बागलुङ, १४ चैत – जैमुनी नगरपालिकाको केन्द्र तोकिएको कुश्मीसेरा बजार बागलुङमा पछिल्लो समय चलहपहल बढेको छ ।
साविक क्षेत्र नं. २ को क्षेत्रीय सदरमुकाम भएपनि सडक संजालको कठिनाईले पछाडि परेको कुश्मीसेरामा सडकको स्तरउन्नतीपछि चलहपल बढेको हो । नगरपालिका घोषणा भएर केन्द्र समेत तोकिएपछि स्थानीय बासिन्दामा पूर्वाधार, प्रशासनिक र आर्थिक विकास हुनेमा आशा पलाएको हो ।
जिविसको विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) मार्फत अघिल्लो बर्ष सडक ग्राभेल गर्ने कामले यो बर्षमात्र पूर्णता पाएको छ । खाल्डाखुल्डीले नियमित सवारी चल्न मुस्किल भएकोमा अहिले सरासर सवारी गुड्ने अवस्था बनेको छ । फलस्वरुप सदरमुकाम देखि एकै घण्टामा पुग्न सकिने सडक बनेकोले विकासको आसा पनि पलाएको हो ।
हाल स्तरउन्नती भएको यो सडकलाइ नगरपालिकको पहलमै कालोपत्रे गर्नुपर्ने स्थानीयले बताए । यसअघि स्थानीयले बर्षातमा सडक नचल्दा खाद्यान्न, लत्ताकपडा र निर्माण सामाग्रीको ढुवानी हिउदमै गर्थे । तर अहिले सडक राम्रो भएकोले भण्डारनको समस्या नभएको स्थानीय तारकेश्वर सापकोटाले बताए । ‘नगरपालिकाको केन्द्र भएकोले अव भने सहज वातावरण बन्ने संभावना छ’ सापकोटाले भने, ‘अव सदरमुकाम बस्ने युवा पनि गाउँ फर्कलान भन्ने आसा गरेका छौ ।’ जैमिनी नगरपालिकाका कार्यकारी अधिकृत बिष्णुप्रसाद सुवेदीले पनि संघियता कार्यान्वयन स्वरुप बनेका नगरपालिकाले जिल्ला सदरमुकामको चापलाई घटाउने र गाउँमा पनि विकासका पूर्वाधार तयार हुन्छन् भन्ने विश्वास पलाएको बताए ।
नगरपालिका घोषणा भएपनि अहिलेसम्म भवन लगायतको संरचना छैन । ‘मैले पनि अव यहाँका महत्वपूर्ण पूर्वाधार बिकासका लागि पहल गर्छु’ सुवेदीले भने, ‘जनताको चाहना अनुसार काम गरेर विकासको लहर ल्याउनुपर्छ ।’ सदरमुकाम देखि २१ किमी दक्षिणको कुश्मीसेरा नगरपालिकामा साविकको कुश्मीसेरा, दमेक, पैयुँथन्थाप, राङखानीको केही भाग, बिनामारे, सर्कुवा, अर्जेवा, जैदी र छिस्ती गाविसहरु गाभिएका हुन् । हाललाई वडा सचिव मध्ये अधिकांसमा पदपूर्ति भैसकेको छ भने केहीमा बाँकी छ । तर कार्यालयतर्फ कार्यकारी अधिकृतको रुपमा सुवेदीलाई नियुक्त गरेको छ । सुवेदी कार्यालयमा हाजिर भैसकेका छन् । तर कार्यालयमा आवस्यक पर्ने १ जना सिभिल इन्जिनियर, दुइजना सव इन्जिनियर, एकजना लेखा अधिकृत, एकजना नासु, १ खरिदार र २ जना सहयोगी भने अहिले छैनन् । उनीहरुको पदस्थापन नभएसम्म नगरपालिकाको काम ठप्प जस्तै हुनेछ । सेरालाई लक्षित गरेर सबै वडामा सडक पु¥याउने अर्को चुनौती छ ।
हाल साविक कुश्मीसेराकै वडा नं. ६, ७, पैंयुथन्थाप, अर्जेवा लगायत स्थानमा सडक संजाल लैजान कठिन जस्तै भएको स्थानीयले बताए । ‘ठूलो लगानीबाट मात्र सडक संजाल पु¥याउन सकिन्छ’ वडा नंं २ र ३ का सचिव दुर्गाप्रसाद शर्माले भने, ‘स्थानीय कर र राजश्वका दायरा बनाउने काम पनि चुनौतीपूर्ण छ ।’ पहिलो चरणमा आवस्यक कर्मचारी व्यवस्थापन नभएसम्म विकास निर्माणको काममा हातहाल्न कठिन भएको सुवेदीको तर्क छ । हालसम्म दक्षिणतर्फ जाने सडकले पूर्णता पाइसकेको छैन ।
कालीगण्डकी करिडोर मार्फत यातायात सहज हुने आसाका साथ स्थानीयले कोरिडोरमा जोड्ने सडक बनाइसकेका छन् । स्तरउन्नती गर्न बाँकी छ । कोरिडोरले कहिले सम्म पूर्णता पाउनेहो त्यसपछि मात्र अन्य शाखा र लिंक सडक बन्ने संभावना छ । केन्द्रीय र जिल्ला तहको बजेट नगएमा स्थानीय बजेटबाटै संजाल विस्तार गर्न धेरै समस्या पर्नेछ । त्यस्तै सर्कुवा, पैयुँथन्थाप र दमेक तर्फका सडकको स्तरउन्नती नभएमा जनतालाई दैनिक आउजाउमा कठिन हुने शान्ति उमाविका प्रअ यामबहादुर जिसीले बताए ।
सदरमुकाम बस्नेहरु गाउँ फर्कने वातावरण बनेकोले विकास निर्माणमा पनि सबैको साझा चासो बन्ने स्थानीय मोती पौडेलले बताए । जिल्ला तहमा चर्चा कमाएका नेताहरु जैदी र छिस्तीमा धेरै भएकोले केन्द्रदेखि सडक संजाल जोड्ने काममा बढी पहल हुने उनले विश्वास व्यक्त गरे ।
निर्वाचनका आकांक्षी को–को हुन् ?
बागलुङ/नगरपालिकाको संरचना बनेसँगै आसन्न स्थानीय तहको निर्वाचनमा पनि राजनीतिक दलहरुको प्रचार अभियान र उमेदवारहरुको चर्चा समेत शुरु भएको छ ।
संविधानसभाको दोश्रो निर्वाचनमा जितेको काँग्रेसले आफ्नो बिरासतलाई कायम राख्ने योजनामा छभने दोश्रो भएको राष्ट्रिय जनमोर्चाले पनि बाम तालमेल गरेरै भएपनि निर्वाचन जित्ने योजना बनाएको छ । बाम तालमेलमा बढी नजिकको एमालेका पूर्वअध्यक्षको राजनीतिक भविष्य पनि जोडिएकोले जैमुनीमा बाम तालमेलमा पनि केही समस्या छ । राष्ट्रिय जनमोर्चालाई भने यो क्षेत्र प्रतिष्ठाको बिषय बनेको छ ।
काँग्रेसमा हरि आचार्य, भीम श्रीष, नवराज पौडेल, हरिहर शर्मा, ओमकार थापा, इन्द्रराज पौडेल, काशीराम आचार्य, लक्ष्मण आचार्य, दुर्गादत्त आचार्य लगायत आकांक्षि छन् । महिलातर्फ उशा पौडेल, कौशिला विक, भगवती सापकोटा, गिता रेग्मी, इमला शाही, प्रेमकुमारी शाही लगायत आकांक्षी देखिएका छन् ।
जनमोर्चाका संभावित उमेदवारमा कृष्ण थापा, नरबहादुर पुन, भरत पौडेल, थानेश्वर सुवेदी, डिलबहादुर श्रीष, डिलबहादुर दर्जी, ठाकुर शर्मा छन् । प्रमुख पुरुष हुँदा अनिवार्य महिला उपप्रमुख चाहिने अवस्थामा लिला शर्मा, रुद्रा कुमारी केसी र डिलकुमारी श्रीष पनि संभावित उमेदवार हुन् ।
एमालेमा पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, भूपाल चालिसे, सावित्रा राना, होमनाथ पापकोटा, नरबहादुर पुन, कृष्ण पौडेल लगायत आकांक्षि छन् । माओवादी तर्फ भने अहिले सम्म चर्चामा आएका व्यक्ति सार्वजनिक भएका छैनन् । लालबहादुर परियार लगायत केही व्यक्ति आकांक्षि भएपनि चर्चामा आइनसकेका हुन् । यो नगरमा काँग्रेस पहिलो शक्ति भएको धेरैको अनुमान छ तर राजमोले आँफू पहिलो शक्ति भएको दावी गरेको छ ।
चुनावमा जाँदा राप्रपा, नयाँ शक्ति, जातीय र मधेसी दल सँग सहकार्य नहुने राजमोका नेताहरुले बताए । आवस्यकताको आधारमा बाम मात्र नभइ जनआन्दोलनका शक्ति र प्रमुख प्रतिष्पर्धि देखिएको काँग्रेससँग पनि सहकार्य हुन सक्ने राजमोका जिल्ला स्तरीय नेताले बताए । यो भनाइबाट बाम एकता भएपनि जैमुनी नगरको हकमा राजमोले आफ्नो बिरासत जोगाउन काँग्रेस सँगै सहकार्य गर्ने संकेत पनि दिएको छ ।
Previous Article‘संविधान संशोधन र निर्वाचन संगसंगै’
Next Article छिट्टै नेपाल भ्रमणमा आउँछु – चिनियाँ राष्ट्रपति