हिन्दु धर्मसंस्कृति अनुसार एक बर्षमा दुइवटा दशै छन् । असोज कात्तिकमा मनाइने बडा दशै र चैत बैसाखमा मनाइने चैते दशै । यी दुवैमा शक्तिको स्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा हुने गर्छ । धार्मिक रुपमा आफ्नै महत्व बोकेका यी दशैको सास्कृतिक र सामाजिक रुपमा पनि आफ्नै महत्व रहेको छ । बागलुङ र धौलागिरी क्षेत्रका लागि भने चैतेदशैको आफ्नै मौलिक विशेषता र महत्व पनि छ । बागलुङ कालिकासँग जोडिएर आउने चैतेदशै मेलाले लोकसंस्कृतिको जर्गेना गर्ने बिषयले बढी महत्व पाउँछ । साथै गाउँगाउँमा बन्ने डोका, डाला, नाङला, ठेकी, आरनमा बनेका कुटो, कोदालो, हसिया लगायतका सामाग्री विक्रिको केन्द्रको रुपमा पनि चिनिन्छ । तर पछिल्लो समय मौलिक संस्कृतिमा भन्दा आधुनिक गीत संगीतले नेपाली मौलिक संस्कृतिलाई ओगटेको छ भने आयातित सामाग्री र मनोरञ्जनका साधनले चैतेदशै मेला कुनै औद्योगिक मेला जस्तो देखिन्छ । मेलामा पैसा कमाएर फर्कने गरी धेरै मानिस भारत देखि आएको भेटिएकोले कतै स्वदेशी मौलिकतालाई उनीहरुले विर्साउने त होइनन् भन्ने जिज्ञाशा पनि नेपालीको मनमनमा उब्जिने गरेको छ । भारत र अन्य स्थानमा बनेका सामाग्रीको व्यपार गर्ने, प्लाष्टिकका सामानको स्टल देखिन थालियो भने त्यसले चैतेदशैको मेला र महत्वलाई बिर्साइदिने चिन्ता सर्वत्र छाएको छ ।
त्यसो त चैतेदशै मेलालाई पश्चिमाञ्चलकै ठूलो र मौलिक संस्कृतिको मेलाको रुपमा बनाउने उद्धेश्यले कालिका भगवती गुठी व्यवस्थापन समितिले भने भलिबल, फुटवल लगायतका प्रतियोगिता समेत संचालन गरेर आर्कषणको केन्द्र बनाउन पनि लागेको छ । त्यसका लागि गुठी धन्यवादको पात्र पनि बनेको छ । तर पुरानो मौलिक संस्कृतिलाई जोगाउनका लागि गुठीले स्थानीय संघसंस्था, व्यवसायी र जानकारहरुको पनि उत्तिकै साथ र सहयोग लिन जरुरी छ । किनकी हिजोको कला र संस्कृति लोप हुने अवस्थामा पुग्न लागेको अवस्थालाई पुनर्जिवित गर्न पुराना कलाकार, जानकार तथा अगुवाहरुको सल्लाह र उनीहरुको शिप हस्तान्तरण गर्न जरुरी छ । बरु उनीहरुबाट सिक्न चाहने युवा पुस्ता पनि तयार गर्ने काममा गुठीले अगुवाई गर्दा राम्रो हुन्छ ।
पछिल्लो समय गुठीले कालिका मन्दिर क्षेत्रको सुधार देखि व्यवस्थापनमा पनि ठूलो काम गर्दै आएको देखिन्छ । वृहत गुरुयोजना पनि निर्माण भैरहेको छ । विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने गरी भएका कामलाई सवैले प्रसंसा गर्दै आएका छन् । यो प्रसंसालाई मुर्त रुप दिनका लागि गुठी व्यवस्थापन समितिले आम जनमानसको चाहना र भावनालाई कदर गर्नुपर्छ । आगामी दिनमा हुने चैतेदशै मेलालाई साँच्चिकै मौलिकता र ऐतिहासिक महत्वको बनाउने काममा प्राविधिक पक्षदेखि सास्कृतिक, कलाकारिता, संचार लगायतको क्षेत्रमा लागेकाहरुको सल्लाहलाई आत्मसात गर्नुपर्छ । हाल प्लाष्टिकका सामानले लोप गराउन लागेको मौलिक बस्तुको संरक्षण र संवद्र्धनका लािग पनि सबैको साझा पहल हुन जरुरी छ । ग्रामीण क्षेत्रमा बसेर मौलिक प्रकारका बस्तु उत्पादन गर्ने कलिगढको सम्मान गर्ने, उनीहरुलाई सार्वजनिक गर्ने र उनीहरुको शिप पनि हस्तान्तरण गर्दै आर्थिक विकासको पाटोमा जोड्ने काम पनि मेलाले गर्न सक्नुपर्छ ।
Previous Articleनेपालमा विज्ञान तथा प्रविधि क्षेत्रका चुनौतीहरु
Next Article उम्मेदवारको नाम गाविसबाट सिफारिस