बागलुङ, २४ चैत-हेमराज शर्मा प्रतिष्ठानले पूर्व सांसद कुलराज शर्मा सहित बलेवा क्षेत्रका दर्जनबढी समाजसेवीलाइ सम्मान गरेको छ । प्रतिष्ठानको स्थापनाको २५ बर्षको अवसरमा प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान गर्ने समाजसेवीलाई सम्मान गरेको हो । साथै यसै बर्ष त्रिभूवन विश्वविद्यालय उत्कृष्ठ हुने विद्यार्थी, धौलागिरी बहुमुखी क्याम्पसमा उत्कृष्ठ हुने विद्यार्थी र मावि तथा आधारभूत तहका विद्यार्थीलाई पनि सम्मान र पुरस्कृत गरिएको हो । शिक्षासेवी हेमराज शर्माको ८५ औं जन्मोत्सवको अवसरमा बलेवामा आयोजित कार्यक्रममा कुलराज शर्मालाई विशिष्ट सम्मान गरिएको हो । शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक क्षेत्रको विकासमा झण्डै ५० बर्षदेखि अनवरत खटिएका शर्मा गरिएको सम्मान कार्यक्रममा सदरमुकाम देखि बलेवा क्षेत्रका राजनीतिक नेतृत्व, सामाजिक अगुवा, शिक्षा विदहरु समेत सहभागि भए । हेमराज शर्माको अगुवाईमा बलेवा क्षेत्रमा दर्जनौं शिक्षालयहरु स्थापना भएका थिए । साथै उनले गाउँमै स्नातक सम्मको पढाइ हुने कलेज स्थापनामा पनि अगुवाई गरेका हुन् । उक्त अगुवाईबाटै बलेवा पैयुँपाटा क्याम्पसमा स्नातक पढाइ हुँदै आएको छ । उक्त अवसरमा सांसद रत्ना शेरचनले कुलराज शर्मालाई सम्मान गर्दै निस्वार्थ सेवामा लाग्नेहरुको योगदानको सम्मान तिरेर नसकिने बताइन् । साथै सामाजिक र राजनीतिक जागरण ल्याउन शर्माले खेलेको भूमिकाको प्रसंसा गरेर मात्र नपुग्ने उनले बताइन् । शर्मा नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व सांसद र राणा विरोधी आन्दोलनमा समेत काँग्रेसको तर्फबाट सक्रिय भएका नेता हुन् । साथै उनले गलकोट क्षेत्रको सामाजिक विकासमा पनि उत्तिकै काम गरेको जानकारहरु बताउँछन् । सम्मानीत भएपछि शर्माले अध्ययन र शिक्षाले मानिसलाई अग्रगामी र दुरदर्शी बनाउने बताए । साथै उनले उमेर पाक्यो भनेर कसैले पनि अध्ययनलाई रोक्न नहुने पनि सुझाव दिए । साथै उनले देशका नेतृत्वले अध्ययन नगर्दा देशै अन्धो बन्नुपरेको तर्क गरे । आध्यात्मीक र आधुनिक विज्ञान पढेर समाजलाई रुपान्तरण गर्न सबैलाइ उनले आग्रह पनि गरेका थिए । त्यस्तै उक्त अवसरमा बागलुङका विद्यालय र क्याम्पसहरु खोलेर शैक्षिक जागरण ल्याउने जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा डिल्लीप्रसाद शर्मा, नन्दलाल उपाध्याय, भीमबहादुर जिसी, ठाकुरप्रसाद शर्मा, चक्रपाणी उपाध्याय, पदमबहादुर केसी, रत्नाकर शर्मा, लालबहादुर रोका, हरिराम शर्मा, डिल्लीप्रसाद शर्मा, आत्माराम पौडेल लगायत थिए । प्रतिष्ठानले नेपाल भरमा त्रिविमा सबैभन्दा धेरै नम्बर ल्याउने बलेवा पैयुँपाटाका सागर पौलेललाई पनि सम्मान गरिएको थियो । पौडेलले विविएको अन्तिम परिक्षामा देशभरबाट त्रिभूवन विश्वविद्यालय उत्कृष्ठ भएका थिए । स्नातक तहमै धौलागिरी बहुमुखी क्याम्पसमा उत्कृष्ठ नतिजा ल्याउने पवित्रा केसी र बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसका उत्कृष्ठ छात्र सूर्य पौडेल, मावि तहमा त्रिभूवन माविमा उत्कृष्ठ नम्बर ल्याउने अर्जुन नेपाली, आधारभूत तहमा उत्कृष्ठ कृति परियारलाई पनि पुरस्कार तथा सम्मानपत्र दिइएको हो । प्रतिष्ठानका अध्यक्ष किरणराज पौडेलको अध्यक्षता, सचिव कृष्ण पौडेलको संचालन र उपाध्यक्ष चुडामणी शर्मा पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्ति कुलराज शर्मा, काँग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, डिल्लीप्रसाद शर्मा, खुमराज पराजुली लगायतले बोलेका थिए ।
Previous Articleकालिका धार्मिक तथा चैतेदशै मेला सकियो
Next Article छालालाई घामबाट जोगाउने क्रिमहरु