बागलुङ, २२ चैत – नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संविधान निर्माण गर्ने दलहरु नै कार्यान्वयनको विषयमा अलमलिएको बताएका छन् ।
संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलोका रुपमा रहेको निर्वाचन गर्ने विषयमा संविधान बनाउने दलहरु अलमल देखिएकाले एमालेले त्यसका बारेमा जनतालाई सचेत बनाउनु पर्नेमा जोड दिए । नेकपा एमाले बागलुङको तेस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै पोखरेलले एमाले ठुलो दल बनाउने भन्दा पनि मुलुक समृद्ध बनाउने र राष्ट्रियताको संरक्षणमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन दिए ।
सत्तारुढ दलहरु र मधेसी मोर्चाले संविधान संशोधनको नाममा निर्वाचन अलमलाउने काममा लागेको आरोप लगाउदै उनले संविधान संशोधन प्रस्तावको विरोध गर्नुका चार कारण खुलाए । ‘पहिलो यो राष्ट्रिय हित विपरित छ, दोस्रो सामाजिक हितमा टिकेको हाम्रो संरचना विपरित छ, तेस्रो जनभावना विपरित छ र चौथो संविधानले निर्दिष्ट गरेका विषयभन्दा फरक छ’ –पोखरेलले भने । उनले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि संशोधन गर्नुपर्ने भन्ने सत्तारुढ दलहरुको भनाईको खण्डन गर्दै संसारमा संविधान सर्वस्वीकार्य कहि नभएको र नेपालमा पनि हुन नसक्ने धारणा राखे ।
‘संविधान तत्कालिन राजनीतिक शक्ति सन्तुलनको दस्तावेज हो, राजनीतिक शक्ति सन्तुलन परिवर्तन हुदाँसाथ यसलाई परिवर्तन गर्न सकिन्छ, गतिशिल दस्तावेज भएकोले कार्यान्वयनमा समस्या आए परिवर्तन संभव छ, कार्यान्वयन नै नगरी संशोधन गर्ने कुरा एमालेले किमार्थ मान्दैन’ –महासचिव पोखरेलले भने । एमालेको नवौ राष्ट्रिय महाधिवेशनले राजनीतिक अधिकारको लडाई समाप्त भई आर्थिक समृद्धितर्फ अग्रसर हुने कुरालाई जोड दिएको स्मरण गराउदै उनले समृद्धिको खाँका बनाएर अभियानमा लाग्न आग्रह गरे । समृद्धिको यात्रा तय गर्दा पनि निश्चित प्रक्रियामा रहेर काम गर्न आग्रह गर्दै उनले राज्यको कानुन उल्लघंन हुने गरी व्यवसाय नगर्न, समाजको अग्रगामी मूल्य मान्यताको विरुद्ध हुनेगरी काम नगर्न, कम्युनिष्ट आचरणसंग मेल नखाने काम नगर्न तथा राज्यको कानुन अनुसार कर तिर्ने खालका काम गर्न कार्यकर्ताहरुलाई सुझाव दिए ।
कार्यकर्ताहरुलाई वैचारिक रुपमा स्पष्ट हुन, सांगठनिक रुपमा गतिशिल हुन निर्देशन दिदै भने– ‘जनताको बहुदलीय जनवादका बारेमा स्पष्ट दृष्टिकोण जनताका बीचमा लैजानुस् ।’
मुलुकको समग्र परिवर्तनका लागि गतिशिल विचार र दृढ अडान आवश्यक पर्ने भन्दै उनले यतिबेला जनताको बहुदलीय जनवाद जस्तो देश परिवर्तनको स्पष्ट सिद्धान्त र मुलुक र जनताको हितमा दृढ उभिने नेतृत्वका कारण एमाले जनताका बीचमा लोकप्रिय भएको दावी गरे । बैठकले बागलुङमा निर्वाचन परिचालन लगायत समसामयिक विषयमा निर्णय गरेको नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।
Previous Article२२ चैत २०७३, ढोरपाटन दैनिक
Next Article बजेट अब सोझै गाउँमाः उपप्रम थापा