बागलुङ, १६ चैत – विद्यामन्दिर पुस्तकालयले ईलाईव्रेरी संचालन गरेको एक बर्ष पुगेको अवसरमा बागलुङमा एक अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न गरेको छ ।
अन्तरक्रियामा सहभागिहरुले विद्युतीय पुस्तकालयलाई युवाहरुको आर्कषणको केन्द्र बनाउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले शिक्षाको विकास बिना देशको भविष्य अन्धकार हुने भन्दै पुस्तकालयलाई सबैको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए ।
उनले सामाजिक संजालमा रम्ने युवालाई सोही अनुरुप अध्ययन गर्ने वातावरण बनाइदिनुपर्ने धारणा राखेका थिए । पुस्तकालयलाई व्यवस्थित र विस्तार गर्नका लागि मन र धन भएकाहरु प्रसस्त भएकोले चाहना राखिएको खण्डमा जिल्लाबासीले सहयोग गर्न सक्ने र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । संघिय संरचनाको रुपमा देशको विकास भएकोले केही समयमै जिल्लाका सरकारी भवनहरु समेत खाली हुने अवस्था आएकोले पुस्तकालयको भौतिक व्यवस्थापनका लागि भवन आवस्यक पर्दा पनि पाउने वातावरण बन्ने उनले बताए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले जीवन उपयोगी शिप मार्फत युवालाई रोजगारीमा लगाउने समय आएको भन्दै त्यसका लागि पुस्तकालयले जीवनउपयोगी शिप पनि दिनेगरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र उपाध्यक्ष रामप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङ, पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतम, सामाजिक व्यक्तित्वहरु देवबहादुर श्रेष्ठ, प्रेम छोटा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
एक बर्ष अघि संचालनमा ल्याइएको विद्युतीय पुस्तकालयमा अहिले पाठकहरु बढ्ने क्रममा रहेको अध्यक्ष राजभण्डारीले बताए । यसै सन्दर्भमा पुस्तकालयले संचालन गरेको ‘एक व्यक्ति एक हजार रुपैयाँ’ अभियानले पुस्तकालयको कोषमा ६ लाख ७५ हजार रुपैया रकम संकलन भएको जानकारी दिईयो । जिल्लाकै पुरानो विद्यामन्दिर पुस्तकालयले तत्कालका लागि कम्तिमा १० लाखको अक्षय कोष बनाउने निर्णय गरेको छ ।
Previous Articleभारतसंग इन्धन आपुर्ति सम्झौता
Next Article सिट क्षमताभन्दा बढी चलाउन रोक