लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् । जनताले आफूमा निहित सार्वभौमसत्तालाई आवधिक निर्वाचन समयमा अमूल्य मत जाहेर गरेर आफ्ना प्रतिनिधि छनोट गर्दछन् र तिनै प्रतिनिधिलाई मुलुकको शासन सञ्चालनको जिम्मेवारी सुम्पन्छन् । यसरी अभ्यास हुने सार्वभौमसत्ताको प्रयोगमा आवधिक निर्वाचनमा विजय भएकाहरूसँग जति अवधिको लागि विजय भएको हो, सो अवधिभर जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने अधिकार रहन्छ । यतिवेला नेपालको संविधान २०७२ अनुसार विभिन्न तहको निर्वाचनमा समाहित हुने अवसर जनतासामु आइपुगेको छ । साविकका केन्द्रीकृत शासन प्रणालीबाट गठन भएका संरचना विस्थापित गरी नेपालको संविधानबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रको ढाँचामा नयाँ संरचनाहरूमा नेतृत्व गर्न निर्वाचन अपरिहार्य छ । त्यसैले सिंगो मुलुक निर्वाचनमा होमिएर संविधानले निर्धारण गरेको समयसीमाभित्र कार्यभार पूरा गरेर संविधान कार्यान्वयनमा इमानदार बन्नु सबै नेपालीको प्रमुख कर्तव्य हो ।
आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको प्रतीक्षामा रहेका नेपाली जनता निर्वाचनबाट स्थापित हुने नेतृत्वप्रति बढता आशावादी छन् । निर्वाचन नै सबैका लागि सही र समयसुहाउँदो एवं संविधानसम्मत लोकतान्त्रिक उपाय हो, जसले जनतामा जागरण ल्याएर नेतृत्व विकासको मार्ग प्रशस्त गर्दछ । नेपालको संविधानले परिकल्पना गरेका संरचनाहरूको पूर्णाकार प्रदान गर्दै जनताप्रति जिम्मेवार नयाँ नेतृत्वको क्रियाशीलतामा पनि निर्वाचनले प्राण भर्नेछ । त्यसैले २०७४ माघभित्र हुने तिनै तहका निर्वाचन मुलुकको लागि अपेक्षित कोसेढुंगा हुन् । दुई दसकपछि हरेक नागरिकलाई नेतृत्व तहमा पुग्ने अवसर सिर्जना भएको छ । निर्वाचनमाबाट नेपाल र नेपालीको भाग्यरेखा कोरिँदै जानेछ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक वैभवता भएर पनि आर्थिक दयनियता व्यहोर्नुपर्ने हाम्रो नियति बनेको छ । आर्थिक अवस्था सुदृढ हुन नसक्नुमा राजनीतिक दूरदर्शिता, इमान्दारिता र साहसपूर्ण क्रियाशिलताको अभाव प्रमुख कारण हो । यसबाट मुक्त हुन पनि आवधिक निर्वाचन नै अचुक विधि हो । निर्वाचन नेतृत्व चयनको सही र सर्वमान्य तरिका हो ।
नेतृत्वको परीक्षण निर्वाचनमा हुन्छ । मतदाता चलाख भएको अवस्थामा जनताको विवेकले नै नेतृत्वको हैसियत निर्धारण गर्छ । तर हाम्रो मुलुकमा सही नेतृत्व चयन गर्न जनताको विवेकलाई बाह्य तत्वले प्रभाव पार्ने गरेकोछ । जे भए पनि नेतृत्व चयन गर्दा मूलभूत विषयमा सबैको ध्यान जानुपर्छ । सत्ता सञ्चालन गर्न पुग्ने नेतृत्व चयनको सन्दर्भमा उम्मेदवार हुने व्यक्तिको चरित्र र क्षमतालाई मसिनरी कसी लगाएर शुद्धताको मात्रा उच्च भएकालाई छान्न मतदान गर्नुपर्छ । सार्वजनिक पदमा पुग्ने व्यक्तिको चरित्र निर्मल, शुद्ध र क्षमता अब्बल हुन पर्दछ । चरित्र र क्षमता दुवैमा अब्बल भएका व्यक्तिलाई नेतृत्वमा पुराउनुपर्छ । कुनै पनि व्यक्तिको चरित्र पक्ष उसको सम्मान आर्जनको आधार हो र क्षमता पक्ष सेवा प्रवाहका लागि सक्षमताको जग हो । चरित्र पक्षमा राम्रो देखिन व्यक्तिमा इमान्दारिता, अनुशासन, परिपक्वता, फराकिलो मानसिकता, धैर्यता, नैतिकता, मेहनती, सेवाभाव, समभाव जस्ता गुण विद्यमान हुनुपर्छ । यस्ता गुणले व्यक्तिलाई भ्रष्ट हुनबाट जोगाउँछ । चरित्र निर्माण एक दिनको काम होइन । यसले निरन्तर आकार लिइरहने भएकाले चरित्रको चिनारी समाजमा भइरहेको हुन्छ । तसर्थ चरित्र केलाएर क्षमतावान ब्यक्तिलाई नेतृत्वमा छान्नुपर्छ । यसपटकको स्थानीय तहको निर्वाचनमा यी कुरामा सवैको ध्यान पुग्नु पर्दछ ।
Previous Article२०७३ चैत २९ गते मंगलबारको राशिफल
Next Article नयाँ संरचनाका पुराना उम्मेदवार