भनिन्छ नि समयको दौड रोकिँदैन । समय आफैमा कसैका लागि राम्रो र कसैका लागि नराम्रो पनि हुँदैन । केवल मानिसले नराम्रा काम गरेर समयलाई नराम्रो पार्छन् र राम्रो काम गरेर समयलाई राम्रो बनाउछन । समयले केवल मानिसका कर्मलाई अंकित गर्छन, जसलाई इतिहास भनिन्छ । बितिसकेको समय बितिसकेको हुन्छ, त्यसमा अंकित घटना भावी पुस्ताले आँखाले देख्दैनन । त्यसैले बितिसकेका घटनाले निर्माण गरेको इतिहासकै आधारमा रहेका कुराको मूल्यांकन हुन्छ । प्रकृतिसँग गाँसिएको सामाजिक विकासको यस शाश्वत नियमबाट न त अमेरिका, न चीन, न भारत न कमजोर नेपाल नै अछूतो रहन सक्छ । नेपाल जस्तो युगौँदेखि स्वतन्त्र रहेको र अखण्ड रहेको देशमा विखण्डनका कुरा उठ्न सक्छन् र विखण्डन हुन्छ भने त्यसको सबैभन्दा ठूलो नजीर भारतविरुद्ध हुनेछ । किनकि भारत एकीकृत र विखण्डनको शृंखलाबद्ध क्रमबाट अगाडि आएको छ ।
भारत वर्षको आफ्नै इतिहास छ । भारत वर्षमा पाँच हजार वर्षको इतिहासमा अनेकौं शक्तिशाली राज्य बनेका र बिग्रिएका छन । गान्धार साम्राज्य सबैभन्दा पहिलो साम्राज्य थियो । यो दुई तीन सय वर्ष रह्यो । कुरु साम्राज्य, कोशला साम्राज्य, पान्चाल, गुजरा, मौर्य, गुप्ता, सुंगा नाभा, अहिर अनेकौं साम्राज्य गठन भए तर केही शताब्दीका लागिमात्र। अर्थात भारत कहिल्यै एकीकृत रहेन । विगत २५०० वर्षमा भारतको यो बन्ने र बिग्रने क्रम यथावत छ । भारत वर्षमा एउटामात्र ’राष्ट्र’ एकपटक बनेपछि कहिल्यै भत्किएन, त्यो हो नेपाल । नेपाल त्यस अर्थमा केवल एउटा राष्ट्रमात्र होइन, दक्षिण एसिया वा भारत वर्षको राजनीतिक, सांस्कृतिक एवं आध्यात्मिक इतिहासको निरन्तरता पनि हो । त्यसैले यो इतिहासको निरन्तरता कायम राख्न सकारात्मक दृष्टिकोण निर्माण गर्नु भारतको कर्तव्य हो । यसको स्वतन्त्रता र पवित्रता जोगाउनु उसको नैतिक दायित्व हो । नेपालको राजनीतिक, सांस्कृतिक, प्रशासनिक एवं आर्थिक क्षेत्रमा सूक्ष्म व्यवस्थापनको कार्यमा सरिक हुनु भनेको भारतले नेपाललाई आफू जस्तै बनाउन खोज्नु हो, जो दुई सय वर्षको उपनिवेशी प्रभाव र त्यसले थुपारेका विकृतिबाट भारत अपभ्रंसित भएको छ । त्यसैले वर्तमान राष्ट्रवादी भारतीय सरकारले भारत वर्षको संस्कृतिको धरोहर जोगाउन चाहन्छ भने नेपालमाथिको प्रभाव र हस्तक्षेप रोक्नुपर्छ ।
नेपाल चीनसँग सधैँं जोगिएको छ । नेपाल चीनको प्रभावमा परे पनि सांस्कृतिकरूपमा चीन जस्तो बन्दैन । नेपालले इतिहासमा चीनको संस्कृतिमा प्रभाव छोडेको छ । नेपाल चीनको बौद्ध संस्कृति निर्माण गर्न भूमिका खेल्ने देश हो । नेपालका भृकुटी, बुद्ध, अरनिकोले चीनको सांस्कृतिक वैभव निर्माण गरेका छन्। भारतलाई ‘उसको हस्तक्षेप नेपालमा भएन भने नेपाल चीनको प्रभावमा जान्छ’ भन्ने लाग्छ भने त्यो उसका विज्ञ र विश्लेषकहरूको बौद्धिक कमजोरी वा अक्षमतामात्र हो । जति बढी भारतको हस्तक्षेप र सूक्ष्म व्यवस्थापनका हर्कत नेपालमा कम हुन्छन, नेपालको चीनसँगको सम्बन्ध व्यापारिक सम्बन्धमा सीमित रहन्छ । यो सम्बन्ध विशुद्ध कूटनीतिक सम्बन्धमा सीमित रहन्छ । जति बढी भारतको हस्तक्षेप नेपालमा घनीभूत हुन्छ, नेपाल चीनसँग राजनीतिक सम्बन्धको नजिक हुन्छ । भारतले यो अन्तरनिहित सत्य बुझ्नुपर्छ । भारतले आफ्नै इतिहासबाट पनि सिक्नुपर्दछ ।
Previous Articleदुई वर्षपछि पुर्ननिर्माण अनुदान सम्झौता
Next Article नेतृत्वकर्ता नै मुकदर्शक बनेपछि