भैरहवा, २९ चैत – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाख ३१ गते कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन भएरै छाड्ने बताएका छन्।
शान्ति, समृद्धि, सद्भाव, राष्ट्रिय एकता तथा निर्वाचनमार्फत संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस निर्वाचन परिचालन समितिले भैरहवामा मंगलवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले वैशाख ३१ नै निर्वाचन हुने जिकिर गरे। उनले मधेसी जनताको भावनाको कदर गरेर संविधान संशोधन विधेयक व्यवस्थापिका– संसद्मा दर्ता गर्न लागिएको बताउँदै यसलाई सबैले सहमति गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे।
आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्दा पार्टीलाई योगदान पुर्याएको, निर्वाचन जित्ने आधार भएकालाई स्थानीय तह निर्वाचनका लागि टिकट दिन आग्रह गर्दै उनले सकेसम्म क्षेत्र तथा जिल्लास्तरबाट उम्मेदवारको टुङ्गो लगाउनुपर्ने कुरामा जोड दिए।
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकलाई समान अधिकार प्रदान गर्नका लागि स्थानीय तहमा थुप्रै अधिकारसहित स्थानीय निकायको निर्वाचन गर्न लागिएको बताउँदै काँग्रेसलाई बहुमतका साथ विजयी बनाउन आग्रह गरे।
नेता पौडेलले नेकपा (एमाले)ले उत्तेजना फैलाएर निर्वाचनलाई बिथोल्न खोजेको आरोप लगाउँदै जिम्मेवार बन्न आग्रह गरे। आगामी २०७४ साल माघभित्र तीनैवटा तहको निर्वाचन सम्पन्न भए पछि मुलुकमा राजनीतिको एउटा व्यवस्था पार हुने बताउँदै नेता पौडेलले राष्ट्रिय एकता र सद्भावका साथ निर्वाचनमा होमिन सबैलाई आग्रह गरे।
सभालाई सम्बोधन गर्दै पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनमा अधिकांश गाउँपालिका र नगरपालिका जित्ने गरी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसका लागि जीवनमरणसँग सम्बन्धित भएको उल्लेख गरे।
कार्यक्रममा काँग्रेसका नेता गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, गृहमन्त्रीसमेत रहनुभएका नेता बिमलेन्द्र निधि, रक्षामन्त्री बालकृण खांण, केन्द्रीय सदस्यहरु रामकृष्ण ताम्राकार, देवेन्द्रराज कणेल, नवलपरासी सभापति विष्णु लामिछाने, सांसदहरु सञ्जय गौतम, हरि नेपाल, विक्रम खनाल, रामकृष्ण यादव, देवकरण कलवार, भरतकुमार शाह, अक्तरहुसेन मुसलवान, नेपाल तरुण दलका सभापति जितजङ्ग बस्नेत, नेविसङ्घ सभापति नयनसिंह महरा, नेपाल महिला सङ्घ केन्द्रीय सदस्य सुमित्रा शर्माले स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने विचार राख्दै त्यसमा नेपाली काँग्रेसलाई विजयी बनाउन आम नेपाली जनतालाई आग्रह गरेका थिए।
नयाँ विधेयकमा सबैले सहमति जनाउनुपर्छ – देउवा
Previous Articleस्थानीय तहको अधिकार कटौती गर्ने गरी संशोधन प्रस्ताव
Next Article २०७३ चैत ३० गते बुधबारको राशिफल