बागलुङ, १४ चैत – नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं प्रदेश नं ४ का इन्चार्ज देब गुरुङ्गले संबिधान संशोधन र स्थानिय निर्वाचनलाई संगसंगै लैजानुपर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल बागलुङ्गले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले मधेसका मुद्धालाई सम्बोधन गर्न सरकार लचक बन्नु पर्ने बताए । संबैधानिक आयोग गठन गरेर मधेसका समस्या समाधान गर्न सकिने भन्दै उनले स्थानिय निर्वाचनसम्म मधेसबादी दल पनि सकरात्मक बन्ने बताए ।
‘एमाले र मधेसबादी दलका कारण राष्ट्रिय सहमति बन्न समस्या भएको हो’ पुर्व स्थानिय विकास मन्त्री समेत रहेका गुरुङ्गले भने– ‘निर्वाचनको मितिसम्म मधेसबादी दलसंग पनि सहमति हुन सक्छ ।’ एमाले र मधेसबादी दलका कारण मुलुक संक्रमणकाल तिर गैरहेको भन्दै नेता गुरुङ्गले राष्ट्रियता बचाउनका लागि दुबै पक्ष सकारात्मक हुनुपर्ने बताए ।
उनले संबिधानका अन्र्तबस्तुमा सहमति हुन नसकेपनि प्रक्रियामा सहमति भएरै छाड्ने दाबी समेत गरे । भुगोल र जनसंख्याको आधारमा मधेसका समस्या टुङ्गाउन सकिने गुरुङले बताए । कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङ्गका अध्यक्ष राम थापा अबिरलको अध्यक्षता, केन्द्रिय सदस्य कोपिला कँडेलको स्वागत मन्तब्य र सल्लाहकार मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । यसैबीच, नेकपा माओबादी केन्द्रका नेता देब गुरुङ्गले मधेसबादी दल र एमालेका कारण मुलुक द्धन्दमा फस्न सक्ने खतरा रहेको औल्याएका छन् ।
नेकपा माओबादी केन्द्र नगर समिति बागलुङ्गले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले मधेसबादी दल र एमालेको टकरावले गर्दा मुलुकमा अराजकता पैदा भएको आरोप लगाए । एमालेले राष्ट्रियताको भ्रम छरेर मुलुकलाई द्धन्दमा फसाउने कोशिस गरिरहेको भन्दै उनले निषेधको राजनीतिले मुलुक दुर्घटनामा फस्न सक्ने बताए ।
उनले एमालेको अहंकारले गर्दा सप्तरी घटना घटेको आरोप समेत लगाए । कार्यक्रमको संचालन नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं नगर इन्चार्ज निर्मल श्रेष्ठले गरेका थिए ।