बागलुङ, २३ चैत
हिँजो राति बागलुङ बजार लोकतान्त्रिक चोकमा रहेको एक घरमा आगलागी हुँदा लाखौ रुपयाँको नोक्सानी भएको छ । समय मै आगो नियन्त्रणमा आउनाले थप क्षती हुनबाट बागलुङ बजार जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । बागलुङ नगरपालिका- ३ खहरे निवासी लालबहादुर केसीको घरमा चैत २२ गते राती करिब १० बजेको समयमा आगलागी भएको हो ।
आगलागी भएको सो घरको माथिल्लो तलामा गल्कोट नगरपालिका मल्मका राजु थापाको माछापुच्छे« होटल छ भने तल सटरमा बागलुङ नगरपालिका २ कै भरत श्रेष्ठको धौलागिरि फार्मेसी र बागलुङ नगरपालिका –६ लहरेपिपलका सुरज श्रेष्ठकोे सुदर्शन इलेक्ट्रोनिक्स (मोबाइल) पसल रहेको छ ।
श्रोतका अनुसार राति सवा १० बजेको समयमा होटलमा बसेका पाहुनाहरुले आगोलागेको गन्ध पाएलगत्तै घरबाट बाहिर निस्केका थिए भने मोबाइल पसलबाट धुवाँ निस्केको देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
आगलागीबाट कुनै मानवीय क्षती भएको छैन । धौलागिरी फार्मेसी र सुदर्शन मोबाईल पसलको सबै सामान जलेर नष्ट भएको छ । आगलागीबाट झण्डै १ करोडको हाराहारीमा क्षती भएका प्रारम्भिक अनुमान गरिएको छ ।
होटलमा बसेका पाहुनाहरु, स्थानीय वासिन्दा र प्रहरीले दमकलको सहयोगमा समयमै आगलागी नियन्त्रणमा लिएकाले ठुलो क्षती हुनबाट बचेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
आगलागीको कारण विद्युत सट बताईएको छ । प्रहरीले घटनाको छानविन गरिरहेको छ ।