यो अवधीको तथ्यांकलाई मान्ने हो भने यो वर्षको सात महिनासम्म व्यापार घाटा ६६.२ प्रतिशतले बढेको छ । गतवर्ष माघसम्म व्यापार घाटा करिब २१ प्रतिशतले घटेको थियो । यस वर्षको सात महिनामा ५ खर्ब ९८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । त्यसमध्ये ५ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आयात र बाँकी ४२ अर्ब १८ करोड रुपैयाँको निर्यात भएको छ । यसरी आयात र निर्यातको अन्तर बढ्दै गएपछि कुल व्यापार घाटा पनि चुलिँदै गएको छ । गत माघसम्म निर्यात करिब १५ प्रतिशतले बढेर सवा ४२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात करिब २७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकको तथ्यांकमा सात महिनामा भारततर्फको निर्यात १८ दसमलव २ प्रतिशत, चीनतर्फ ५४ दसमलव २ प्रतिशत र अन्य मुलुकतर्फको ९ दसमलव ७ प्रतिशतले बढेको छ । उक्त अवधिमा जुस, पिना, रोजिन, जीआई पाइप लगायत वस्तुको निर्यात बढेको छ भने अलंैची, पोलिष्टर, तरकारी, अदुवा लगायतको निर्यात घटेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गतवर्ष माघसम्म साढे २१ प्रतिशतले घटेको आयात चालु आर्थिक वर्षको सोही अवधिसम्म ६६ दसमलव २ प्रतिशतले बढेर ५ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा भारतबाट ८० प्रतिशत, चीनबाट करिब ३२ प्रतिशत र अन्य मुलुकबाट ३४ दसमलव ८ प्रतिशतले आयात बढेको छ । सात महिनामा पेट्रोलियम पदार्थ, यातायात साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सिमेन्ट लगायतको आयात बढेको छ । तर रासायनिक मल, औषधी, कोल्डरोल सिट इन क्वाईल, सुपारी लगायतको आयात घटेको छ । मुलुकबाट बाहिरिने वस्तुभन्दा भित्रिने धेरै भएको अवस्थामा व्यापार घाटा हुन्छ । चालु आर्थिक वर्षको ७ महिनासम्म निर्यातको तुलनामा आयात करिब १३ गुणा बढी छ । आयात निरन्तर रूपमा बढिरहनु र त्यसको तुलनामा निर्यात बढ्न नसकेकाले व्यापार घाटा चुलिएको छ । रेमिट्यान्स आप्रवाहले उपभोगको स्तर बढाउनु, स्वदेशी वस्तु तथा सेवाको उत्पादनमा कमी, सवारी साधन, मोबाइल लगायत नवीनतम आविष्कारको बढ्दो उपयोग, बढ्दो पश्चिमा संस्कृति लगायत कारण आयात उच्च दरले बढेको छ । नेपाल कुल गार्हस्थ उत्पादनको ९४ प्रतिशत उपभोग भएको मुलुक हो। गत माघसम्म ४२ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ भने ५ खर्ब ५६ अर्ब रुपैयाँको आयात भएको छ ।
घाटा न्युनीकरण गर्न लगनीको वातावरण बनाउनुपर्ने, बन्द–हडताल सधैंका लागि बन्द हुनुपर्दछ । चुलिँदो व्यापार घाटा मुलुकका लागि हानिकारक हो । व्यापार घाटा घटाउने प्रमुख उपाय भनेकै निर्यात प्रोत्साहन र आयात प्रतिस्थापन हो । आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादन बढ्न नसक्नु र पुनर्निर्माण लगायतका कारण वस्तु तथा सेवाको माग बढिरहेकाले तत्कालै व्यापार घाटा घटाउने सम्भावना कम छ । सरकारले अनौपचारिक अर्थतन्त्रको आकार घटाउँदै, स्वदेशी उत्पादन वृद्धिमा जोड दिनुपर्छ । स्वदेशमा उत्पादन सम्भाव्यता रहेका वस्तु तथा सेवाको क्षेत्रमा सरकारले लगानी विस्तार गर्नु पर्दछ । जीवन निर्वाहमुखी नेपाली कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै व्यावसायिक उत्पादनमा जोड दिनुपर्छ । स्वदेशमा उत्पादन सम्भावना रहँदा–रहँदै पनि आयात भइरहेका वस्तु पहिचान गरी तिनको उत्पादनमा सरकारले ठूलो मात्रामा लगानी गर्नुपर्ने, निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न छुट तथा अनुदानका कार्यक्रम ल्याउने र कृषि अयोजनामा प्रत्यक्ष वैदेशिक लगानी भित्राउनु नै व्यापार घाटा कम गर्ने उपाय हो ।