तीते करेली
कृष्णराज शर्मा
यसपाली म चितवनको नारायणघाट पुगें । मेरो सँस्थाले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको थियो । त्यसकारण त्याहाँ पुगें । दुईदिने तालिमको समापन पछि रहल पहल समयमा नजिकैको देवघाट पुग्ने अवसर यही तालिमले जुराईदियो । तालिमको समापन पछि तुरून्तै घर जान चाहन्थ्यौं, तर मुग्लीङ नारायणघाट खण्डको बाटोमा अबरोध छ । निर्माण कार्य हुँदैछ । त्यसैले भनेको बेलामा यो ठाउँबाट चाहेको समयमा यात्रुले बाटो तय गर्न सक्दैनन् । यसकारण बिहान सबेरै बागलुङ जाने तय गर्यौं । यस्तो भएपछि यो दिनको उब्रेको समयमा कहिं न कहिं त जानु नै थियो । समय पास गर्नु नै थियो । अनि लाग्यौं देवघाट तिर । जीवनमा पहिलो अनुभव हुनेवाला थियो । देवघाट सुनसान थियो । निर्माणका काम भैरहेका थिए । नयाँ र पुरानो भौतिक संरचनाको संमिश्रण देखें । उत्पातको उथल पुथल भए जस्तो केही लागेन । जति विभिन्न अनुष्ठानहरू द्वारा निकै नै भैसकेको अनुमान गर्थें। त्यो लागेन । खैर,कार्य जारी रहेछ । देवघाटको विशेषता त्रिशुली र कालीगण्डकीको दोभान हो । यो दोभान दुई नदीको प्रणय मिलन हो । प्रणय मिलनमा ढोका ढक्ढकाउन म पुगेको थिएँ । म अपराधी हुँदैछु या धर्मात्मा हुदैछु मैले नै जानिन । तर दोभानको ढोका ढक्ढकाउन नौकाको सहायता लिएँ,पुगें । पुग्दा वित्तिकै चौधरी भाईहरू भेटिए । अत्यन्त पारिवारिक आतिथ्यता दर्शाए । खुशी लाग्यो । आधुनिक डुँगा खियाउँदै हामीलाई नदी पार गराए । कति मिठा थिए ति भाईहरू । धेरै बोलेनन् र न त सुनेको मूल्यमा सुको बढी लिए, न घटी । नदीवारी पच्चीसले नदी पार भईन्छ भनेका थिए गेरू बस्त्रधारी गुरूले । नसोधि नौका चढदा बढी पो माग्छन् कि मेरो मनले पाप चितायो । काठमाण्डौका ट्याक्सीले जस्तो मनलागि भाडा माग्छन् कि भन्ने मेरो पापी मनको सोचाई चौधरी भाईहरूले गलत सावित गरिदिए । जे सुनेको त्यही मागे । त्यही व्यहोरें ।
पारी पुगेपछि ‘देऊघाट’ को मूलभूमी पुगेको अनुभुति भयो । त्रिशुली नदीले मूल थलोको कटान गरेर चोईट्याउन थालेको रहेछ । नरम खालको चट्टान कटान गरेको रहेछ त्यो नदीले । मित्र हरि र म यही कुरागर्दै अगाडी बढ्यौं । पवित्र तीर्थस्थलमा त पाईला टेक्यौं । तर देवघाटको मुख्य मन्दिर पहिल्याउन सकेनौं । अस्तव्यस्त निर्माण र टुक्रा टाक्री मन्दिरले थलो पुरिएको लाग्यो । बागलुङको कालिका मन्दिरमा एक्लो मन्दिरले आकर्षण गरेजस्तो त्याहाँ लागेन । त्यसपछि हामी टहलियौं । घरि कालिगण्डकी तिर हेर्थ्यौं,घरि त्रिशुली तिर हेर्थ्यौं । साँझको आरती उतार्ने बेला भएको रहेछ । त्यतैतिरको माईकको आवाजले हाम्रो ध्यान मोड्यो । गयौं नमन गर्यौं । आँखा चिम्लेर आस्था जतायौं । अब के गर्ने कहाँ जाने दोमनमा अगाडी बढ्दा बागलुङे मित्र भेटिए । म छक्कै परें । देखि नदेखि गर्दै ज्यूज्यानले ठक्कर दिएँ । मलाई देखेर आश्चर्यमा परे । ठुस्स पनि परे । देखादेख पछि औधी खुशी भए । उनले आमालाई देऊघाट घुमाउन लिएर गएका रहेछन् । बागलुङ कुडुँलेका चीर परिचित मित्र हरिकृष्ण हुन् उनी । पुरै देश चुनावमय छ । उनी माओवादीका कट्टर कार्यकर्ता हुन् । जेलभित्र रहँदा सिद्दिए भनेका मान्छे हुन् । साँच्चीकै नयाँ जीवन र नाफाको जीवन बाँच्दैछन् अहिले । मैले सोधें– के हो यस्तो बेलामा पनि कार्यक्षेत्र बाहिर ? चुनाव आयो किन यो देऊघाटमा ? मेरा प्रश्न उनलाई राखें । हरिकृष्ण जंगीएर भने– छोड्नुस् यस्ता कुरा । मलाई राजनीति गर्नुछैन । मलाई घृणा लाग्यो । म मार्क्सवादी हुँ । द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छु । दुःख गरेर बाँच्न सिकेको छु । बुझेको छु । कम्युनिष्टको विरोध यदी कसैले गर्छ भने त्यो म एक नम्वरमा छु । मेरो कम्युनिष्ट आस्था ढल्यो । अब म राजनीति गर्दिन कृष्ण जी । जो जसले राजनीति गर्छन् गरून् भन्दै म सँग च्याँट्ठिए । उनको यो अभिव्यक्ति सुनेर रल्ल परें । किन यसो भने यि कमरेडले भन्दै म आत्तिएँ । आमालाई लिएर उनी डुँगा चढ्दै नदी पार भए । हामी घुम्दै रह्यौं ।
करिब आधाघण्टाको घुमाई पछि हामी नारायणघाट फर्क्यौं । कोठामा हरिकृष्णका कुराले घोची रह्यो । यस्तो कट्टर जनसेवी राजनीतिबाट किन विमुख भयो । किन ऊ जस्तो होनहार सचेत नागरिकलाई राजनीति प्रति घृणा भयो । जगजगीको राजनीति गरेको मान्छे किन ओईलायो । अनेक खालका तरङ्ग मेरो मनमा खेले । उनको यसखाले निराशा उत्पन्न हुनु देशको राजनीतिक कल्चरको दोष हो कि उनको वैयक्तिक वैराग्य मात्रै हो बुझ्न खोजें । उनी राजनीतिक एक धारका व्यक्ति हुन् । अरू धारका पनि यस्तै गरि खेर गैरहेको अवस्था त छैन मेरो मनले तर्कना गर्यो । अनि अरू आस्थाका थुप्रै हरिकृष्णहरूलाई संझें । अरू दलमा पनि अग्रगामी फड्को मार्दाको राजनीतिबाट निराश बनेकाहरू पनि यो देशमा छन् ।
यहि प्रसँगमा हुने भनिएको चुनावमा कतिको बैराग्य उत्पन्न हुने हो पत्तो छैन । देऊघाटमा घुम्न जाँदा भेटिएको नैराश्यता देशभरी छ । ‘बोल बोल मछली मुखभरी पानी’ भने जस्तै राजनीतिक सँस्कृति मरे पछि राजनीतिक माछा पनि छटपटाउने थालेको अवस्था त हैन ? भन्ने प्रश्न खडा हुन थालेकी त भन्ने लाग्यो । जे होस् देऊघाटको घुमघामले धर्म गर्दागर्दै र कर्म गर्दागर्दै पनि मान्छे लोलाउन पुग्ने रहेछ भन्ने अनुभुति पाएँ । जन्मेको ठाउँमा मान्छे खेलकुद गर्छ,मर्नु पर्ने ठाउँमा मान्छेले भावुक बन्छ । सत्य बोल्छ । हरिकृष्णले सत्य बोले । उनले धेरै बोले सत्य बोले । कम्युनिष्ट भएर बोले । मैले कोठाबाट फेरी फोन गरेर सोधें । म यो कुरा लेख्न सक्छु ? उनले निर्धक्क भएर भने लेख्नुस् ठोक्नुस् । उनले जस्तै मलाई अरू आस्थाका मान्छेहरूले पनि भनेका छन् लेख्ने अनुमति पाएको छैन । तर उनीबाट पाएँ । जे जसो, देऊघाट पुगेर नरायण, हरि र बिष्णुलाई भेटुँला भनेको त हरिकृष्ण कम्युनिष्टलाई पो भेट्न पुगें । यसरी पहिलो पटक देवघाट चितवन पुगें !