बागलुङ, २४ चैत-प्रभु बैंक लिमिटेड बागलुङ शाखाले चैतेदशै मेलामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्र्तगत बैंकले रक्तदान कार्यक्रम गरेको हो । बुधवार गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी सहित अन्य विभिन्न कार्यालयका कर्मचारी, विभिन्न बैंकका प्रतिनिधि र मेलामा आएकाहरु समेत २७ जनाले रक्तदान गरेको शाखा प्रमुख अमर गिरीले बताए । नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र लगायतको सहकार्यमा भएको यो शिविर मार्फत मानव सेवामा पनि वित्तिय क्षेत्रको योगदान रहेको स्पष्ट पारेको उनले बताए । रक्तसंचार केन्द्र बागलुङमा एकैपटकमा धेरै रगतको संकलन गर्ने क्षमता नभएपछि केही व्यक्तिले मात्र रक्तदान गरेका थिए । अन्य दातालाई आवस्यक परेको समयमा दिने गरी सम्पर्कमा राखिएको पनि बताइएको छ । शिविरमा बैंकका पर्वत, म्याग्दी र पोखराका प्रमुख रेणुप्रसाद पाण्डे लगायत सहभागि थिए ।