तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न दिन रात नभनी काम गरिहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी गंगा सुवेदीले बताए। अहिलेसम्म राजनीतिक दलहरुसँग छलफल तथा सुझाव संकलन, मतदातालाई स्थानीय तह निर्वाचनबारे बुझाउन क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम, कर्मचारी अभिमूखीकरण, नमुना मतदान लगायतका कार्यक्रम भइसकेका छन्। अहिले स्थानीय तह निर्वाचनका लागि आवश्यक कर्मचारीको नामावली संकलन, मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम भइरहेको छ।
प्रमुख जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णलाई प्रमुख निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको छ। सदरमुकामसहित जिल्लामा उनी प्रमुख निर्वाचन अधिकृतको निर्वाचनमा रहनेछन्।
यस्तै कास्कीका रुपा गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ सापकोटालाई नियुक्त गरिएको छ। मादी गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकृत गुरुदत्त ढकाल, माछापुच्छ्रे गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गंगाप्रसाद पौडेल र अन्नपूर्ण गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय पोखराका उपन्यायाधिवक्ता योगरान ढकाललाई निर्वाचन अधिकृतको रुपमा नियुक्त भएका छन्।
नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही चैत ३० र ३१ गते स्थानीय तह निर्वाचन सम्बन्धी तालिम दिइने छ। वैशाख २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ। पोखरा नगर प्रशिक्षण केन्द्रमा अधिकृतको कार्यालय स्थापना गर्न प्रस्ताव तथा छलफल भएको छ। अन्य निर्वाचन अधिकृतको भने वैशाख १२ गतेमात्रै कार्यालय स्थापना हुने भएको छ। मुख्य निर्वाचन अधिकृत चुनिएसँगै चुनावी रौनक पनि बढेको छ।
कास्कीमा १ सय ५० मतदानस्थल
कास्कीमा १ सय ५० मतदानस्थल तोकिइसकेको छ भने करिब ३ सय मतदान केन्द्र रहने पक्काजस्तै भएको छ। नयाँ संरचना अनुसार पोखरा लेखनाथ महानगरपालिकामा ९८ वटा मतदानस्थल छन्। यस्तै मादी गाउँपालिकामा १७, अन्नपूर्णमा १५, माछापुच्छ्रेमा १२ र रुपा गाउँपालिकामा ८ वटा मतदानस्थल तोकिएको छ। १ सय ५० मतदानस्थल अन्तर्गत ३ सय मतदान केन्द्र रहने छन्।
‘अहिले ती मतदान स्थल र केन्द्रमा आवश्यक कर्मचारीको नामावली संकलन भइरहेको छ। केही दिनमै त्यसको टुंगो लाग्नेछ,’ निर्वाचन अधिकारी सुवेदीले भने, ‘एक मतदान केन्द्रमा कम्तीमा ५ कर्मचारी र ३ स्वयंसेवक रहनेछन्।’ मतदान केन्द्रमा १ मतदान अधिकृत, २ सहायक मतदान अधिकृत, १ सहयोगी कर्मचारी रहने प्रावधान अनुसार नामावली संकलन गर्ने काम भइरहेको हो। केन्द्रबाटै अन्य ३ जना स्वयंसेवक छानिने छन्।
मतदाता शिक्षा लिएर ३ सय गाउँ पस्दैछन्
वैशाख १ गते गाउँगाउँमा मतदाता शिक्षा लिएर जानका लागि अहिले ३ सय जनालाई तयार पार्ने काम निर्वाचन आयोगले गरिरहेको छ। आइतबारदेखि मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण सुरु भएको हो। सोमबारसम्म ३५ जनाले तालिम लिइसकेका छन् भने बुधबारसम्म थप ४६ जना प्रशिक्षक तयार हुनेछन्। यो महिनाभित्रै ३ सय जनालाई तालिम दिएर वैशाख १ गतेदेखि मतदातालाई शिक्षा दिन उनीहरु टोल तथा गाउँगाउँ पस्नेछन्।
थपिए २७ हजार मतदाता
निर्वाचन तयारीसँगै कास्कीको अन्तिम मतदाता नामावली पनि आइसकेको छ। कुन गाउँपालिका र कुन मतदानस्थलबाट कतिले मतदान दिँदैछन् भन्ने एकिन नामावली संकलन गर्ने काम भइरहेको भए पनि कास्कीको एकमुस्ट नामावली आएको हो। कास्कीमा यसपाली २ लाख २४ हजार ८ सय ११ मतदाता छन्। जसमा ५३ प्रतिशत छन् अर्थात१ लाख २० हजार २ सय ३० महिला मतदाता छन्। १ लाख ४ हजार ५ सय ७६ पुरुष मतदाता छन् भने ५ जना तेस्रो लिंगीले मतदान गर्दैछन्।
कास्कीमा २०७० सालको निर्वाचनमाभन्दा यसपटक २७ हजार १ सय ४३ मतदाता बढेका छन्। २०२० सालको संविधान सभाको निर्वाचनमा कास्कीमा १ लाख ७ हजार ३ सय १० महिला र ९० हजार ३ सय ३४ पुरुष गरी जम्मा १ लाख ९७ हजार ६ सय ६८ मतदाता थिए। अन्य मतदाता बढे पनि तेस्रोलिंगी मतदाता भने ५ जना नै रहेका छन्।