काठमाडौं, २० चैत – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले आफ्नो समूहको प्यानल घोषणा गरेका छन्। प्रधानले राजधानीमा प्यालनको घोषणा गरेका हुन्।
प्रधानले आफ्नो प्यानलबा६ जिल्ला नगर उपाध्यक्षमा म्याग्दीका प्रमोद श्रेष्ठलाई अघि सारेका छन्। त्यसैगरी, वस्तुगततर्फको उपाध्यक्षमा शंकर पाण्डे उठ्ने भएका छन्। तर, प्रधानले एसोसिएट पदका उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाललाई नै सहयोग गर्ने बताएका छन्।
राजधानीमा विभिन्न वस्तुगत तथा जिल्ला-नगरका उद्योगी व्यवासयी बीच प्रधानले उम्मेदवारी दिएका हुन्।
विधान संशोधनको विपक्षमा रहेका पूर्वअध्यक्षको समर्थन लिएर प्रधान प्यानल चुनावी मैदानमा उत्रिदै छ। अहिले महासंघमा विधान संशोधन गर्ने पक्ष र विपक्षबीचमा चुनाव हुन लागेको देखिएको छ। पूर्वअध्यक्ष कुशकुमार जोशी, प्रदीपकुमार श्रेष्ठ, सुरज वैद्यलगायतको समर्थन प्रधान प्यानललाई रहेको छ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले राज्यबाट निजी क्षेत्रलाई ‘कर असुल्ने’ माध्यमको रुपमा मात्र व्यवहार नगरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने साझेदारको रुपमा हेरिनु पर्ने बताए। यसका लागि महासंघबाट आगामी दिनमा उद्योगी व्यवसायीहरुको सम्मानको रक्षा गर्ने तथा उनीहरुको वैधानिक हक अधिकारको सुनिश्चितता गर्ने ठोस प्रयासहरुको थालनी गरिने उनको भनाइ छ।
मुलुकको राजनीतिक अस्थितरता, नाकावन्दी, वन्द हडताल, चन्दा आतंक तथा अन्य विषम परिस्थितीका कारणले उद्योगी, व्यवसायी र लगानीकर्ताहरुको मनोवाल कमजोर र हतोत्साही भइरहेको बताए। यसका लागि सरकार, श्रम संगठन तथा राजनीतिक दलसँगको सहकार्यबाट लगानीको संरक्षण, उद्योग व्यवसायको सुरक्षा तथा बन्द हडतालबाट उद्योग व्यवसाय क्षेत्रलाई बचाई उद्योगी व्यवसायीहरुको मनोवल उच्च पार्न सक्रिय हुने उनको भनाइ छ।
जिल्ला नगरका उपाध्यक्षका प्रत्यासी प्रमोद श्रेष्ठले बजारमुखी खुला अर्थतन्त्रमा सशक्त निजी क्षेत्र अपरिहार्य हुने बताए। नेपालको निजी क्षेत्रलाई सशक्त र सक्रिय बनाउन महासंघले प्रमुख भूमिका खेल्ने उनको भनाइ छ। आगामी दिनहरुमा महासंघले यसतर्फ सक्रियता पूर्वक काम गरी देशको आर्थिक उन्नतिको मार्गमा योगदान दिने अग्रणी संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सशक्त भूमिका निर्वाह गरिनेछ।
महासंघको संगठन सुदृढ, सक्रिय तथा व्यवस्थापन चुस्त र पेशागत हुनुपर्छ, सवै प्रकारका सदस्यहरुको महासंघ भित्र समान र न्यायोचित पहुँच र प्रतिनिधित्व हुनु पर्दछ भन्ने मान्यता राख्दै अगाडी बढ्ने वस्तुगततर्फका उपाध्यक्षका प्रत्यासी शंकर पाण्डेले जानकारी दिए। महासंघको संस्थागत संरचनालाई समयानुकूल, मर्यादित र प्रभावकारी बनाउन के गर्नु आवश्यक छ भन्ने दृष्ट्रिकोणबाट विशेषज्ञहरुको टोली बनाई अध्ययन-अनुसन्धान गराउन पहल गरिने उनको भनाइ छ।