बागलुङ, २९ चैत – नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्थापछि राणा अध्यक्ष र निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गोल्छ विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानी मंगलबार महासंघको निर्वाचन भएको थियो । नयाँ व्यवस्था अनुसार राणा र गोल्छा नेतृत्वको कार्यसमितिले बुधबारबाट जिम्मेवारि सम्हाल्दै छ । महासंघमा राणा पहिलो महिला अध्यक्ष हुन् ।
राणाले सबैलाई मिलाएर लैजाने प्रतिक्रिया दिइन् । ‘अब चुनाव सकियो । निजी क्षेत्रको विकासको लागि एक ढिक्का भएर अगाडी बढ्नुपर्छ,’ उनले भनिन्, ‘सबैलाई मिलाएर अघि बढ्छु ।’
निर्वाचन गर्न गठीत समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गोल्छाले जिल्ला/नगरतर्फबाट ६१, वस्तुगतबाट ४७ र एसोसिएटबाट ५ सय ४ मत ल्याइ बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानले भने वस्तुगतबाट ५१, जिल्ला नगरतर्फबाट ४२ र एसोसिएटबाट १ सय २३ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका सदस्य लिलामणि पौडेलका अनुसार जिल्ला/नगरबाट १ सय ४, वस्तुगतबाट ९९ र एसोसिएटबाट ६ सय ३५ मत खसेको थियो ।
वरिष्ठ उपाध्यक्षमा विजयी गोल्छा अर्को कार्यकालको स्वत: अध्यक्ष हुने निश्चित भएको छ । उनले सबैलाई मिलाएर निजी क्षेत्रको विकासमा काम गर्ने प्रतिक्रिया दिए । ‘मलाई साथीहरुले विश्वास गर्नुभएको छ,’ उनले भने, ‘केही काम गरेर उहाँहरुको विश्वासलाई साकार पारेर देखाउने छु । थप जिम्मेवारी बोध गरेको छु ।’
जिल्ला नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । १ सय ४ मतमध्ये उनले ५५ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी दिनेश श्रेष्ठले ४८ मत ल्याएको समितिका सदस्य पौडेलले बताए । त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा अमेशलाल श्रेष्ठ विजयी भएका छन् ।
९९ मत मध्ये उनले ४९ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी शंकर पाण्डे र अनुपबहादुर मल्लले ११ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य पौडेलले बताए । एसोसिएटतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकालको मात्रै उमेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो आधारमा जिल्ला/नगरतर्फका उपाध्यक्ष श्रेष्ठ बाहेक पदाधिकारीमा गोल्छा प्यानल विजयी भएको छ । अधिकांश सदस्य पदहरुमा समेत गोल्छा प्यानलतर्फका विजयी भएका छन् । अध्यक्ष राणाले समेत गोल्छा प्यानलको समूहलाई समर्थन गरेकी थिइन । सदस्य पदको विवरण भने निर्वाचन समितिले अझै सार्वजनिक गरिसकेको छैन ।
महासंघको अध्यक्षमा राणा र वरिष्ठ उपाध्यक्षमा गोल्छा
Previous Articleतमानखोलामा नेपाली काँग्रेसले टुंगो लगायो उम्मेदवार
Next Article राष्ट्रपति भण्डारीको भारत भ्रमणको तयारी अन्तिम चरणमा