हुन्न भन्ने तर संघीय मामलाको विशेषज्ञ बन्दै विषद् व्याख्या गर्ने, यो कहीं नभएको जात्रा प्रदर्शनले पनि राप्रपाहरू हाँगाबिंगामा रूपान्तरित हुन पुगेको सजिलै बुझ्न सकिन्छ ।
यिनको बेलिविस्तार गर्ने हो भने ग्रन्थै तयार हुन्छ । ग्रन्थ तयार गर्नेहरूले लेख्दै पनि होलान् । यस्तो बबण्डर र रडाकोका बीच बागलुङका शैलेन्द्रले नयाँ राप्रपा खोल्नु आश्चर्यमय बनेन । लेख्दा लेख्दै हाम्रो पालामा खेलेको केटाकेटी खेल सम्झन पुगें । अभावै अभावको समयमा कुरा गरेर अघाउने जमाना थियो । अहिलेको जस्तो नर्सरी पढ्ने बच्चालाई शय रूपैयाँ हातमा हाल्दिएर “दिउँसो भोक लाग्यो भने किनेर खानु है नानी !’’ भन्ने जमाना थिएन । खेलेर भोक मेट्ने जमाना थियो । हामी कहिले काँही खेल्थ्यौं । तपाईंहरू मध्ये कोही यो खेल खेल्नु पनि भए होला । चीं मुसी चीं,तिम्रा दाजै हाम्रा दाजै … भन्दै हातमाथी हात राखेर दुई औंलाले चिमोट्दै खेल्थ्यौं । आज नयाँ पार्टीमा गरिमामय उपस्थिति जनाएर फर्केपछि यसो भन्दै खेलें –
चीं मुसी चीं,
तिम्रा नेता हाम्रा नेता
माछी मार्न गए ।
तिम्लाई आधी हाम्लाई आधी
भन्दै आँफै खाए ।।
चीं मुसी चीं !
धन्यवाद् !