बागलुङ, २४ चैत-एक सातादेखि संचालन भएको बागलुङ कालिका धार्मिक तथा चैतेदशै मेला बुधवार सम्पन्न भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत १६ गते देखि जारी मेलामा देशभरका ६ लाख भक्तजन र धार्मिक पर्यटक आएको अनुमान छ । विसं १५०० देखि मनाईदै आएको चैते दशैँ मेला लाई पछिल्लो समय गुठी व्यवस्थापन समितिले आयोजना गर्दै आएको छ । चैत्राष्टमी पर्वलाई यस क्षेत्रमा साँस्कृतिक पर्वको रुपमा लिईन्छ । चैते दशैंमा कालिका भगवति मन्दिरको दर्शन र पुजाअर्चना गरेमा मनोकांक्षा पुरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने जनबिश्वास छ । पर्वका अवसरमा पोखरा, काठमाण्डौं, चितवन, भैरहवा, बुटवल लगायत बिभिन्न स्थानका साथै भारतबाट समेत भक्तजनहरु आएको समितिका अध्यक्ष राजु खड्काले बताए । गन्तव्य बागलुङ कालीका– ‘कला संस्कृतिको प्रर्दशन, स्थानीय उत्पादन र पर्यटन प्रर्वद्धन’ भन्ने मूल नाराका साथ गत चैत्र १६ देखी मेला लागेको थियो । मेलालाई धार्मिक हिसावले मन्दिरमा पुजाअर्चना गर्ने रुपमा हेरिन्छ भने सास्कृतिक रुपमा स्थानीय स्तरमा उत्पादित डालो, नाङ्ला, ठेकी, मादल लगायतका सामग्री बिक्री गर्ने महत्वपूर्ण अवसरका रुपमा धौलागिरी क्षेत्रका बासिन्दाले लिने गरेका छन् । तर, बिगतका बर्षमा जस्तो यस बर्ष घरेलु उत्पादनका सामग्रीहरुको बिक्री बितरण सन्तोषजनक नभएको गुनासो समेत छ । मेलामा स्थानीय उत्पादन, रेष्टुरेन्ट सहित एक सय भन्दा बढी व्यापारिक ‘स्टल’ राखिएको थियो । मेलामा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, एक लाख राशीको कालिका कप भलिबल, अन्तर कलेज फुटबल, छेलो लगायतका प्रतियोगिता र मेला स्थलमा ‘रमाइलो बाल उद्यान’ पनि सञ्चालन समेत गरिएको थियो । मेलाकै अवसरमा आयोजित अञ्चल भित्रका गाविस स्तरीय भलिबल प्रतियोगिताको उपाधि हरिचौरस्थित न्युमोर्डन एकेडेमीले जितेको छ ।
Previous Articleदाना–खुर्काेट प्रशारण लाइन निर्माण शुरु
Next Article हेमराज प्रतिष्ठानद्वारा समाजसेवीहरु सम्मानित