केही बर्षदेखि नेपाल सरकारले देश विकासको आधार स्तम्भको रुपमा सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आर्थिक विकासका तीनवटा आधारस्तम्भ भन्दै सरकारले सरकारी, नीजि र सहकारी क्षेत्रको भूमिकालाई स्विकार गरेको छ । २०१३ सालमा बखान सहकारीबाट शुरु भएको यो अभियानले अहिले ६० बर्ष पुरा गर्दा राज्यले सहकारी आन्दोलनको आवस्यकता र महत्वलाई बुझेको देखिन्छ । तर सहकारी भित्रै सदाचारितालाई भने संस्थागत गर्न नसकिएको अझै भान भैरहेको छ ।
आम जनतालाई सानो लगानीबाटै धनी बनाउन सकिने महान उद्धेश्यले थालिएको सहकारी आन्दोलनको जीवनमा पनि धेरै उतावचढाव आएका छन् । जसका कारण आम जनतालाई त केही भ्रम भयो नै,राज्य संयन्त्र र स्वयं राज्यसत्ता संचालकहरुलाई पनि सहकारी प्रति पूर्ण विश्वास पलाउन लामो समय लागेको देखिन्छ । किनकी समय समयमा सहकारीको नाउँ दिएर जनताको पैसा संकलन गर्दै ठगेर भाग्ने प्रवृत्ति यो वा त्यो बाहनामा भएका घटनाहरु छन् । विभिन्न खेलको रुपमा आएका ठग प्रवृत्तिले पनि सहकारी आन्दोलनलाईनै बदनाम बनाउने र असर पर्ने गरेको देखियो । तसर्थ राज्यले पत्याउने बन्नका लागि सहकारीक्षेत्रले अझै धेरै काम गरेर देखाउन जरुरी छ । तर पनि केही बर्ष अघिको सरकारले आर्थिक विकासको आधारस्तम्भको रुपमा सहकारीलाई स्विकार गरेको छ । यसलाई राम्रो रुपमा लिन सक्नुपर्छ । साथै सहकारीहरुले पनि राज्यले दिएको सम्मानलाई समयमै बुझेर सोही अनुरुपको व्यवहार प्रर्दशन गर्न जरुरी छ ।
सहकारी खोल्ने न्युनतम आधार तयार भएपछि खोलिहाल्ने, तर स्पष्ट उद्धेश्य नहुने, कार्यदिशा तय नगरीकनै जनताको पैसा संलकन गरेर केवल बचत र ऋण प्रवाहलाई मात्र संचालन गर्दा सहकारीप्रति राज्यले गरेको आसा पुरा हुन सक्दैन । पछिल्लो समयमा त सहकारीमा परिवारवाद हावी भएको पनि देख्न सकिन्छ । आफ्ना नातागोतालाई रोजगारी दिने, पैसाको चलखेल गर्ने क्रियाकलापमा पनि सहकारीका संचालकहरु लागेको देखिन्छ । यद्यपी राज्यले दिन नसकेको हजारौं रोजगारी सहकारीले दिएको कुरालाई भने नकार्न सकिंदैन । त्यस्तै सहकारीमा चर्को व्याजदर लिएको आरोप छ । १५ देखि २१ प्रतिशत सम्म व्याज लिएर सहकारीले विपन्न जनतालाई सास्ती पनि दिएको पाइन्छ । बैंकमा जान नसक्ने जनताका लागि गाउँघरमै सहकारीले ऋण प्रवाह गर्न सक्छ, उत्पादन मुखी काममा लगाउन सक्न भनेर सहकारीको प्रावधान आएपनि महंगो व्याज र धितो राखेरै ऋण पाउने अवस्थाबाट भने गरिव जनताले आस गर्न नसक्ने अवस्था छ । साथै अगुवा संचालकहरु मिलेर खाने, भ्रमण गर्ने, तालिम र गोष्ठीको नाउँमा जनताको पैसाबाटै बिदेश सयर गर्नेहरु पनि बढेका छन् । उनीहरुनै जनताको परिश्रमबाट मोटाएका छन् । त्यो प्रवृत्ति अन्त्य गरेर उत्पादनलाई जोड दिन नसकेमा फेरी सहकारीहरु धरासायी हुने संभावना छ । सहकारी भनेको सबै शेयर सदस्य समान हो भन्ने मान्यतालाई धेरै पैसा जम्मा गरेका र ठूला सहकारी हौं भन्नेले बल मिच्याई गरेका छन् । सामाजिक संजालमा हेर्नेहो भने बिदेश शयर गर्ने सहकारी नेताहरु अधिकांसले सहकारीको नाउँ लिने र व्यक्तिगत फाइदामा लगानी गरेको देखिन्छ । राज्यले दिएको आर्थिक विकासको आधारस्तम्भ सहकारीलाई समयमै सही मार्गमा हिडाउनु हाम्रो कर्तव्य हो । आम शेयर सदस्य र सर्वसाधारण जनता धनी भएको देख्न पाउने दिनको प्रतिक्षा जारी छ ।
Previous Articleक्षत्री समाजको वार्षिक साभारणसभा
Next Article सोच्दा सोच्दै फुस्सै निदाएछु !