बागलुङ, २२ चैत – उपप्रधान एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले आगामी बजेटले सबै विकास बजेटलाई गाउँ र नगरपालिकामा पठाउने बताएका छन् । संघियगणतन्त्रको संविधान कार्यान्वयनको चरणमा रहेकाले पहिलोपटक गाउँतहमै सबै बजेट निकासा हुनेगरी बजेट आउने बताएका हुन् । सोमबार जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री थापाले नयाँ व्यवस्थापनमा जाँदाको अन्यौलता भएपनि केन्द्रको अधिकार गाउँतहमै लैजाने गरी सबै नीति र कार्यक्रम समेत आउने स्पष्ट पारेका हुन् । ‘आगामी १० बर्षभित्र सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा आमुल परिवर्तन भएको देखाउन सकिने हुनेछ’ थापाले भने, ‘परिवर्तित अवस्थामा आउने केही अन्यौलतालाई सहकार्य मार्फत सफलतामा लैजानुपर्छ ।’ उनले उच्च मनोबलका साथ काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिएका थिए । उनले आर्थिक विकास र समृद्धिको बाटोमा ठूलै हलचल आउने पनि दावी गरे । साथै जिल्ला विकास समितिहरु समन्वय समिति भए जस्तै हरेक जिल्ला स्तरका कार्यालयहरु पनि समन्वयकारी नै हुने उनले जानकारी दिए । ‘जिविस पहिलो पटक कार्यान्वयनमा आएको छ, भोलीका दिनमा अरु कार्यालयहरुको पनि फेजआउट शुरु हुनेछ’ थापाले भने, ‘कुन कर्यालय पहिला फेजआउट होला भन्ने मात्र कुरा हो, समय मिलाएर सबै काम समन्वयकारीमा परिणत भएर गाउँ र नगरमा जिम्मेवारी सर्नेछ ।’ उनले सबै कर्मचारीलाई नगर र गाउँपालिकाको मातहतमै रहेर काम गर्ने तयारी गर्न पनि आग्रह गरे । मन्त्री थापाले स्थानीय तहमा हाल कर्मचारीको धेरै दरवन्दी खाली रहेको भन्दै केही समयमै उनीहरुको व्यवस्थापन गर्ने तयारी भएको पनि बताए । साथै आगामी दिनमा केन्द्रीय तहको लोकसेवा आयोग मात्र रहने वा स्थानीय तह सम्म रहने भन्ने बहस भैरहेको पनि बताए । धेरैजसोको केन्द्र र प्रदेशमा रहने आयोगले कर्मचारी व्यवस्थापन गरेर स्थानीय तहमा पनि पठाउने सुझाव दिएको उनले खुलासा गरे । बैसाख ३१ गते स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गर्दै थापाले २० बर्ष पछि पहिलो पटक जनताका प्रतिनिधि आउन लागेकोमा खुसी पनि व्यक्त गरे । ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउने काममा सबैको साझा जिम्मेवारी छ’ उनले भने, ‘यो कामका लागि सुरक्षा निकाय जस्तै सबै कर्मचारीले पनि सकारात्मक भूमिका खेल्नुपर्छ ।’ जनप्रतिनिधि आएपछि उत्साहका साथ आफ्नो गाउँ र नगरको विकासमा आँफैले हातेमालो गर्न पाउने पनि बताए । उनले जनताको शासन जनताले गर्ने, आफ्नो गाउँको विकास आँफै गर्न पाउने अधिकार सुरक्षित भएको अनुभव जनतालाई दिलाउनुपर्नेमा पनि जोड दिएका थिए । हाल केही केन्द्रहरुको लागि देखिएको विवाद नयाँ जनप्रतिनिधिबाट टुंग्याउने सहमति भएको बताए । हाल कायम भएको केन्द्रमा कुरा नमिलेको भएमा जनप्रतिनिधिले गर्ने निर्णयनै स्विकार हुनेगरी केन्द्र सरकारले अधिकार दिएकोले विवाद नगरी निर्वाचनमा होमिन उनले आग्रह गरे । मधेसी लगायतका केही दललाई मनाएर निर्वाचनमा ल्याउने तयारी भएको भन्दै उनले निर्वाचन भने नरोकिने दावी गरे ।
सँस्कृति संरक्षण साझा दायित्व– उपप्रम थापा
उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको बताएका छन् । ऐतिहासिक चैत्राष्टमी मेलालाई सोमबार उद्घाटन गर्दै उनले पर्व, संस्कृति र रीतिरिवाज मुलुकको पहिचान भएको उल्लेख गरे । ‘नेपाल विविधतापूर्ण देश हो, विश्वमै हाम्रो अलग पहिचान छ’ उपप्रम थापाले भने ‘कला, संस्कृति र धरोहरहरुको संरक्षण गर्नु सबैको साझा दायित्व हो ।’ चाडपर्व र सांस्कृतिक उत्सवले नेपालीहरुबीचमा आपसी सद्भाव, भाइचारा र एकता सिर्जना गर्ने उनको भनाई छ । परिवर्तनको नाममा पुराना मुल्य, मान्यता र आदर्शलाई कसैले पनि कुल्चन नहुने उपप्रम थापाले बताए । मेला, महोत्सवले स्थानीय कला, संस्कृतिको संरक्षण र व्यापार प्रवद्र्धनमा ठूलो टेवा पु¥याउने उनको भनाई छ । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रम थापाले धवलागिरि अञ्चल स्तरीय कार्यकर्ता भेलालाई समेत सम्बोधन गरे । सो अवसरमा उनले नजिकिएको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अध्यक्ष थापाले राप्रपाको लागि स्थानीय तहको निर्वाचन जीवनमरणको प्रश्न जस्तो भएको उल्लेख गरे । ‘हाम्रा निमित्त यो निर्वाचन अतिनै महत्वपूर्ण छ, पार्टीलाई जुनसुकै हालतमा सफलता दिलाउनु पर्छ’ अध्यक्ष थापाले भने । उनले मुलुकलाई अहिलेको सङ्कटबाट मुक्त गर्न राप्रपाले मात्र सक्ने जिकिर गरे । पार्टीका नीति, कार्यक्रम जनतामाझ बुझाउँदै निर्वाचनबाट पहिलो पार्टी बनाउने अभियानमा आफूहरु लागिपरेको उनको भनाई छ । उप्रम थापाले मुलुकलाई अस्थिर बनाइराख्न चाहने तत्वका विरुद्ध डटेर लड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
स्थानिय कर्मचारीलाई निजामतिमै मिलाउने तयारी
उपप्रधान एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायका कर्मचारीलाई पनि निजामती सेवाका कर्मचारी सहर सेवा सुविधा दिएर पदस्थापन गरिने संकेत गरेका छन् । सोमबार जिविसमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले कुनै कर्मचारीले गुनासो र चिन्ता लिन नपर्नेगरी पदस्थापन गरिने बताए । ‘तपाईहरु चिन्ता नमानिकन काम गर्नुहोस्, सरकारी सेवामा रहेकालाई सुरक्षा र वृत्ति विकासमा घाटा नपर्नेगरी व्यवस्थापन गरिनेछ’ थापाले भने, ‘सरकारी सेवा गरेका कर्मचारीले अन्यौल बन्नुनपर्ने गरी व्यवस्थापनको गृहकार्य भैरहेको छ ।’ स्थानीय निकायमा कार्यरत कर्मचारीको जागिर रहने नरहने भन्ने विषयमा बहस र छलफल चहिरहेको थियो । बरु उनले हाल भैरहेको जिविसको काममा बेरुजु घटाउने र पूजिगत बजेटको
खर्च गर्ने काममा निरन्तर खट्न पनि उनले आग्रह गरे । देशको अवस्थाले पूजिगत बजेट घटिरहेकोमा उनले पनि चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले जिल्लाको विकास, कर्मचारी व्यवस्था लगायतको बारेमा प्रस्तुतीकरण गरेका थिए । जिल्ला समन्वय समिति र प्राविधिक कार्यालयमा दर्जनबढी अधिकृत, सहायक स्तर र सहयोगीको पद खाली रहेको बताए । उक्त अवसरमा प्रजिअ भागिरथ पाण्डेयले निर्वाचनको तयारी पूर्ण रुपमा भैरहेको जानकारी दिए । साथै जिल्लामा १ सय ३ वटा मतदान स्थल तोकिएको, विप्लव समूहको माओवादीले निर्वाचन विरोधी केही गतिविधि गरेको स्थानमा सुरक्षाकर्मीको व्यवस्थापन गरेर निर्वाचनलाई सहज बनाउन लागेको पनि बताए ।
Previous Articleसंविधान कार्यान्वयन गर्न अलमल नगरौ – महासचिव पोखरेल
Next Article चिनिया राष्ट्रपतिले ट्रम्पलाई भेट्दै