बागलुङ, ३० चैत – सरकारले बागलुङका भूकम्प प्रभावितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभाग अन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लगत सङ्कलन गरेपछि जिल्ला समन्वय समितिको संयोजनमा मंगलबारदेखि अनुदान सम्झौता सुरु भएको हो । बागलुङको काठेखोला गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान सुरु गरिएको भूकम्पिय आवास पुर्ननिर्माण आयोजना मूल्यांकन तथा अनुगमन बिशेषज्ञ योगेन्द्र रिजालले बताए । पीडितसँग सम्झौता भइसकेपछि वैशाख १२ गतेभित्र नै पूर्ण क्षति भएका बैंक खातामा रकम पठाइसक्ने रिजालले जानकारी दिए । बागलुङमा २ हजार ३ सय २७ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथ्यांक छ । यसमा अझ केही फेरवदल हुन सक्ने जिल्ला समन्वय समितिले जनाएको छ । यो जिल्लाका ५० साविकको गाविस र एक नगरपालिकामा भूकम्पबाट घर क्षति भएको तथ्याङ्क छ । वाँकी साबिकका चार गाविसबाट क्षतिको बिवरण आएको छैन । हिल, खुंखानी, राजकुत र तमानबाट भूकम्पबाट क्षति भएको कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला समन्वय समितिका सूचना अधिकारी अखिलनाथ शर्माले बताए । सांसद प्रकाश शर्मा पौडेलले सरकारले ढिलै भएपनि सम्वोधन गर्ने प्रयास गरेको भन्दै तत्काल पुर्ननिर्माण कार्य अघि बढाउन आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले राज्यले तोकेको मापदण्ड र यसअघि गरिएको लगत सङ्कलनमा परेकालाई तत्काल राहत दिन निरन्तर लागि पर्ने बताए । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले पीडितलाई बर्खायाम सुरु हुनुभन्दा अगावै रकम वितरण गरिसक्ने र तत्काल पुनर्निर्माणको काम सुरु गरिने बताए । सो अवसरमा सम्झौताका लागि सहभागी पीडितले सरकारले दिने भनेको तीन लाख निकै न्यून रकम भएकाले यसलाई बढाएर पाँच लाख पु¥याउन माग गरेका थिए । कतिपय पीडितले घर बनाइसकेको भए पनि भूकम्प प्रतिरोधी भयो या भएन भन्नेबारे अन्यौल हुँदा राहत पाउनेमा पनि अन्यौलमा परेको गुनासो गरेका छन् ।