बागलुङ, चैत – बागलुङ नगरपालिकामा देखिएको बिद्यमान समस्या र विवाद अन्त्यका लागि सरोकारवालाले सबैको सामुहिक पहल, सहयोग र समन्वय आवश्यकता औल्याएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र जवाफदेहिताका लागि असल छिमेकी बागलुङको आयोजनामा शनिवार बागलुङ बजारमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका अतिथी वत्ता र सहभागीले सबै भन्दा पहिले नगरपालिकालाई थप गतिशिल र सेवालाई प्रभावकारी बनाउन कार्यालय भित्रै कर्मचारी बिच देखिएको मत भिन्नतालाई हल गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागीले नगरपालिकामा घर जग्गा र सडकका बिषयमा कर्मचारी अनुसारको मापदण्ड कायय भएको, सेवाग्राही प्रति समान व्यवहार नगरेको, घर बहाल करमा ठुलो छली भएको, नगरपालिकामा कार्यरत रहेका नगर प्रहरीले कुनै काम नगरि तलव खाएको, सरसफाई कर अझै बैज्ञानिक नभएको, सौर्य वत्ति नगरका सबै ठाउँमा पुग्न नसकेको, लगायतका बिषयमा प्रश्न, धारणा तथा सुझाव राखेका थिए ।
सहभागीको प्रश्नको जवाफ दिदै बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत सुवासकुमार लामिछानेले नगरपालिकाको बिद्यमान समस्या नियम कानुन भित्र रहेर तत्काल समाधान खोजिने प्रतिवद्धता व्यक्त गरे । नयाँ संरचना अनुसार नगरपालिकाको कार्यक्षेत्र र जनसंख्या पनि थपिएकाले चुनौति थपिएको भन्दै उनले नगरबासीको साथ सहयोगमा नमुना नगरपालिका बनाउन आफ्नो तर्फबाट इमान्दार प्रयास गर्ने बताए । कार्यक्रममा बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले नगरपालिकामा कर्मचारीहरु बिचनै मुख्य समस्या देखिएकाले त्यसलाई तत्काल समाधान गरेर अघि बढ्न आग्रह गरे ।
नगरपालिकालाई मात्र दोष दिएर मात्र नहुने भन्दै प्रजिअ पाण्डेयले बिद्यमान वेथिति नियन्त्रणका लागि राजनीतिक दल र नगरबासी समेत जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताए । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरी अर्याल, महासचिव पद्मिनी प्रधानाङ्ग, नागरिक समाजका संयोजकका काजीगाउँले श्रेष्ठ, नेपाल कांग्रेसका पूर्व जिल्ला उपसभापति जगदिशचन्द्र उपाध्याय, राष्ट्रिय जनमोर्चाका धर्म कुवर, बागलुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले नगरपालिको सेवा प्रवाह र बिबिध बिषयमा बालेका थिए ।
सार्वजनिक सुनुवाईमा नागरिकका तर्फबाट तुलसीराम पाण्डे, हरि सुुवेदी, रामप्रसाद घिमिरे, रामकाजी भण्डारी, मनिष रायमाझी, शोभा काउचा, परशुनारायण बोहरा, अर्जुन ढकाल, केशवराज पराजुली, भोजराज रेग्मी लगायतले प्रश्न, धारणा र सुझाव राखेका थिए ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सहजीकरण गरेको कार्यक्रमको जवाफदेहितका लागि असल छिमेकी बागलुङका अध्यक्ष राम शर्माले धन्यवाद मन्तव्य सहित समापन गरे ।