प्रकाश थापा
मानव विकासको क्रम सँगसँगै विज्ञान तथा प्रविधिले व्यापक रुपमा फड्को मारिरहेको छ । दैनिक जीवनयापनलाई सहजता तर्फ पनि विज्ञान तथा प्रविधिले डोहो¥याइरहेको छ । अहिलेका वर्षहरुमा देश विकासको मुख्य आधार नै विज्ञान तथा प्रविधिलाई लिइन्छ । देशले विज्ञान तथा प्रविधिको उचित विकास नगरे सम्म समृद्घि हासिल गर्न नसक्ने अवस्था छ । विश्वको इतिहास तथा पश्चिमा मुलुकहरुलाई हेर्ने हो भने पनि उनीहरुको समृद्घिको आधार नै विज्ञान तथा प्रविधिको विस्तार हो ।
समग्र विश्वको कुरा गरिरहँदा नेपालमा विज्ञान तथा प्रविधिको अवस्था अलि नाजुक नै छ । विज्ञान तथा प्रविधिको उचित विस्तार हुन नसक्नुले नै नेपालले आर्थिक तथा सामाजिक रुपमा समृद्घि हासिल गर्न सकेको छैन । नेपालको ढिलो गतिमा बढिरहेको विज्ञान र प्रविधि क्षेत्रको इतिहासलाई अध्ययन गर्ने हो भने सन् १९१९ मा काठमाडौंको त्रिचन्द्र कलेजले प्रवीणता प्रमाणपत्र तह सुरु गरेको विज्ञान विषयको अध्ययन अध्यापनलाई लिन सकिन्छ । त्यसैगरी सन् १९८२ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा वैज्ञानिक कार्यको थालनीको गरेको बुझिन्छ । सन् १९९१ मा नेपाल कृषि अनुसन्धान परिषद्को स्थापनाले कृषि क्षेत्रमा आवश्यक प्रविधिको विकासका लागि काम गर्दैै आइरहेको छ । साथै सन् १९९६ अप्रिल १५ मा विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापनाले विज्ञान प्रविधिको लागि केही हौसला प्रदान गरेको थियो भने सन् २००५ को विज्ञान नीतिले आशा जगाएको थियो । विज्ञान प्रविधिको विकास तथा विस्तारमा मन्त्रालय, संस्था, शैक्षिक क्षेत्र र आवश्यक नीतिहरुको निर्माण भए पनि यस क्षेत्र कछुवा गति मै अगाडि बढेको छ । नेपालमा विज्ञान तथा प्रविधिको उचित विकास हुन नसक्नुका कारणहरु धेरै नै छन् । यसमा देशको राजनैतिक अस्थिरता, राज्यको कम लगानी, शासकहरुको कम जवाफदेहिता लगायत विविध कारणहरु पर्दछन् ।
मुल रुपमा देशको राजनैतिक अवस्था अस्थिर हुनुको कारणले विज्ञान तथा प्रविधिका क्षेत्रले प्रगति गर्न सकेन । हरेक दशकमा फेरिने राजनैतिक बहाबका कारण देशको परिवेश नै फेरिरहने अवस्था रह्यो । फेरिरहने व्यवस्थाले विज्ञान तथा प्रविधिको विकासलाई त्यति चासो दिएन । राजनैतिक दलहरुले पनि देशको विकासमा विज्ञान तथा प्रविधिको भूमिकालाई महत्व दिएनन् । उसो त राजनैतिक फरियामा झुण्डिनेहरुको अदुरदर्शिता र अकर्मण्डयताका कारण उचित नीति कानुन नै तर्जुमा हुन नसकेको तितो यथार्थ छ ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने सरकारी एवम् अन्य संघ÷संस्थाहरुमा योग्यलाई भन्दा राजनैतिक दलको चाकडि गर्नेहरुलाई बढी अवसर हुनाले क्षमतावान वैज्ञानिक तथा अनुसन्धाताहरुको बौद्घिक पलायन (ब्रेन ड्रेन) बढ्दो छ । देशमा वर्ष पिच्छे सरकार फेरिदा विज्ञान प्रविधिमा काम गर्ने निकायहरुका प्रमुखहरु फेरिने प्रचलनले दीर्घकालीन योजनाहरु निर्माण हुन सकेनन् । देश विकासको मेरुदण्ड विज्ञान प्रविधिमा काम गर्ने विज्ञान तथा प्रविधि मन्त्रालय प्रति राजनैतिक दलहरुको चासो अन्य मन्त्रालय भन्दा कम छ । सरकारमा रहने दलहरुमा प्रायः जसो प्रबाहहिन राजनैतिक दलले यस मन्त्रालयको नेतृत्व सम्हाल्ने हुँदा अन्य मन्त्रालयहरुको जस्तो कार्य प्रभावकारिता पनि छैन । विज्ञान प्रविधिको विकासमा महत्वपूर्ण हिस्सा रहेको विश्वविद्यालयमा पनि राजनीतिको प्रभाव अति नै धेरै छ । विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा राजनैतिक कोटाका आधारमा हुने भागबन्डाले क्षमतावान अनुसन्धाताहरुलाई निरुत्साहित पार्दै अन्ततः वैदेसिक पलायनको बाटो देखाएको छ । अहिलेका वर्षहरुमा राजनैतिक वितृष्णता र अस्थिरताले गर्दा क्षमतावान विद्यार्थीहरुको पनि विदेसिने क्रम बढ्दो छ । हरेक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, वन विज्ञान, कृषि विज्ञान, इन्जिनियरिङ्ग, पशु विज्ञान, लगायतका प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर गरेका हजारौं विद्यार्थी पलायन हुन्छन् । प्राविधिक शिक्षा लिएका केही विद्यार्थीहरुलाई राज्यले सरकारी सेवामा व्यवस्थापन गर्न सके पनि बाँकी विद्यार्थीहरु भने विदेशी भूमिलाई नै राज्ने गरेका छन् ।
यसैगरी निजामति सेवा पनि प्राविधिक विषयका जनशक्तिलाई सामाजिक विषयका जनशक्तिको अधिनमा राख्ने परम्पराले पनि प्राविधिक जनशक्तिमा हिनाबोध थपिएको छ । साथै कार्यक्षेत्रमा पनि प्राविधिक जनशक्तिले प्रशासनिक जनशक्तिको तुलनामा मानसिक तथा शारीरिक परिश्रम बढी गर्नु पर्ने तर सेवा सुविधा समान रहेको विभेदले पनि बौद्घिक पलायनलाई बढावा दिएको छ । उता विश्व विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई चाहिने प्रयोगशाला, आधुनिक लाइब्रेरी, विज्ञ प्रध्यापक आदिको कमिले विज्ञान प्रविधिको विकासलाई कछुवा गतिमा पु¥याएको छ । अर्कातर्फ राज्यको यस क्षेत्रमा थोरै मात्र लगानी छ । वार्षिक रुपमा सरकारको विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गर्ने वार्षिक बजेट एकदमै कम छ । यो थोरै बजेटले विज्ञान तथा प्रविधिको विकासमा झारा टार्ने काम मात्र भइरहेको छ ।
विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धान गर्ने वैज्ञानिक तथा अनुसन्धाताहरुमा उत्पे्ररणा न्युन छ । राज्यले खोज आविष्कार तथा अध्ययन अनुसन्धानका माध्यमबाट जीविकोपार्जन गर्न सक्ने आधारहरु नै बनाइदिन सकेको छैन । राज्यले वैज्ञानिकहरुलाई खोज अनुसन्धान तर्फ लगानी गर्नु भन्दा पनि सरकारी सेवाको रोजगारीमा मात्र सिमित पारेको छ । विश्वविद्यालयका प्राविधिक विषयका प्राध्यापकहरु उचित रुपमा अनुसन्धानमा लाग्नु पर्नेमा पद लोलुपता र राजनैतिक लाचरतामा मात्र समिति छन् । त्यसैगरी अनुसन्धान गर्न चाहनेका लागि उचित स्रोत साधन र वातावरण पनि छैन । समन्वयको अभाव व्यापक रुपमा देखिन्छ भने दक्ष जनशक्तिको कमिले पनि विज्ञान तथा प्रविधिको खोज अनुसन्धानमा न्युन छ ।
राज्यलाई अहिलेको वर्तमान समयमा विज्ञान तथा प्रविधिको विकास महत्वपूर्ण छ । आर्केमिडिज, ग्यालेलियो, न्युटन, डार्विन, पाश्चर, आइन्सटाइन, क्युरी, कपर्निकस इत्यादि जस्ता वैज्ञानिक जन्माउनु पर्ने आवश्यकता छ । विगतका केही वर्ष यता हरेक वर्ष नेपालले असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवस मनाए पनि राज्यले विज्ञान प्रविधिको क्षेत्रमा उचित लगानी नगरे सम्म यो दिवस मनाउनुले मात्र तात्विक प्रभाव पार्ने छैन । अहिले बढिरहेको बौद्घिक पलायनलाई रोकी उपर्युक्त नीति निर्माण गर्नुका साथै राजनैतिक हस्तक्षेप मुक्त बनाए मात्र यस क्षेत्रको विकास संभव छ । कछुवा गतिमा बढेको विज्ञान तथा प्रविधिको विकासका लागि सम्पूर्ण सरोकारवालाहरुको ध्यान समय मै जाओस् ।
prakash.thapa013@gmail.com