गर्मी मौसम शुरु हुनै लाग्दा आगलागीका घटनाहरु हुन थालेका छन् । गाउँघरका वनमा डढेलो लाग्न थालेको छभने शहरका घरहरुमा विद्युत सर्ट हुँदा आगलागीका घटना हुन थालेका छन् । हरेक वर्ष गर्मी याममा हुने आगलागीका घटनाका कारण वन जंगल नष्ट भएको छभने त्यहाँ आश्रित वन्यजन्तु र पंक्षी पनि संकटमा पर्न थालेका छन् । गर्मी समय आगलागीका घटना अत्याधिक हुने भएकोले हामी सबै सचेत हुन जरुरी छ । गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ । वन विभागका अनुसार मानिसको हेलचक्रयाइँले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको छ । मानिसले व्यक्तिगत जग्गामा पातपतिङर पोलेर छाड्दा होस् या सडक बढारेको फोहोर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेका छन् । गत वर्षको तुलनामा यो यर्ष वनमा कम मात्रामा डडेलो लागेको छ ।
जनचेतना र प्रचारप्रसारको कमि हुँदा वनमा धेरै आगलागी हुने गरेको पाईन्छ । यसको नियन्त्रणका लागि सम्बन्धित निकाय सधै सचेत हुन जरुरी छ । आफ्नो जग्गामा रहेको पातपतिङर पोलेर आगो ननिभाइ नहिँड्न समेत सबै सचेत हुनुपर्छ । जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुख्खा भई धेरै आगलागी हुने गरेको विभागले जनाएको छ । आर्थिक वर्ष २०७२ र ७३ मा भन्दा चालु आर्थिक वर्षमा थोरै आगलागी भएको छ । आव २०६९ र ७०, २०७० र ०७१ र २०७१ र ०७२ को तुलनामा चालु आर्थिक वर्षमा कम आगलागी भएको हो । देशभर १९ हजारको हाराहारीमा सामुदायिक वन रहेकामध्ये अधिकाशं जंगलमा चैत वैशाखमा धेरै आगलागी हुने गरेका छन् । वन क्षेत्रमा हुने आगलागीका कारण बसिनौँ हजारौँ वन्यजन्तु मर्ने गरेका छन् । वनमा हुने आगलागी कम गर्नको लागि वन कार्यालयले हरेक वर्ष संचालन गर्दै आएको डडेलो नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी छ ।
वनमा हुने आगलागीले मानवीय क्षतिसमेत हुने गरेको छ । आगो र गाईवस्तुको चरिचरणबाट वन क्षेत्रलाई जोगाउन सके वन वृक्षरोपण कम गर्नुपर्छ । यसको साथै वन क्षेत्रमा हुने आगलागी नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नु पर्दछ । वन ऐनको दफा ४९ को ‘ख’ मा आगो लगाउन वा आगलागी हुने कुनै काम गर्नेलाई दफा ५० को ‘ख’ अनुसार कारबाही गर्ने व्यवस्था गरेको छ । दफा ५० को ‘ख’ मा वनमा आगलागी वा कसूर गर्नेलाई विगो असुल गरी रु. दश हजारसम्म जरिवना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । तराई भन्दा पहाडी क्षेत्रमा वनमा हुने आगलागी नियन्त्रण गर्न गाह्रो हुने गरेको छ । पहाडी क्षेत्रमा धेरै भिरालो जग्गा हुनु र तलबाट लागेको आगो माथितिर जाने हुँदा निभाउनलाई कठिन हुने गरेको छ । त्यसैले नेपाल हरियो वनले विश्वमा परिचित छ । यो परिचयलाई कायम राख्नको लागि आगलागी हुन दिनु हुँदैन । यसप्रति हामी सबै सचेत हुनुपर्छ ।
Previous Articleमालिका गाउँपालिकामा कांग्रेसबाट मगर भीड्ने
Next Article प्रभु बैंकको रक्तदान