म्याग्दी, ३१ चैत-स्थानीय निकायको निर्वाचनको बहिस्कारमा जुटेको विप्लव नेतृत्वको नेकपा कम्यूनिष्ट पार्टीका जिल्लास्तरका नेताहरूले पार्टी परित्याग गरेका छन् । सहरदेखी गाउँसम्म निर्वाचनको चहलपहल बढिरहेको अवस्थामा बेनी नगरपालिका–४ सिङ्गा इन्र्चाज सहितका नेता कार्यकताले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हु्न् । नेकपा मसालसंग पार्टी एकता गरेपछि विप्लव माओवादीका गतिविधिमा सक्रिय रहेका नेता तथा कार्यकर्ताले निर्वाचनको आवश्यकता रहेको अवस्थामा बहिस्कारले जनता निरास भएको भन्दै परित्याग गरेपछि नेकपाका धक्का लागेको छ । नेकपा एमाले म्याग्दीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला सल्लाहकार टेकनारायण रेग्मी, वडा इन्चार्ज देबेन्द्र बानियाँ, लोकनाथ पौडेल, देवबहादुर कार्की, देविप्रसाद पौडेल, यादव पौडेल, मुकुन्द रेग्मी, धन कुमारी पौडेल, कालिका बानियाँ, कोपिला बानियाँ, हरिप्रसाद पौडेल, रमा पौडेल, सिता पौडेल, तिलकुमारी रेग्मी, जमुना रेग्मी, डिल्ली पौडेल, खिमा किसान, प्रकाश पौडेल लगाएत १९ जना पार्टीमा प्रवेश गरेको नेकपा एमाले म्याग्दीका उपसचिव देव बहादुर घलेले बताए । प्रवेश गर्नेहरु गाउँका समाजिक कार्यमा सक्रिय मानिन्छन् । विद्यालय, टोल, सामुदायिक बन लगाएतका संस्थागत जिम्मेबारी समेत सम्हालेकाहरु एमालेमा प्रवेश गरेपछि निर्वाचन समेत पेचिलो हुने भएको छ । सिङ्गामा एमाले कमजोर मानिन्छ। नेपाली कांग्रेस र माओवादी केन्द्रको चहलपहल भइरहेको एमालेमा प्रवेशले वडा नंबर ४ को राजनीतिक चलपहलले अर्को रुप लिएको छ । ‘बेनपामा पार्टी अझै बलियो भएको छ, गाउँका राम्रा मान्छेलाई पार्टीमा स्वागत गर्दा उत्साहित छौ’ घलेले भने । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा, सांसद नवराज शर्मा, नरदेवी पुन लगाएतका जिल्ला नेताहरूले स्वागत गरेका थिए । निर्वाचनको तयारीमा जुटेका राजनीतिक दलमा धमाधम नेता कार्यकर्ता प्रवेश गरिरहेका छन् । म्याग्दीमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रमा समेत जिल्ला तथा वडास्तरमा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेको होडबाजी चलेको छ ।
Previous Articleकृषिमा आधुनिक प्रविधिको प्रयोग
Next Article ताराखोला ४ मा उम्मेदवारको टुंगो