बागलुङ, १६ चैत – नेपाल पत्रकार महासंघ बागलुङ शाखाले महासंघको भवन निर्माणका लागि ‘हामी सबैको रहर, पत्रकार महासघंको घर’ अभियान शुरु गरेको छ ।
आधुनिक सूचना केन्द्र सहित १ करोड ३० लाखको रुपैयाँको लागतमा निर्माण हुने भवनका लागि पत्रकार महासंघको ६२ औं स्थापना दिवसका अवसरमा बुधवार बागलुङ बजारमा आयोजित बिशेष कार्यक्रमका बिच अभियान शुभारम्भ गरिएको हो ।
अभियानको पहिलो दिन मात्रै १० लाख २० हजार रुपैयाँ संकलन भएको महासंघका कोषाध्यक्ष बिजय रानाले जानकारी दिए । भवनका लागि जिल्ला विकास समितिले ५ लाख, सञ्चार मन्त्रालयले ५ लाख, बागलुङ नगरपालिकाले २ लाख ५० हजार, सांसद प्रकाश पौडेलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १ लाख ५० हजार र अर्का सांसद चम्पादेवी खड्काको कोषबाट १ लाख गरि कुल १५ लाख रुपैयाँ बिनियोजन भइसकेको छ ।
अभियान शुभारम्भका अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले आफ्नो मासिक तलब बराबरको ५४ हजार ४ सय २१ रुपैयाँ प्रदान गर्ने घोषणा गरे । शाखा अध्यक्ष दिल शिरीषले ३० हजार, उपाध्यक्षद्धय नरेश कंडेल र उषा पौडेलले २५ हजार ५ सय ५, सचिव राम थापा ‘अविरल’, कोषाध्यक्ष बिजय राना, सह–सचिवद्धय नविन शिशिर बिक र सुवास आचार्यले नगद २०÷२० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।
यसैगरि, महासंघका पूर्व अध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारीले २५÷२५ हजार, कलाकार तथा समाजसेवी लक्ष्मण श्रीले २५ हजार ५ सय ५५, प्रेस चौतारिका केन्द्रिय सचिव रामकृष्ण शर्माले २५ हजार ५ सय, व्यवसायी रुद्र महतले २५ हजार ५ सय, बागलुङ उद्योग बाणिज्य सघंका प्रथम उपाध्यक्ष उमेश केसीले २० हजार, सघंका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले ३६५ दिनको दैनिक ५० रुपैयाँका हिसावले १८ हजार २ सय ८०, महासंघका सल्लाहकार ज्ञानेन्द्र गौतमले २० हजार प्रदान गर्ने घोषणा गरे ।
संस्थागत रुपमा नेपाल प्रेस युनियनले १० हजार, प्रेस चौतारीले ५ हजार, प्रेस सेन्टरले ५ हजार, फोटा पत्रकार महासंघ बागलुङले ५ हजार १ सय १ प्रदान गर्ने घोषणा गरेका छन् ।
महासंघको भवन निर्माणका लागि बानपा–२ मा सार्वजनिक जग्गाको व्यवस्थापन गरि गत माघमै शिलन्यास गरिएको र अब आर्थिक अभियान सँगै आगामी बैशाख १ गतेदेखी निर्माण कार्य समेत थालिने नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरीषले बताए । ‘अभियानको शुभारम्भ गर्दाको दिनमै उत्साहजनक सहयोग जुटेको छ, उनले भने, संघ संस्थाको बिनियोजिट बजेट सँग २५ लाख बढी रकम संकलन भएको छ, उत्साहजनक रुपमा देश बिदेशबाट समेत सहयोगका लागि व्यक्तिगत र संस्थागत प्रतिवद्धता आइरहेको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुबाट मात्रै करिब ७ लाख रुपैयाँ संकलन भएको अध्यक्ष शिरीषले बताए । अब अभियान निरन्तर रुपमा चल्ने जनाउदै सहयोग गर्न सबैलाई महासंघले अपिल गरेको छ ।