पर्वत, १६ चैत – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पर्वतमा मेयर को हुन्छ भन्नेबारे चर्चा शुरु भएको छ । यससँगै राजनीतिक दलभित्र मेयर उम्मेदवारको टिकट लिन दौडधुप गर्नेहरू पनि बढेका छन् । जिल्लामा १६ वटा राजनीतिक दलहरु दर्ता भएपनि स्थानीय तहको चुनावको लागि भने मेयरका लागि उम्मेदवारको चर्चामा तीन ठूला दलहरु नै अघि देखिएका छन् । साना दलहरुको चर्चा खासै देखिएको छैन । यद्यपी साना दलहरु पनि चुनावको लागि आन्तरिक छलफलमा जुटेका छन । तत्कालीन कुश्मा नगरपालिकामा तीन वटा गाविस गाभिएका छन् र नगरपालिका नै कायम गरिएको छ । यसको क्षेत्र विस्तारसंगै सांसदभन्दा मेयर बन्न आंकाक्षी नेताहरू दौडधुपमा लागेका हुन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँ शक्तिलगायत पार्टीका नेता मेयर उम्मेदवारको टिकट लिन जिल्लादेखि केन्द्रीय नेतासमक्ष लबिङ गर्दै आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।
कांग्रेसमा को–को दाबेदार ?
कांग्रेसभित्र मेयरका लागि हालसम्म रामचन्द्र जोशी, डा.चुडामणी शर्मा, विद्वान गुरुङ, गंगाधर पौडेल, बसन्तबहादुर सिके, राम शर्मा पौडेलको नाम चर्चामा छ । मेयरको चर्चामा रहेका जोशी कांग्रेस नगर सभापति हुन्भने शर्मा नेपाल शिक्षक संघका पूर्वअध्यक्ष एवं पूर्वलायन्स गभर्नर समेत हुन् । गुरुङ तरुण दलका केन्द्रीय कोषाध्यक्ष हुन् । पार्टीले जिम्मेवारी दिए आफूहरु नगरपालिका प्रमुख भई भूमिका निर्वाह गर्न इच्छुक रहेको उनीहरुको धारणा छ । लगातार चारवटा चुनावमा विजयी भएको नेपाली कांग्रेसभित्र मेयरमा कसलाई टिकट दिने भन्ने विषयको चर्चा हुन थालेको छ । कमजोर उम्मेदवार भए कांग्रेसले राखेको इतिहास तुहिने खतरा उसलाई छ ।
एमालेका धेरै, माओवादी मौन
नेकपा एमालेभित्र सबैभन्दा बढी मेयरका आकांक्षी देखिएका छन् । एमाले जिल्ला अध्यक्ष पदम गिरी, मेघनाथ सुवेदी, शान्त पौडेल, गोबिन्द पहाडी मेयरको टिकट लिन दौडधुपमा रहेको बताइएको छ । राजनीतिक दलभित्र कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्नेबारे रस्साकस्की जारी छ । सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रमा मेयरका लागि कसैले पनि खुलेर लबिङ गरेका छैनन् । तर केन्द्रभित्र पनि मेयरका आकांक्षीहरुको जमात उत्तिकै छ । दोस्रो संविधान सभामा नेपाली कांग्रेसलाई टक्कर दिन पुगेकी मनरुपा सुवेदी, युवा तथा विद्यार्थी नेता शंकर गिरीको नाम हाल चर्चामा छ । त्यस्तै केन्द्र पर्वतका सचिव ढाकाराम गौतमको पनि नाम चर्चामा छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्यहरुलाई मैदानमा उतार्ने बुझिएको छ । माओवादी केन्द्रभित्र कसलाई टिकट दिने भन्ने विषयमा आन्तरीक बहस शुरु भएको छ । यसैबीच, राप्रपामा भने मेयर बन्न प्रकाश पौडेल, ठाकुर बम मल्ल, मानकुमारी गिरी, अकोश गुरुङ, सुदिप पौडेल लगायतको लविङ भैराखेको छ । प्रकाश पौडेल पार्टीका निवर्तमान बरिष्ठ उपाध्यक्ष समेत हुन् । यस्तै, नयाँ शक्ति पार्टीले पनि स्थानीय तहको निर्वाचनमार्फत आफ्नो जनमत जाँच्दैछ । नयाँ शक्तिले मिनराज केसी अविरल, सिर्जनशिल कुवँर, राजबाबु पिसी मध्ये एकजनालाई उम्मेदवार बनाउने चर्चा छ । यस्तै, फलेवास नगरपालिकामा नेपाली कांग्रेसबाट गंगाधर तिवारी, युक्तप्रसाद श्रेष्ठ, थमनसिंङ थापा, महिलामा रेखा गुरुङ, राधा कुमारी क्षत्री उम्मेदवारका आकांक्षीका रुपमा देखिएका छन् । नेकपा एमालेका तर्फबाट पदमपाणी शर्मा, देवेन्द्र पाण्डे, मोतीप्रसाद पौडेल उम्मेदवारका आकांक्षी देखिएका छन् । पौडेल पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । माओवादी केन्द्रबाट प्रेम राना, कमल भुषालको नाम चर्चामा छ । त्यस्तै क्षेत्र नम्बर १ अन्तरगत मोदी गाउँपालिकामा कांग्रेसबाट पार्टी सविच विश्वप्रकाश प्रसाईं, जिवन प्रसाईं, बलभद्र शर्मा, मधु चापागाईं, मिना केसीको चर्चा छ । एमालेको तर्फबाट पार्टी उपाध्यक्ष समेत रहेका भक्त कुवँर, प्रेम कुमार लामिछाने, प्रेम पौडेल आकांक्षी देखिएका छन् । माओवादी केन्द्रबाट मनोहरी तिमिल्सीना, मनबहादुर पौडेल क्षेत्री, गंगा तिमिल्सिना, कृष्ण विक, चिजकाजी गुरुङको नाम चर्चामा छ । जलजला गाउँपालिकामा कांग्रेसको तर्फबाट कृष्ण केसी, चन्द्रबहादुर जिसी, दुर्गा बहादुर खत्री, राजु आचार्यको नाम चर्चामा छ भने एमालेबाट लालबहादुर अधिकारी, उदय सुवेदी छन् । माओवादी केन्द्रबाट दिपक आचार्य, बाबुराम कार्की लगायतको नाम चर्चामा आएको छ । क्षेत्र नम्बर २ अन्तरगतको विहादी गाउँपालिकामा कांग्रेसबाट आनन्द भुसाल, तिलक कुवँर, गोविन्द पराजुली चर्चामा छन् । नेकपा एमालेबाट कमल भुसाल, लालबहादुर गुरुङ, रामप्रसाद पराजुली चर्चामा देखिएका छन्भने माओवादी केन्द्रको तर्फबाट कृष्ण पराजुली, सविन गुरुङ, ऋषिराम भुसालको नाम चर्चामा छ । यस्तै, महाशिला गाउँपालिकामा कांग्रेसको तर्फबाट अशोक उचाइ ठकुरी, मोहन गुरुङ, उज्वल गुरुङ सम्भावित उम्मेदवारका रुपमा हेरिएका छन् । त्यस्तै एमालेको तर्फबाट राजु पौडेल, जीवन उचाई ठकुरी, पुष्प पौडेल लगायतको चर्चा छ । माओवादी केन्द्रबाट भने विवश गुरुङ, पदमबहादुर क्षेत्री चर्चामा छन् । पैयूँ गाउँपालिका अन्तरगत नेकाबाट खगेन्द्र तिवारी, राजेन्द्र तिवारी, एकनारायण न्यौपानेको नाम बाहिर आएको छ । एमालेमा मित्रलाल बस्याल, चोकलाल न्यौपाने लगायतका छन् । माओवादी केन्द्रबाट जयनारायण तिवारी, पुण्य आचार्य सम्भावित उम्मेदवार हुन ।
Previous Articleनेपाली कांग्रेस काठेखोला गाउँपालिकाको भेला
Next Article चैत्राष्टमी मेला आजदेखि शुरु