तीते करेली
कृष्णराज शर्मा
साँझ साढेसात बजेको धौलागिरी टिभीको समाचार हेर्दै सुन्दै थिएँ । संगसंगै खाना पनि खाईरहेको थिएँ । टिभी हेर्दाहेर्दै म वाल्ल परें । मेरो मुखको चपाउँदा चपाउँदैको गाँस रोक्न पुगें यौटा समाचारले । टिभीले के समाचार दियो यस्तो ! म झसङ्ग भएँ । समाचार वाचिका उषाको आवाज थियो । कोकिल कण्ठले बडो मिठो र पवित्र समाचार सुनाईन् उषाले । समाचारमा बागलुङमा “मानव सेवा आश्रम” खुलेको थाहा पाएँ । संगसंगै सहयोगीले धुमधामले विभिन्न सामग्री सहयोग गरेको देखें । त्याहाँ उपस्थित सबैमा खुशी छाएको थियो । को सहयोगी को सञ्चालक मैले खुट्याउन सकिन । जरूरी पनि भएन । मुहारहरू चम्किला, गम्किला र धम्किला थिए । सबै उत्साही थिए । सबै चिने जानेका देखेर मज्जा आयो । बहुत पूण्य काम भएछ । टिभीको समाचार हेर्दा झन मज्जा आयो । स्यावास् ! क्या लोभलाग्दो सामाजिक काम गर्यो बागलुङे समाजसेवी समूहले भन्दै मनमनै फुरूङ्ग भएँ । बधाई दिएँ मनमनै । एकछिन पछि म आत्तिएँ ! यस्तो महान पुण्यकर्म गर्दा विचार पुर्याएर गरे कि पुर्याएनन् भन्ने मैलाई चिन्ता लाग्यो । मेरो टाउको आँफै झड्काएँ । झननन्न भएँ । म टोलाएँ ! बधाई दिंदा मैले नै गल्ति त गरिन भन्दै म मत्थर भएँ । यसरी बधाई दिंदा मै पो दोषभागी त हुन्न भन्ने लाग्यो । सातबर्ष पहिलाको कथा संझें । यही ठाउँ हो । यही जमीन हो । जहाँ यौटा उत्कृष्ट कार्यको थालनी हुँदै थियो । मानव सेवाको महत्पूर्ण पक्ष स्वास्थ्य सेवा दिन यहाँ अस्पताल निर्माण भैरहेको थियो । सयौं व्यक्तिले साढे बाह्रहजारका दरले पैसा उठाएका थिए । यही दरले पैसा उठाउँदा निश्चित सदस्य संख्या पुगेपछि सदस्य बनाउनेले सित्तैमा मोटर साईकिल कार पाईने बताईन्थ्यो । महिना महिनामा लाख लाखका चेक घरमै आउने सुनिन्थ्यो । देशैभरी यो कृया चले६स्को थियो । यो कामका प्रोत्साहनका लागि राष्ट्रपति प्रधानमन्त्री सभामुख मन्त्रीहरू साँसदहरूले धमाधम धमाकेदार शुभकामना पनि दिएकै हुन् । यस्तो हुँदै गर्दा यो कार्य गैह्रकानुनी भएको भन्दै सम्पूर्ण गतिबिधि माथि सरकारले रोक लगायो । छोटो समयमै चर्चाको उच्च शीखरमा पुगेको युनिटी लाईफ तत्कालिन सरकारको एउटै निर्णयले गर्ल्याम गुर्लुम ढल्यो । देशैभरीका यनिटी लाईफका सामाजिक गतिबिधि ठप्प भए । यसका संचालक सदस्यहरू भागाभाग भए । धेरै गिरफ्तार भए । कोही अदालती तारेखमा धाईरहे । यद्दपी युनिटी लाईफको मुद्दा अदालतबाट किनारा लाग्नै बाँकी छ । युनिटी लाईफले सफाई पाएको पनि देखिन्न । सरकारले नियन्त्रणमा लिएका उसका सम्पत्तिको पूर्ण रेखदेख हुन सकेको पनि पाईंदैन । भएन, अहिले आएर यही सम्पत्ति माथी महान पूण्यकार्यको बहानामा कसैले भोगचलन गर्न लागेको टिभी समाचारबाट थाहा पाएँ । त्यस्तो संपत्तिमा यसो गर्न पाईने हो कि होईन ? मेरो जिज्ञासु स्वभावले सोध्यो । यसको जिम्मा लिने जिम्मेवार निकाय कुन हो ? मेरो जिज्ञासाले मात्र होईन अहिले बागलुङ बजारमा सर्बत्र यीनै प्रश्न बाहिएका छन् । यसको जवाफ दिने कसले ? कि कानुन बमोजिम भैजानु पर्यो, होईन भने युनिटी लाईफको मुद्दा अदालतमा विचाराधिन हुँदाहुँदै अरू कसैले राज्य नियन्त्रित सम्पत्ति भोग चलन गर्न कसरी मिल्छ र ? संबन्धित निकायले यो सम्पत्तिको सुरक्षा र संरक्षण पो गर्नु पर्दछ । कसैलाई हक भोग गर्न दिनु भनेको ठाडै अदालत प्रतिको अबज्ञा हुनजान्छ कि जाँदैन ? मनमा कुरा खेल्दै फेरी टोलाएछु । “ओ ! बुढा के भो ? “बुढीले झसंग पारिन् । फेरी टाउको हल्लाएँ । टोलाएको म टाँठो हुँदै बुढीलाई भनें– “हँ केही पनि भएको छैन । “अलिकति भात थपम्, खानुहुन्छ ? सोध्दै थिईन् ।” थपिन “मलाई पुग्यो” भनें उनी गईन् । खाँदा खाँदै फेरी मनमा कुरा खेले ।
के यो स्थलबाट मानव सेवारूपी अस्पताल खोलेर ‘पाप’ गरेको थियो युनिटी लाईफले ? यसै गर्नु थियो भने युनिटीलाई किन खेदेको ? उसैको “अबैध” सम्पत्तिमा उस्तै कार्य किन कसरी ‘बैध’ हुँदैछ ? गरिंदैछ ? त्यो पाप थियो भने यो पुण्य कसरी भयो ? राज्यले त्यही पाप रोक्न यो स्थललाई बन्दस्ेिज लगायो । सुन्दा सुन्दै के पनि सुनेको हुँ भने भएको त्यही ‘पापी’ अस्पताल भवन नियन्त्रणमा लिएर अदालती प्रकृयामा स्थानीय प्रशासनले पठाएको हो । प्रशासनले छापा मारेर शीलबन्दी गर्दै ल्हाहा छाप लगाएर उक्त सम्पत्ति नियन्त्रणमा लिएको दुनियाँलाई जगजाहेर छ । त्यो शीलबन्दी तोड्दा मुचुल्का खडा भयो कि त्यत्तिकै चोरी भयो ? चोरी भएका भए कारवाहीमा को को परे ? सर्वत्र चासो छ । शीलबन्दी ल्हाहाछाप तोडिएर लाखौंका सामान गायब भएका छन् । शीलबन्दी तोडिएको संवन्धित निकायले चालै पाएन कि ? मोटा बाहेक मसीना सबै सामान चोरी भएछन् । राज्यको सम्पत्तिका बारे सरोकारवालाको ध्यानै गएन कि ? अबैध सिरक डसना उद्योग पनि लामै समय चलेछन् । यहाँ भित्रका लाखौंका चिकित्सकीय सामग्री कसले लग्यो शीलबन्दी गर्नेहरू बेखबर भए । लानेले लाजै नमानी मनमर्जी लगे । छिमेकीहरू भन्छन्– यहाँ जसले हान्यो उसले जान्यो । नेपालको कानुन पशुपतिनाथले जानुन् । सबैले देखेर पनि कसैले देखेन । छिमेकीले अत्तोपत्तो पाएनन् । चोरहरू आकाशमार्ग बाट आए,सामान टिपेर आकाश मार्गै तिर भागे । बागलुङका सीसी केमरालाई आकाशतिर फर्काईएको पनि छैन । केमराले पनि देख्न सकेनन् । बित्याँसै पारे बाठा चोरहरूले । यतिबेला सम्म खाना खाईवरी हातमुख धोएर गम्छाले मुख पुछेर आउँदा टिभीमा अर्को समाचार आउँदै रै’छ । फेरी एकटकले यो समाचार हेरें ।
बागलुङमा जन्मे हुर्के बढेर पढेर नेपाल सरकारको महान्याधिवक्ता बनेका रमण श्रेष्ठको समाचार हेरें । उनी मेरा समकालिन हुन् । एसएलसी दिनु अघि हामी संगै ट्यूशन पढेका हौं । समाचारले देखाएको कार्यक्रममा म पनि सहभागी थिएँ । स्थानीय नेवार समुदायले उनको सम्मानमा स्थानीय बुद्ध बिहारमा ‘स्वागत तथा सम्मान कार्यक्रम’ राखेको थियो । काजी गाउँले गुरूको निम्ता गोविन्द वझाले फोनमा बताएका थिए । र म पुगेको हुँ । सामुदायिक हिसाबले मेरो समुदायबाट फ्लोरमा मै मात्र हुँदो हुँ । कार्यक्रम वजनदार थियो । बागलुङका पुराना साहित्यकार ‘प्राज्ञ’ प्रेम छोटालाई आँफु अल्ली बढी नै बोल्छु भन्ने आत्मबोध रहेछ । रमणको अतिरञ्जना नगरी बोल्छु तर थोरै बढी बोलिहाले क्षमा दिनुहोला भन्दै जीवनी लगभग छोटकरी मै टुङ्गाए । पट्यार लागेन सुन्दा । शायद, संक्षेपमा कार्यक्रम समापन भएको पनि यही थियो होला बागलुङमा । रमणले पदीय जिम्मेवारी भित्रै रहेर देशका बेथितीका बारेमा गम्भीर कुरा त्यहाँ बताए । उनले भनेका चार पाँचवटा कुरा दिमागमा टिपेर आएको हुँ । ति मध्ये टिभी समाचारले यौटामात्र कुरा उल्लेख गर्यो । सरकारी वकिल पुलिस र न्यायधिशले एकअर्कालाई दोष दिने कुरामात्र बतायो । उनले त्याहाँ चारवटा थप महत्वपूर्ण कुरा औंल्याएका थिए । १. आईजीपी प्रकरण नभएको भए एसएसपी मात्र होईन डिआईजी समेत गिरफ्तार हुनेथिए । २. सुन तस्करी दैनिक भैरहेको छ । तस्करकै बेमेलका कारण मात्र सुन समातिन्छन् । ३.मन्त्रीहरू संवैधानिक सल्लाह गर्दैनन । उनीहरूले अन्तैबाट सल्लाह लिएर निर्णय गर्छन् । ४. मुलुक धेरै बिग्रेको छ । सोचेको भन्दा बढी बिग्रेको छ । आशा छ, काँठेखोलाको पानी र कालीगण्डकीको पानी पिएको बागलुङे ठिटोले राम्रै काम गर्ला ! यि चार कुरा सहीत उनले केही न केही गरेर देखाउने अठोट गरे त्यो कार्यक्रममा रमणले । ठिटोले गरेको अठोट कस्तो रहला भविष्यकै गर्भमा रह्यो । समाचार हेर्दा हेर्दै मनमा विविधखाले तरङ्गहरू दौडिरहेका थिए । एक्कासी फ्याट्ट टिभीमा विज्ञापन आयो । लक्का जवान केटाहरूलाई लाहुरे हुन आऊ भन्दै विज्ञापन बजेपछि टिभीलाई बटार्दिएँ । काठमाण्डौका टिभीका समाचार हेर्नु अगाडी मनमनै मन्थन गरें ।
सरकारका आधिकारिक कानुनी सल्लाहकाले देशको वास्तविक स्थितिका बारेमा खुलेर भनिरहँदा यता मेरो दिमागमा खेलेको टिभीको पहिलो समाचारमा फेरी घोत्लिएँ । अदालतमा विचाराधिन रहेको मुद्दाको विषय बनेको युनिटीको अचल सम्पत्ति माथीको चढाईंले न्यायलयमाथी कत्तिको प्रभाव पार्ला । हेर्दा वैकल्पिक व्यवस्था कतै छैन । तुरून्तै अदालत निर्णयमा पुगेर सम्बन्धितकै कायम भएमा के होला ? हामीले धेरै लगानी गरि सक्यौं आठ दश बर्ष मुद्दा मुल्तविमा राखिदिनु पर्यो भन्न पनि सकिने भयो । यसरी हेर्दा महान्यायधिवक्ताका भनाई संग कत्तिको मेलखान पुग्ला ? उनले दिउँसो बोलेका कुरा फेरी स्मरण भए । साँच्चै मलाई पनि उनले बोलेका कुराले छोयो । मुलुक धेरै बिग्रेको छ । सोचेको भन्दा बढी बिग्रेको छ यसबाट कसरी मुक्त हुने ?
यसै क्रममा अर्को कुरा याद भयो । बागलुङको गोदामघर सरकारी सम्पत्ति हो । यसको भोगचलन र प्रयोग ऊ बेला कककषी सामग्री सँस्थान र नेपाल खाध्य सँस्थानले गर्दै आएका हुन् । समयक्रम्मा यी सँस्था बागलुङबाट हटे । तर उनैको स्वामीत्वमा रहेको सरकारी सम्पत्तिमा गैह्रसरकारी हाली मुहाली छ । ठूलै मिलीभगत भएको आरोप छ । यि सँस्थानका अधिकारीहरूले कदम् कदममा सतर्क रहँदै भाडा उठाएर सँस्थानको ’हीत’ गरेको देखाईराखेका छन् । बागलुङको मुटुमा रहेको यो ठाउँमा यौटा भव्य सभागृह बनाउने सपना सबैले देखे । आ(आफ्ना सरकारका पालामा पार्टीका मुल नेतृत्व समक्ष दह्रो माग राखे पनि कोही कामयावी भएनन् । कर्मचारी वृत्तमा ठोस ईच्छाशक्ति नभएसम्म कुनै कामले पूर्णता पाउने रहेनछ । विद्युतका कुलमान घिसिङको प्राविधिक ज्ञान तथा देश र जनता प्रतिको जिम्मेवारपूर्ण निष्ठाले गर्दा ऊर्जामन्त्री जनार्दन शर्मा सफल बने । त्यस्तै जिल्लामा सरोकारवाला अधिकारीहरूले कुलमानले जस्तै “सिक्वेन्स” निर्माण गरेको भए गोदाम घरमा भव्य सभागृह निर्माण भैसकेको हुनेथियो । यसको सट्टा, झगडिया जग्गामा झगडै श्रृजना गर्ने काम भयो । यसैबीच विच्छ्यौना ताक्ने बेला भएछ । कति एकोहोरिनु भएको “जाम ढिला भैस्कयो” भन्दै बुढीको आवाज म तिर आयो । दौडदै कोठामा पुगें । ‘अल जजीरा’ टिभी खोलें । दक्षिण कोरीयाकी राष्ट्रपति पार्क–ग्योन्–हेलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेर लगेको देखें । त्यस्तो मायालु मुहार शुरीलो बोलीकि धनी हुन् पार्क । कस्तो दया लागेन होला कोरीयनलाई ? प्रश्न उब्जन नपाउँदै जवाफ आयो मनको कुनाबाट– कानुनी राज्यमा मोलाहिजा र दयामायाँ हुँदैन त्यति पनि थाहाछैन ? उल्टै अर्को प्रश्न उठ्यो । मेरो देशमा त्यस्तै भैदिए कस्तो हुँदो हो भन्दै मनमनै कल्पिएँ । त्यसपछि,…. …. सोच्दा सोच्दै फुस्सै निदाएछु !